ओली, दाहाल र ढकालको भागबण्डामा विपी प्रतिष्ठान : को बन्ला उपकुलपति ?

माघ १६, काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा १६ जनाको आवेदन परेको छ । सरकारले प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वस्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति सिफारिस समिति गठन गरेको थियो ।   

सोही कमिटीले उपकुलपतिका लागि माघ ६ गते ५ दिने सूचना प्रकाशन गरेको थियो । सरकारले तोकेको समय शुक्रबार नै सकिएको छ । सो समयमा १६ जनाको आवेदन परेको मन्त्रलय श्रोतले जनाएको छ ।   

उपकुलपति हुनका लागि प्रतिष्ठान भित्रबाटै ८ जना चिकित्सकको आवेदन परेको छ । बाँकी ८ जना प्रतिष्ठान बाहिरका रहेका छन् । समितिले अति गोप्य रुपमा परेका आवेदनमाथि छलफल गरिरहेको स्वास्थ्य मन्त्रालय स्रोतको दावी छ ।   

उक्त सर्च कमिटीमा योजना आयोगका शिक्षा, स्वास्थ्य हेर्ने सदस्य डा. उषा झा र अर्थ मन्त्रालयका सचिव डा.राजन खनाल रहेका छन् भने सदस्य सचिवका रुपमा स्वास्थ्य सचिव खगराज बराल रहेका छन् ।   

१६ जनाको आवेदनपछि मंगलबार बसेको समितिको बैठकले पुनः कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आवेदक मध्ये तीनजनाको नाम सिफारिस गर्ने समितिका एक सदस्यले जानकारी दिएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका छुट्टा—छुट्टै उम्मेदवार रहेका कारण देशकै ठूलो प्रतिष्ठानका उपकुलपतिका छान्न सर्च कमिटीलाई गाह्रो परेको छ ।   

मन्त्रालय स्रोतका अनुृसार  प्रतिष्ठानको उपकुलपतिको मुख्य प्रतिस्पर्धीको रुपमा प्रा.डा. गेहनाथ बराल, प्रा.डा. ज्ञानेन्द्र गिरी र प्रा.डा. गुरुप्रसाद खनाल रहेका छन् । यता प्रतिपक्ष दल नेपाली कांग्रेसले भने प्रा.डा. नारायणविक्रम थापालाई अगाडि सारेको छ ।   

मुख्य दावेदार यी ३ जना देखिएता पनि उपकुलपति  हुनका लागि प्रा.डा. राजेन्द्रप्रसाद साह, प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. प्रल्हाद कार्की, प्रा.डा. वीएन यादव, प्रा.डा. पारसकुमार पोखरेल, प्रा.डा. सन्जीवकुमार शर्मा, प्रा.डा. सीएस अग्रवाल, प्रा.डा. गजेन्द्रप्रसाद रौनियार, प्रा.डा. बद्रीप्रदास बडु, प्रा.डा. आरपी बिच्छा, प्रा.डा. अनिल मिश्रलगायत रहेको मन्त्रालय स्रोतले जनाएको छ । 

प्रधानमन्त्री, पार्टी अध्यक्ष र स्वास्थ्यमन्त्रीका आ—आफ्नै तीन फरक उम्मेदवार भएका कारण उपकुलपति सिफारिस समितिले तीन जना कसको नाम पठाउँछ भन्न अहिले सकिने अवस्था छैन ।   

यसरी राजनैतिक अडानका कारण अहिलेसम्म देशकै ठूलो प्रतिष्ठानमा उपकुलपति सिफारिस हुन सकेको छैन । प्रधानमन्त्रीको आफ्नो मान्छे, नेकपा पार्टी अध्यक्षको आफ्नै मान्छे, स्वास्थ्यमन्त्रीको आफ्नै मान्छे र प्रतिपक्षदलको आफनै मान्छे सिफारिस हुनु पर्ने अडानका कारण अहिले सम्म प्रक्रिया अघि बढ्न सकेको छैन । प्रक्रिया अघि बढ्न नसकेको छैन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *