‘एसपी मल्ल, जसले ‘दोस्रो टिकापुर काण्ड’ हुनबाट चितवनलाई जोगाए’

तस्विर साैजन्य, Su-jan 

भाद्र १०, काठमाडौं । न्यूज २४ टेलिभिजनमा कार्यक्रम ‘सिधाकुरा जनतासँग’ चलाएर सेलिब्रेटी बनेका कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिँदा चर्चामा आएका अर्का पात्र हुन् चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल । यसअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालका पिएसओ रहिसकेका तथा द्वन्द्वकालिन समयमा मुलुकमा विभिन्न दुर्गम स्थानमा गएर सेवा गरेका मल्लभित्र रहेको लिडरसिप, शहनशीलता र दुरदर्शिता पत्रकार शालिकराम पुडासैनी आत्महत्या काण्डमा देखियो ।   

चितवन जानुअघि एसपी मल्ल काठमाडौं, महानगरीय प्रहरी कार्यालय दरबारमार्गमा डिएसपी थिए । हक्की र दुरदर्शी स्वभावका दानबहादुरले दरबारमार्ग, ठमेल क्षेत्रमा ब्याप्त यौन बजार, कालोबजारी नियन्त्रण गर्न तथा शान्तिसुरक्षा कायम गर्न अपनाएको रणनीति अहिलेसम्म चर्चामा छ ।   

एसपी मल्लमा सबैलाई मिलाएर सबैलाई समेटेर लैजान सक्ने गज्जबको खुवी थियो । उदाहरणका रुपमा दरबारमार्ग, ठमेल एरियामा हुने यौनजन्य कारोबार नियन्त्रणका लागि उनले त्यहाँका होटल ब्यवसायी, रात्रिकालिन ब्यवसायी, समाजसेजी, स्थानीयबासीलाई नै अगाडी सारे । सबैलाई आफ्नै कार्यालयमा बोलाएर स्वच्छ रुपमा ब्यवसाय गर्न पाउने अधिकारलाई सुरक्षित गर्दै मर्यादीत रुपमा ब्यवसाय गरे प्रहरी सदैव ब्यापारी ब्यवसायीको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताउँदा ब्यवसायीहरु आफू सच्चिन मात्र उत्साहित भएका थिएनन् कि, प्रहरीसँग हातेमालो गर्दै अगाडी बढ्न राजी समेत भएका थिए । मल्लले दरबारमार्ग प्रहरीलाई जनताको प्रहरी बनाउन यहाँसम्म गरेकी आफुलाई काम गर्न सहयोग नगर्ने, बजारमा ब्यापारी ब्यवसायीबाट अनैतिक रुपमा हप्ता उठाउने केही घुसखोरी प्रहरीलाई पनि त्यहाँबाट हटाए ।   

दरबारमार्ग आएको साता नबित्दै डिएसपी मल्लले प्रहरीकै आचरण सुधार्न चालेको कदमले त्यहाँका ब्यापारी ब्यवसायीहरु उनीसँग सहजरुपमा खुल्न थाले, केहिले गोप्य रुपमा नजराना लिने प्रहरीको विवरण मल्ललाई दिए भने कानुनले वर्जित गरेका ब्यवसाय गर्नेहरु समेत आफू सच्चिन थाले । फलस्वरुप उनले दरबारमार्ग आएको एक महिना नबित्दै त्यहाँको रात्रिकालिन ब्यवसायलाई पूर्ण रुपमा मर्यादित, ब्यवस्थित र सुरक्षित बनाउन सफल भए । साथै आफ्नो युनिटमा रहेका बदनाम प्रहरीलाई पनि सच्चिन बाध्य बनाए ।   

प्रहरीले समुदायमा प्रहरी कार्यक्रम लागू गर्दा सम्भवतः दरबारमार्ग प्रहरीले जति समुदाय केन्द्रित कार्यक्रम अन्यत्र लागू गर्न सकेनन् । उनी अभियानमा हरेक टोल, क्षेत्र र समुदायका घरघर गएका छन् । प्रहरी भन्ने बित्तिकै हच्किने, शशंकित हुने नागरिक समाज समुदायमा प्रहरी कार्यक्रम पश्चात खुलेर बोल्न सक्ने भएका छन् । यहिँबाट चर्चामा आएका मल्ल एसपीको लाइनमा अग्र पंक्तिमा थिए ।   

अब कुरा गरौँ, पत्रकार शालिकराम पुडासैनी काण्डमा उनी किन हिरो भए ? माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने आफैँमा एक सेलिब्रेटी थिए । ‘सिधाकुरा जनतासँग’ चलाएर वाहवाही कमाएका लामिछाने र उनको टीमका कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियो रेकर्ड गरी आत्महत्या गरेका पुरासैनीले लामिछाने, सहकर्मी युवराज कंडेल, पत्रकार पुडासैनीकी प्रेमिका नर्स अस्मिता कार्की ‘रुकु’ लाई आफ्नो मृत्युको कारक बताएका थिए । त्यति मात्रै होइन, पुडासैनीले रवि लामिछाने र उनको टीमले कार्यक्रम सिधा कुरा जनतासँगबाट विभिन्न उद्योगी ब्यापारीलाई वार्गेनिङ गरी करोडौं कमाएको, श्रम शोषण गरेको, निर्दोषलाई दोषी ठहर गर्दै ब्ल्याकमेलिङ समेत गर्ने गरेको आरोप लगाएका थिए ।   

शालिकरामले रवि र उनको टीम माथि लगाएको आरोप पुष्टि हुने आधार थियो थिएन अर्को पाटो होला । तर, रवि लामिछानेको नामै किटान गरेर आत्महत्या गरेकाले त्यहि भिडियोलाई आधार बनाएर प्रहरीले रविलाई पक्राउ गर्नु अन्यथा पनि थिएन । यदी प्रहरीले भिडियोको भेरिफाइ नगरीकन तत्कालै रविलाई पक्राउ गरेको भए परिस्थिति अर्कै हुने थियो । एसपी मल्लले संयमता, बुद्धिमानीपूर्वक भिडियोको ल्याव रिपोर्ट नआउञ्जेल रविलाई पक्रने सोच नै राखेनन् । बरु अन्य अनुसन्धान तर्फ केन्द्रित भए । र, अन्त्यमा ल्यावबाट उक्त भिडियोमा बोलेको अडियो शालिकरामकै भएको प्रमाणित भएपछि मात्रै प्रहरीले रविलाई अनुसन्धानमा लिएको हो । यदी ल्याब रिपोर्ट र अन्य प्रमाणलाई आधार नबनाई हतारहतार रविलाई पक्राउ गरिएको भए त्यसले चितवनमा अर्को ‘टिकापुर काण्ड’ दोहोरिने सम्भावना प्रवल थियो । एसपी मल्लले भोली घट्ने सम्भावित दुर्घटनालाई अघिल्लै दिन देखेकाले सतर्कता अपनाए ।   

संयमताको उदाहरण 

पुडासैनी आत्महत्याको भोलिपल्टै भिडियोको ल्याव रिर्पोट नआउँदै भिडियो सार्वजनिक भयो, जसले पुरै देशलाई तरंगित बनाइदियो । जनताले ‘देवत्वकरण’ गरेका रवि लामिछानेविरुद्ध राज्य संयन्त्र नै लागेको भन्दै चितवन र देशका प्रमुख शहरमा प्रहरी प्रशासनको विरुद्ध तथा रविका समर्थनमा स्वतःस्फुर्त प्रर्दशन भए । चितवनमा निषेधाज्ञा नै लागु गर्नुपर्यो । सिधासाधा जनता जो रविले गरेका कामको प्रशंसा गर्थे । उनीहरुले उनको समर्थनमा प्रदर्शन गर्नु स्वभाविक थियो । तर, भिडको आड पाएर आफ्नो स्वार्थ सिद्ध गर्ने रविका विरोधीले त्यही प्रदर्शनलाई हतियार बनाएर प्रहरी प्रशासन र राज्यकै विरुद्ध उत्रनु अस्वभाविक थियो । एसपी दानबहादुरले यही नजरअन्दाज गरेरै संयमता अपनाए । यदी प्रहरीले भिड नियन्त्रण गर्ने निहुँमा गोली चलाएको भए अथवा प्रहरी अराजक भइदिएको भए दर्जनौँ हताहत हुने थिए ।   

टिकापुर काण्डलाई नियालेका एसपी मल्लले चितवनमा त्यस्तो इतिहास दोहोरिन दिएनन् । चितवनका प्रहरीले भिडको कुटाई खाए, गाली खाए तर, निर्दोष जनता उपर गोली बर्साउने दृढता गरेनन् । बरु निशेधाज्ञा जारी गरे, भिडलाई तितरवितर गर्न अश्रुग्यास प्रहार गरे । एकाध लाठि बजारेर नियन्त्रणमा लिए । भिडको आडमा विष वमन गर्नेका विरुद्ध कान थुनेर बसे ।   

