आजबाट स्वास्थ्य बिमा उपचार सेवा सुरु

भक्तपुर, १ भदौ । सरकारले सुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा अर्थात् स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भक्तपुरमा स्वास्थ्य सेवा शुभारम्भ भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका जिल्ला प्रबन्धक श्रीकृष्ण प्रजापतिले असार १ गतेदेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत आजदेखि स्वास्थ्य सेवा सुरु भएको बताउनुभएको हो ।

भक्तपुर जिल्लामा हालसम्म तीन हजार ३४५ परिवारका १३ हजार ४७० जनाले स्वास्थ्य बिमा गराएको जानकारी दिँदै उहाँले सदस्यहरूबाट कूल रु ७६ लाख ३२ हजार एक सय बिमा रकम सङ्कलन भएको छ भन्नुभयो । जिल्लामा स्वास्थ्य बिमा गराउन तालिम प्राप्त ६७ जना दर्ता सहयोगी परिचालन गरिएको जानकारी दिँदै उहाँले सुरुमा दधिकोट र चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र, भक्तपुर अस्पताल, कोरियामैत्री अस्पताल, थिमि, जनस्वास्थ्य सेवा केन्द्र च्यामासिंहबाट बिमाका सदस्यका लागि स्वास्थ्य सेवा कार्यक्रम सुरु गरिएको प्रबन्धक प्रजापतिले जानकारी दिनुभयो ।

समितिले दधिकोट र चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्रलाई इसिजी, एक्सरे र एनलाइनर मेशिन प्रदान गरेको छ ।बिमा भएका बिरामीलाई उपचारका लागि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल, शहीद गंगालाल हृदय रोग केन्द्र, मनमोहन कार्डियाक भास्कुलर सेन्टर, प्रसूति गृह थापाथली, पाटन अस्पताल, मानसिक अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर, भक्तपुर क्यान्सर अस्पताललगायत काठमाडौँ उपत्यका बाहिरका १९ वटा अस्पताल तोकिएको छ ।

स्वास्थ्य बिमामा सहभागी हुनका लागि पाँचजनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० र त्यसभन्दा प्रतिव्यक्ति रु ४२५ का दरले बिमा शुल्क तिर्नु पर्नेछ । त्यसबापत, पाँच जनासम्मको परिवारले वार्षिक रु ५० हजारसम्मको उपचार सेवा र त्यसभन्दा माथिका परिवारले प्रतिव्यक्ति थप रु १० हजारको उपचार सेवा निःशुल्क रूपमा लिन पाउने व्यवस्था गरिएको समितिका दर्ता अधिकारी रीता धितालले जानकारी दिनुभयो ।

सरकारले आव २०७३/७४ सम्मका बागलुङ, इलाम, बैतडी, अछाम, पाल्पा, म्याग्दी, कास्की, कैलालीमा सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम गत असार १ गतेदेखि भक्तपुर, मकवानपुर, चितवन, गोरखा, तनहुँ, जाजरकोट र जुम्लामा सुरु गरेको हो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *