दीपक मनाङ्गेको जीवनमाथि बायोपिक फिल्म बन्ने
कार्तिक ६, । पछिल्लो केही वर्षयता बलिउडमा बायोपिक फिल्मको लहर चलेको छ । तर, नेपालमा पुस्तकमाथि फिल्म बनेको भएता पनि अहिलेसम्म बायोपिक फिल्म बनेको छैन ।
अब, बलिउडले पछ्याएको ट्रेन्ड नेपाली फिल्मले पनि अपनाउने भएको छ । प्रदेश ४ का प्रदेशसभा सदस्य तथा गुन्डा नाइकेको रुपमा परिचित दीपक मनाङ्गेको जीवनमाथि बायोपिक फिल्म बन्ने भएको छ ।
यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पोई पर्यो काले’ का निर्माता द्वय किरण नेपाली र अमलादेवी राईले दीपक मनाङ्गेको जीवनमा आधारित भएर फिल्म बनाउन लागेको हुन् । फिल्मको नाम समेत फाइनल भइसकेको छ । निर्माण टिमले चलचित्र विकास बोर्डमा ‘मनाङ्गे’ नाममा फिल्म दर्ता गरेको छ । जमन बिष्टले फिल्मको निर्देशन गर्नेछन् ।
अहिले फिल्मको कथा निर्देशक बिष्ट स्वयंले लेखिरहेका छन् । फिल्मको विषयमा जानकारी दिँदै निर्माता किरण नेपालीले भने, ‘अहिले फिल्मको पहिलो चरणको काम भइरहेको छ । स्क्रिप्ट लक भएपछि फ्लोरमा निस्कने छौं । दीपक दाईसँग अनुमति लिएर फिल्म बनाउन लागेका हौं ।’ दीपक मनाङ्गेको जीवनमा आएको उतार-चढावमा केन्द्रित भएर फिल्म बन्नेछ ।
फिल्म ‘पोई पर्यो काले’ का निर्माता समेत रहेका दीपक मनाङ्गेले यसअघि ‘वान वे’ नामक फिल्म पनि बनाएका थिए । जसबाट उनका छोरा सिद्धार्थले अभिनयमा डेब्यू गरेका थिए । तर, यो फिल्मले हलमा हावा खायो । ‘मनाङ्गे’ का लागि अहिले लिड कास्टको खोजी भइरहेको निर्माता नेपालीले बताएका छन् । दीपकको डनदेखि सांसदसम्मको सफरलाई फिल्ममा देखाइनेछ । एजेन्सी