तथ्य र प्रमाणलाई आधार बनाएर घटनाको विश्लेषण गरे । टिकापुर घटनाबाटै पाठ सिकेका उनले चितवनलाई अर्को टिकापुर हुनबाट जोगाए । यसकारण एसपी दानबहादुर मल्लको बुद्धिमानी, संयमता, लिडरसिपको प्रशंशा हुनु स्वभाविक पनि छ । 

रवि लामिछाने एक सफल कार्यक्रम प्रस्तोता हुन् । उनको वाकपटुता र जनता लक्षित कार्यक्रमले राज्य संयन्त्रबाट न्याय पाउन नसकेका जनताले न्यायको अपेक्षा गरेका छन् । र, रविले पनी प्रहरी प्रशासनले गर्न नसकेको कार्य गरीरहेका थिए । बैदेशिक रोजगारीमा भएका विक्रिति विसंगति उजागर गर्न, विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दारमा रवि लाछिानेले जुन तदारुकता देखाए त्यो राज्य संयन्त्रले गरिदिएको भए चितवनमा राज्यका विरुद्ध, सरकारका विरुद्ध नारा लाग्ने थिएन ।   

रविलाई राज्य संयन्त्र प्रति कठोर बन्न प्रेरित गर्ने कमजोर राज्य संयन्त्र नै हैन र ? यदी देशमा अमन चयन कायम थियो, भ्रष्टाचार थिएन भने रविले टेलिभिजनमा कुर्लीकुर्ली बर्तमान राज्य ब्यवस्था विरुद्ध शब्द प्रहार गर्दैनथे कि १ स्ट्रीङ अप्रेसन नै चालेर मानव तस्करी गर्नेहरु विरुद्ध जाइ लाग्दैन थिए कि ! 

लोकप्रियताले कमाएको अलोकप्रियता 

यहाँ रविलाई राम्रो, रवि लामिछानेले गरेको काम मात्र ठिक भनिएको हैन । कतिपय कुरामा रवि लामिछानेले पत्रकार आचारसंहिता विपरित काम गरेकै छन् । जस्तो पत्रकारितामा सामान्य आचारसंहिताले कसैलाई दोषी ठहर गर्दैन । कानुनी राज्यमा कसैलाई दोषी निर्दोष ठहर्याउनु राज्यको, न्यायालयको काम हो । तर, सिधाकुरा जनता मार्फत रविले आफैं कानुन, आफैं वकिल, अनि आफैँ न्यायाधिश भएका थिए । उनको यही आक्रामक शैलीले लोकप्रियता कमायो, रातारात रवि लामिछाने युट्युब, फेसबुकमा हिट भए । देश विदेशमा रहेका नेपाली जनता जो वर्तमान शासन पद्दतिबाट रुष्ट थिए उनीहरुका माझ हेर्दाहर्दै हिरो अर्थात्, देवता भए ।   

रविको लोकप्रियतामा रमाउने खुशी हुने जमातका बिचमा रविलाई भिलेन ठान्नेहरुको जमात विस्तारै बढ्दै थियो । रविले भित्रभित्रै दुश्मन कमाए । राज्यका विभिन्न निकायमा आसिन ठूला ब्यक्ति, प्रशासनिक क्षेत्रका कर्मचारी, मेनपावर ब्यवसायी, ठेकेदार जो आफ्नो पेसाप्रति इमान्दार थिएनन् उनीहरु नै रविको कमजोरी खोजी रहेका थिए । त्यो कमजोरी पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा देखियो र, उनीहरुले नै यो घटनालाई अतिरञ्जित बनाउन प्रमुख भूमिका निर्वाह गरे । अन्तमा, पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण चितवनमा एउटा नमिठो इतिहास बनेको छ । भोलिका दिनमा यो घटनाले कस्तो रुप लेला ? रवि निर्दोष होलान् कि नहोलान् ? अनुसन्धानबाट खुल्दै जालान् । अहिलेलाई भने चितवनमा एउटा ठूलो मुठभेडको राजनीति समाप्त भएको छ । दोश्रो टिकापुर काण्ड टरेको छ । यसको श्रेय प्रहरी प्रशासनलाई नै जान्छ । एसपी दानबहादुर मल्लको कमाण्डलाई जान्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *