टेन्ट टाँगेर भएपनि प्रदेश नम्बर २ मा चुनाव हुने

भदौ ५, सप्तरी । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले टेन्ट टाँगेर भएपनि प्रदेश नम्बर २ को स्थानीय चुनाव गर्ने बताएका छन् । उनले निर्वाचनमा जुट्न सबैलार्इ आहृवान समेत गरेका छन् । सोमबार राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले भने, ‘जनप्रतिनिधि भएको भए बाढीको समयमा उद्दार र राहतको काम छिटो र राम्रो तरिकाले हुन्थ्यो । तर, नभएकाले समस्या भोग्नुपरेकाले निर्वाचनमा जुट्न सबैलाई आग्रह गर्दछु ।’

बाढीले धेरै ठाउँमा बाटो बिगारेको, मतदान केन्द्र र निर्वाचन अधिकृतको कार्यालयमा क्षति पुर्‍याएको उनले बताए । ‘क्षति पुर्‍याएका बाटो र कार्यालय मर्मत गर्न सरकारलाई भनेको छु’ उनले भने, ‘चुनाव अघि जति काम सकिन्छ ठीक छ । सम्पन्न हुन नसके टेन्ट टाँगेर भएपनि निर्वाचन हुन्छ ।’

प्रदेश २ को चुनावलाई लक्षित गरी जनशक्ति व्यवस्थापन र मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको बताउँदै उनले चुनावका निम्ति सबै तयारी भएको बताए ।

राजपालाई छाता दिन सकिन्न

प्रमुख निर्वाचन आयुक्त डा. यादवले राष्ट्रिय जनता पार्टी राजपालाई कुनै पनि हालतमा छाता चुनाव चिन्ह दिन नसकिने बताए । ‘कानुनी र प्राविधिक कुनै पनि तरिकाले राजपालाई छाता चुनाव चिन्ह दिन सकिँदैन’ उनले भने । यस अघि एउटा दलले छाता चुनाव चिन्ह माग गर्दै आयोगमा निवेदन परिसकेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *