सन्ध्या आचार्य भइन् ‘छमछमी सिजन–४’ को विजेता

कात्तिक १०, काठमाडौँ । हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छिन् ।   

शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेत बनेकी हुन् । उनले पुरस्कारस्वरुप अल्टो के–१० गाडी प्राप्त गरेकी छिन् ।   

उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गरे । प्रतिष्पर्धामा महोत्तरीका नेशन सुश्लिङ मगर फष्ट रनर अप हुँदै नगद पाँच लाख र झापाकी दिलमाया लिम्बू सेकेण्ड रनर अप हुँदै नगद तीन लाख प्राप्त गरेका छन् । 

विसं २०७५ कात्तिक १७ गतेदेखि शुरु भएको यस प्रतियोगितामा देशका सातवटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएकोे थियो । अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाकी दीलमाया लिम्बू, महोत्तरीका नेशन सुश्लिङ मगर, पोखराकी सपना थापा र मकवानपुरकी सन्ध्या आचार्य थिए ।   

विसं २०६६ देखि नेपाल टेलिभिजनले उक्त कार्यक्रम शुरु गरेको थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले क्षमताको प्रफुटन हुने महत्वपूर्ण स्थान नेपाल टेलिभिजन भएको भन्दै अझै यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिए । 

नेपालको परिचयको निम्ति सोरठी खोज्दा हाकुपटासी र धिमे खोज्दा धेरै कलाकृति साहित्यका फाँटमा तरेली लगाउँदा वास्तवमा नेपाली मन उद्देलित हुने बताए ।   

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले राम्रो कलाकार उत्पादन गर्नका लागि टेलिभिजनले दूरदराजका नृत्य प्रतिभालाई प्रष्फुटित गराउने अवसर प्रदान गरेको उल्लेख गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *