घरभाडा छुट गर्न तीनै तहका सरकारलाइ बुझाए धरानका होटल व्यवसायीले ज्ञापनपत्र
चैत्र ७, धरान । होटल व्यवसायी समिति धरानले १ नं. प्रदेशलाई पर्यटकीय हब बनाउन र कोरोना भाइरसबाट आक्रान्त पर्यटन तथा होटल व्यवसायलाई राहत दिन आग्रह गर्दै स्थानीय, प्रदेश तथा संघिय सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
धरानका होटलमा लगानीको वातावरण र भएका होटलहरुले पनि आफ्नो व्यवसायिक विकास गर्न नसकेको बर्तमान अवस्थामा राज्य र स्थानीय तहको उदाशिनता र दूरदृष्टि पनि पर्यटन विकास मैत्री बन्न नसकेको बताउँदै समितिले स्थानीय, प्रदेश र संघीय सरकार समक्ष नै ज्ञापनपत्र बुझाएको हो ।
समितिले होटल व्यवसायको विकास र धरानको पर्यटन वृद्धिका लागि तत्कालिन तथा दीर्घकालीन कार्यक्रमहरु पनि तय गरेको बताउँदै होटलहरुको स्तरोन्नती, कर्मचारीको क्षमता विकास, धरानको प्रवर्धन, धरानमा रात्रीकालीन बजार बिस्तार, प्रवर्धनात्मक सामग्री प्रकाशन, धरान बाहिर धरानको प्रचार, गाइड तयार जस्ता कार्यक्रम गर्ने पनि बताएको छ ।
यसैगरी वर्तमान विषम परिस्थितिमा होटलको भवनलाई क्वारेन्टाइनमा समेत बदल्नुपर्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै केही महिनाका लागि घरभाडामा छुट दिन समितिले घरवालालाई अनुरोध गर्ने जनाएको छ । धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघमार्फत् घरवालाहरुलाई कोरोना सन्त्रासको समयको घरभाडामा छुट गरिदिनु हुन गरिने समितिका संयोजक मनोजकुमार मेन्याङवोले बताएका छन् ।
विगतमा मुलुकमा चलेको द्वन्द्व, संविधान निर्माणको अवस्था, भारतीय नाकाबन्दी, भूकम्प, कोशीको बा“ध कटानका कारण धराशायी बनेको धरानको होटल व्यवसाय गत वर्षको डेंगु र हाल विश्वव्यापी कोरोना भाइरसको संक्रमणले झनै अस्तव्यस्त बनेको जिकिर गरिएको छ । ‘यहाँको होटल व्यवसायका बारेमा राज्यले तत्काल सम्बोधन नगर्ने हो भने यहाँको पर्यटन उठ्नै नसक्ने गरी थला पर्ने अवस्था सिर्जना हुने सम्भावना देखिएको छ । यसका लागि सबैले सचेत भएर गम्भीरताका साथ लाग्न जरुरी छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
समितिले एकातिर पर्यटन केन्द्र (हब) बनाउने भन्ने अर्को तर्फ सुरक्षाका कारण देखाउदै सम्साझैं बन्द हुने धरानको चरित्रले यहाँको पर्यटन उठ्न नसकेको बताएको छ । धरानको पर्यटकीय विकासका लागि सरकार, नीजि क्षेत्र र नागरिक एक भएर अघि बढ्नुको विकल्प नभएको भन्दै स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारसँग सहकार्य गर्दै हातेमालो गरेर अघि बढ्न समेत तयार रहेको समितिले जनाएको छ ।
समितिले संघीय सरकारसमक्ष होटेलका नाममा रहेको बैंक व्याज छुट गरिदिन, कोरोना भाइरसको प्रभाव रहुन्जेल बैंक किस्ताका लागि तगादा नगर्न तथा किस्ता सहुलियत गरिदिन, धरानको पर्यटन विकासका लागि पूर्वाधारमा लगानीका लागि मन्त्रालय तथा विभागमा एवं पर्यटन बाेर्डमा समन्वय गर्दै लगानी गरिदिन, तथा धरानको पर्यटन विकासकालागि समितिलाई साझेदारका रुपमा सुचिकृत गर्दै संघीय सरकारबाट यस क्षेत्रमा हुने लगानी तथा कार्यक्रममा साझेदारका रुपमा लिन भनेको छ ।
यसैगरी समितिले प्रदेश सरकारले घोषणा गरेको धरानलाई पर्यटन क्षेत्र घोषणा कार्यक्रम तुरुन्त लागु गर्न भनेको छ । धरानमा पर्यटन निर्देशनालय कार्यालय स्थापना गर्न, सो अनुसारको पूर्वाधार विकासमा लगानी गर्न, प्रदेश सरकारले आयोजना गर्ने बैठक, सभा, तालिम, गोष्ठीलाई प्रदेश राजधानीमा मात्र केन्द्रिकृत नगरी धरानमा समेत आयोजना गर्न, प्रदेश नं। १ को पर्यटकीय नक्सा, गाइड बुक, पर्यटकीय बुकलेट प्रकाशन गर्न, धरानलाई माउण्टेन टुरिजमको हबका रुपमा विकास गर्न भनेको छ ।
समितिले प्रदेश नं. १ को पर्यटकीय प्रोडक्टहरु छनौट गरी अनुकूल प्याकेजिङ, मार्केटिङ र टार्गेट ग्रुप पहिचानको कार्यक्रम लागु गर्न, धरानबाट कोलकाता, पटना, गान्तोक एवम् क्रस बोर्डर यातायात सञ्चालन चालु गर्न र धरानको पर्यटकीय क्षेत्रको शान्ति सुरक्षा प्रदान गर्दै विशेष पर्यटकीय गतिबिधी हुने क्षेत्रमा राती १२ बजेसम्म व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गरी शान्ति सुरक्षा प्रदान गर्न माग गरेको छ ।
समितिले स्थानीय सरकार (धरान उपमहानगरपालिका) समक्ष धरानको पर्यटन व्यवसाय गम्भीर संकटमा परेकोले पर्यटन व्यवसायलाई रुग्ण व्यवसाय घोषणा गर्दै राहत प्याकेज घोषणा गर्न तथा कर, शुल्क, दस्तुरहरु छुट गर्न माग गरेको छ ।
यसैगरी धरानलाई प्रदेश नं. १ को पर्यटनको हब निर्माणमा पहल गर्न, पर्यटक सूचना केन्द्र स्थापना गर्न, पर्यटन विकास र प्रवर्धनका लागि समितिलाई साझेदारका रुपमा सूचिकृत गर्न, धरानभित्र र वरपरका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी धार्मिक, पर्या–पर्यटन, सांस्कृतिक, साहसिक पर्यटन क्षेत्र पहिचान गर्दै सूचीकरण गर्न र योजनाबद्ध लगानी गर्न भनेको छ ।
धरानका होटलहरु खानेपानीको अभावमा समस्याग्रस्त रहेकोले एकिकृत सहरी विकास आयोजनाबाट चालु भएको खानेपानी धरानका होटलहरुमा तत्काल वितरणको प्रबन्ध गर्न तथा होटलहरुलाई आवश्यकता अनुसार धारा प्रदान गर्न पनि माग गरेको छ ।
यसका साथै नगर क्षेत्र सञ्चालन हुने सार्वजनिक यातायातको व्यवस्थापन तथा भाडादरमा एकरुपता लागु गराउन र यातायात चालक तथा यातायातकर्मीहरुलाई पर्यटकमैत्री बनाउने वातावरणको कार्यक्रम गर्न, धरानको पर्यटन विकासका लागि माष्टर प्लान अनुसार कार्यक्रम र पूर्वाधार निर्माण गर्न भनेको छ ।
समितिले धरान १५ स्थित बगरकोटलाई रात्रीकालीन पर्यटकीय गतिबिधी सञ्चालनयोग्य क्षेत्रका रुपमा घोषणा गर्दै राती १२ बजेसम्म पर्यटकीय गतिबिधी÷व्यवसाय सञ्चालनको वातावरण बनाउँदै शान्ति सुरक्षाको प्रत्याभूति प्रदान गर्न, धरान आउने पर्यटकको बसाइ लम्याउन साना व्यवसायीहरुको आर्थिक सुदृढीकरण गर्दै नगरको आय समेत बढ्ने गरी धरानको भानुचोकमा रात्रीकालीन बजार सञ्चालनको योजना तत्काल लागु गर्न भनेको छ ।