अनुहार चम्किलो बनाउने १० घरेलु तरिका
“
एजेन्सी । अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरू हजारौँ खर्च गर्छन् । व्युटी पार्लर धाउँछन् । तर, कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको सिकार पनि बनाएका छन् । तर, साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन । केही यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन मद्दत गर्छ ।
१) दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करिब २० मिनेटपछि अनुहार पखाल्ने । हप्तामा एक पटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ ।
२) डार्कसर्कल हटाउन आँखाको वरिपरि काँचो आलुको टुक्राले हल्का मसाज गर्ने ।
३) एक चम्चा मह हातमा लिएर अनुहारमा लगाउने । (यसमा ४/५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।
४) अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।
५) निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्दत गर्छ ।
६) पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ ।
७) काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ ।
८) काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।
९) अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ ।
१०) सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने । यसलाई फेसवासको रूपमा प्रयोग गर्ने ।
“