काँग्रेसका सांसदद्वारा १ महिनाको तलब बाढी पिडितलाई दिने
“
साउन २९, काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसदहरुले एक महिनाको तलब बाढि, पहिरो पीडितलाई दिने भएका छन् । आइतबार बसेको काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आकस्मिक बैठकले बाढि, पहिरो र डुबान पीडितको तत्काल राहत र उद्धार गर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ आफ्ना पार्टीका सांसदहरुको एक महिनाको तलब उपलब्ध गराउने निर्णय गरेको हो ।
नेपाली काँग्रेसका २ सय ७ जना सांसद छन् । त्यसै गरी नेपाली काँग्रेसले विदेशमा रहेका पार्टी सङ्गठन र अन्य सङ्घ संस्थाहरुसँग राहत सङ्कलन गर्न पार्टीले छुट्टै राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । पार्टीका सबैसांसदहरुको एक महिनाको तलब तत्काल बाढि र पहिरो पीडितलाई उपलब्ध गराउने निर्णय गरिएको पार्टीका नेता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘बाढिपिडित नेपाली जनतालाई नेपाली काँग्रेसका २ सय ७ सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने निर्णय भएको छ । भने, तत्काल राहत र उद्धारका लागि परिचालित हुने पनि बताएको छ ।
नेपाली काँग्रेसले बाढि पीडितको राहत तथा उद्धारको कामका तीव्रता दिन सरकारसँग पनि आग्रह गरेको छ । छिटो र छरितो रूपमा राहत तथा उद्धार कार्यलाई अघि बढाउन सरकारसँग आग्रह पनि गरिएको पार्टीका महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए ।
देशका विभिन्न भागमा आएको बाढि, पहिरोमा परी हालसम्म ६४ जनाको ज्यान गएको सरकारले जनाएको छ । नेपाली काँग्रेसले बाढि, पहिरोमा परी ठुलो धनजनको क्षति भएकोमा गहिरो शोक पनि व्यक्त गरेको छ ।
डा. शेखर कोइराला राहत बोक्दै विराटनगरमा
नेपाली काँग्रेसका प्रभावशाली तथा लोकप्रिय नेता डा. शेखर कोइराला तराईमा बाढिको प्रकोप सुने लगत्तै विराटनगर आएका छन् । काठमाडौँ बाहिर रहेका डा. कोइराला तराईमा बाढीको खबर सूने लगत्तै शनिवार बिहान राजधानी आएर आइतबार विभिन्न राहत सामग्री सहित विराटनगर झरेका हुन् ।
आइतबार सबेरै देखी गृहमन्त्री, रक्षामन्त्री लगायत सुरक्षा निकायका उच्च पदाधिकारीहरूसँग उद्धारका बारेमा छलफल जारी राखे तर प्रतीकूल मौसमका कारण पूर्वी तराई जान नसक्ने जवाफ दिँदै गृहमन्त्री पश्चिम तराईतर्फ लागेपछी नेपाली सेनाको हेलिकप्टरमा उद्धार सामग्री लिएर शेखर कोइराला बिराटनगरतर्फ लागेका थिए ।
जुन बेला ठुलो बाढीका कारण सिङ्गो मोरङभरी हेलिकप्टर ल्यान्ड गर्ने स्थान थिएन । जसका कारण नेपाली सेनाको पूर्वी पृतना ईटहरीमा हेलिकप्टर ल्यान्ड भयो । ईटहरी उत्रे लगत्तै डा. कोइरालाले पृतनापतीलाई सुरक्षा संयन्त्रलाई बैठक राख्न लगाएर उद्धार र राहत वितरणबारे जानकारी लिँदै प्रभावित क्षेत्रतर्फ लागेका थिए ।
कोइरालाले बाढी प्रभावित क्षेत्र बिराटनगरको रामपूर, झरनाटोल, केशलिया रोड, बूढीगंगा गाउँपालिकाको मूढेरी, बौराहा, दिपूटोल लगायत सुनसरीका केही स्थानको अवलोकन समेत गरेका छन् । डा. कोइराला केही दिन बिराटनगर बस्ने कार्यक्रम छ ।
“