भारतमा काेराेना संक्रमितको संख्या बढ्दो, एकै दिनमा ३० जनाले गुमाए ज्यान !
चैत्र २८, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९९ पुगेको छ ।
भारतमा बिहीबार राति यता ३० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकमा उल्लेख छ । मन्त्रालयको तथ्यांक अनुसार बिहीबार राति नै ५ सय ४७ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा संक्रमितको संख्या ६ हजार ४ सय १२ पुगेको छ । ५ सय संक्रमित भने उपचारपछि निको भइसकेका छन् ।
भारतका महाराष्ट्र, तमिलनाडु र दिल्ली कोरोना भाइरसबाट बढी प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ । महाराष्ट्रमा १३ सय ६४, तमिलनाडुमा आठ सय ३४ र दिल्लीमा सात सय २० कोरोनाका बिरामी देखिएका छन् । कोरनाका कारण महाराष्ट्रमा मात्रै ९७ जनाको मृत्यु भइसकेको छ ।
कोरोना संक्रमणबाट विश्वभर हालसम्म ९५ हजार ७ सय १४ को मृत्यु भइसकेको छ भने १६ लाख ३ हजारभन्दा बढी संक्रमित भएका छन् ।
पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विहिबार एकैदिन १९ सयको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टाभित्र ३३ हजार ५ सय बढी संक्रमित थपिएका छन् ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ । यो संख्या स्पेन, इटाली, जर्मनी र फ्रान्सभन्दा मरिब ४ गुणाले बढी हो ।
इटालीमा १ लाख ४३ हजार ६२६ कुल सङ्क्रमित भएका छन् भने १८ हजार २७९ को मृत्यु भएको छ । यसैबीच २८ हजार ४७० निको भएर फर्किएका छन् । स्पेनमा एक लाख ५३ हजार २२२ कुल सङ्क्रमित भएका छन् भने १५ हजार ४४७ को मृत्यु भएको छ । यसैबीच ५२ हजार १६५ निको भएर फर्किएका छन् ।
नेपालमा भने हालसम्म ६ जनामा मात्रै संक्रमण देखिएकाे छ । संक्रमित मध्ये एक जना उपचारपछि निकाे भइसकेका छन् भने अन्यकाे उपचार चलिरहेकाे छ ।