जुम्लामा पनि सञ्चालनमा आयो टेलिकमको फोरजी सेवा
पुस २४, जुम्ला । दुर्गम नेपाल टेलिकम शाखा जुम्लाले फोरजी सेवा सञ्चालन गरेको छ । सदरमुकामलाई लक्षित गरी तीनवटा स्तम्भबाट फोरजी सेवा विस्तार गरिएको नेपाल टेलिकम शाखा जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिए ।
टेलिकममा रहेको टावर, आचार्यवाडा माथिको डाँडामा रहेको स्तम्भ र भारतिवाडामा रहेको टावरबाट फोरजी सेवा शुरु भएकाले घरमै बसेर इन्टरनेट सहजै चलाउन सकिने श्रेष्ठले बताए । देश–विदेशका सूचना घरमै बसेर जानकारी लिनका लागि जुम्लामा फोरजी सेवा सञ्चालन गरिएको हो ।
जुम्ला स्थित आचार्यवाडामा रहेको टावरमा फोरजी सेवा जडान गरिएको हुनाले गुठीचौर गाउँपालिकाअन्तर्गतका ३, ४ र ५ नं वडामा फोरजी सेवाले काम गरेकाले इन्टरनेटबाट वडापालिकामा गरिने कामलाई सहज र सजिलो हुने मोबाइल डाटा प्रयोगकर्ताहरुका लागि फोरजी सेवाले महत्वपूर्ण फाइदा गर्ने कार्यालय प्रमुख श्रेष्ठले जिकिर गरे ।
null
टुजी र थ्रीजी सेवा प्रयोग गर्दै आएका जुम्लावासी अबदेखि फोरजी सेवा प्रयोग गर्न पाउने स्थानीय नर रावतले बताए ।
पाँच सय थान सिमकार्ड वितरण
नेपाल टेलिकमले विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गर्दै आएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिएको टेलिकम कार्यालय जुम्लाले जनाएको छ। १० ब्यालेन्स, ६० एमबी डाटा, ४० मिनेट भ्वाइस प्याक र २० वटा एसएमएस सुविधा भएको ५०० थान सिमकार्ड वितरण गरिएको र ग्राहक सङ्ख्यामा वृद्धि गर्न तथा सञ्चारको पहुँचमा विद्यार्थीलाई सहभागी गराउन निःशुल्क सिमकार्ड वितरण गरिएको बताएको छ ।