आजबाट दूधको भाउ बढ्यो

किशोर खनाल, भरतपुर । आज भदौ १ गतेदेखि लागू हुने गरी दूधको मूल्य बढेको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले दूधको मूल्य प्रति प्याकेट ६ रुपैयाँले बढाएको छ भने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले पहिलाको दूधको मूल्यमा एक लिटरमा ४ रुपैयाँ २६ पैसा बढेको जनाएको छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हरिहर सुवेदीले किसानको दूधको मूल्य बढेर फ्याटमा ५ रुपैयाँ ५० पैसा पुगेको बताए । उनले पहिला किसानले फ्याटको ४ रुपैयाँ ५२ पैसा पाउने गरेको जानकारी दिए । पहिला किसानले दूधको ल्याक्टोको २ रुपैयाँ ६९ रुपैयाँ पाउने गरेका थिए । उनका अनुसार आज भदौ १ गतेदेखि किसानले दूधको ल्याक्टोको २ रुपैयाँ ९६ रुपैयाँ पाउनेछन् ।

‘दुई वर्ष आठ महिनापछि दूधको भाउ केही बढेको छ, तर किसानले गाईभैँसीमा गरेको लागत अनुसार यो अझै कम हो । यति बढेर किसानको लागत अझै उठ्दैन’ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष सुवेदीले भने । उनले दाना चोकरको भाउ बढेको बढ्यै छ, दूधको भाउ बल्ल धेरै पछि बढेको बताए ।

दूधको भाउ बढेसँगै अब किसानको एक लिटर दूधको मूल्य कम्तीमा पनि ४५ रुपैयाँ पर्छ । अब राम्रो दूधको मूल्य ५५ रुपैयाँसम्म पर्न सक्ने अध्यक्ष सुवेदीले बताए । ‘यो वृद्धि ज्यादै कम हो, दाना चोकर, परालको भाउ ६/६ महिनामा बढेको बढ्यै छ । गाईभैँसीको भाउ पनि बढेको छ’ गाईपालक किसान दीपक खनालले भने, ‘दुई चार रुपैयाँ बढे पनि किसानलाई केही राहत भएको छ ।’ उनले दूधको लागतअनुसार अझै दूधको भन्दा पानीको भाउ बढी रहेको दाबी गरे । ‘एक लिटर पानीको मूल्य कतिपय ठाउँमा २५/३० रुपैयाँसम्म लिन्छन्, हाम्रो दूधको मूल्य पनि लिटरको त्यस्तै परेको थियो । अबको मूल्यले पानीलाई जित्छ’ उनले भने ।

किसानको दूधको लागत बढेकाले किसानको हितलाई मध्यनजर गर्दै दूधको भाउ बढाउनु परेको डीडीसीले जनाएको छ । डीडीसीले हालको मूल्यमा आजदेखि बढाइएको मूल्य ६ रुपैयाँको ७१ प्रतिशत अर्थात् ४ रुपैयाँ २६ पैसा किसानले पाउनेछन् भने २९ प्रतिशत अर्थात् १ रुपैयाँ ७४ पैसा डीडीसीले लिनेछ ।

डीडीसीको (निलो प्याकेट) आधा लिटर दूधको मूल्य अब (आज भदौ १ देखि) ३६ रुपैयाँ पर्नेभएको छ । यसअघि उपभोक्ताले ३० रुपैयाँमा पाउने गरेका थिए । डीडीसीको ३५ रुपैयाँमा आधा लिटर पाउने गरेको दूध अब ४१ रुपैयाँ भएको छ ।

बजारमा स्थानीय दूध प्रतिलिटर ६० रुपैयाँमा उपभोक्ताले पाएका थिए । अब यसको भाउ बढेर ६५ देखि ७० रुपैयाँसम्म खुद्रा मूल्य हुने देखिन्छ । गाउँगाउँमा खुलेका दुग्ध सहकारीहरुले पनि दूध व्यवसायीहरुलाई आफूखुसी दूधको भाउ बढाएका छन् ।

‘दुग्ध सहकारी संस्थाहरूले आफ्नो सञ्चालक समितिको निर्णयअनुसार दूध व्यवसायीहरुलाई दूध बेच्न पाउँछन्’ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हरिहर सुवेदीले भने, ‘सहकारीहरुलाई अंकुश लगाउन सक्दैनौँ, सञ्चालक समितिले जे निर्णय गर्छ, त्यही अनुसार व्यवसायीहरुलाई दूध बेच्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *