एसियाली नोवेल क्वीज मेनिया भाद्र २ गतेबाट प्रसारणमा
“
साउन २६, काठमाडौँ । नोवेल क्वीज मेनिया सिजन ६ ले आज द्धिप प्रज्वलन गरेको छ । आउँदो भाद्र २ गतेबाट प्रसारणमा आउन लागेको प्रतियोगिता यस पटकदेखि एसियाली स्तरमा गएकोले शान्तिको कामना सँगै द्धिप प्रज्वलन गरिएको हो ।
राजधानी स्थित माइतीघर मण्डलामा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपाली चलचित्रका महानायक तथा नोवेल क्वीजका मास्टर राजेश हमालले संयुक्त रूपमा द्धिप प्रज्वलन गरे ।
कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री बस्नेतले क्विजले नेपाल र एसियाली राष्ट्रहरुका विद्यार्थी तथा कलेजविच नयाँ सम्बन्ध विस्तार गर्न टेवा दिने बताए । उनले नेपाल र एसियाली क्षेत्रका विभिन्न मुलुकका विविध विषयहरू विद्यार्थीहरूले जान्ने थलो समेत भएकोले मन्त्रालयबाट समेत कार्यक्रमका लागि आवश्यक सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्दै क्वीज मास्टर राजेश हमालले क्विजले युवाहरूलाई मनोरञ्जनसँगै विश्वका विविध ज्ञान दिने जिकिर गरे । उनले गतवर्ष आयोजित सार्क स्तरीय कार्यक्रमको सफलतासँगै यस पटकदेखि एसियाली स्तरको बनाइएको बताए ।
समग्र एसिया महादेशको शान्ति, पर्यटन विकास र प्रभावकारी सञ्चारका लागि नोवेल क्वीज मेनिया भन्ने नाराका साथ सुरु हुन लागेको प्रतियोगिता नेपाली टेलिभिजन इतिहासकै उच्चस्तरीय भएको एक्रेटिभ मिडिया प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हरि पोखरेलले बताए ।
“