यूएनडिपीले अनुदानस्वरुप दिएको जेट बोट भरतपुर महानगरमा थन्कियो

भरतपुर, २६ फागुन । भरतपुर महानगरपालिकाको सम्पत्तिका रुपमा दुईवटा जेट बोट रहेका छन् । दुवै जेट बोट हाल कोसी नदीमा छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)ले अनुदानस्वरुप दिएको जेट बोट पुरानो भइसकेको छ । एउटा चालू अवस्थामा छ भने अर्को केही वर्षदेखि बिग्रिएर थन्किएको छ । 

आफ्नो सम्पत्तिको अवस्था बुझ्न र बाँकी रहेको भाडा रकम अशुल गर्न महानगरको एउटा टिम केही दिन अघि कोसी नदी पुगेको थियो । ‘एउटा चलिरहेको र एउटा बिग्रिएको अवस्थामा पायौँ’, महानगरपालिकाका प्रशासकीय अधिकृत कुलबहादुर जिसीले बताए । जेटको अवस्था बुझ्नेबारे गत फागुन ३ गतेको महानगरपालिकाको बोर्ड बैठकमा निर्णय भएको थियो । 

वि.सं २०५७ भदौ ८ गते १८ वर्षअघि तत्कालीन भरतपुर नगरपालिकासँग सम्झौता गरी नेपाल रिभर ट्रान्सपोर्ट प्रालिले वार्षिक भाडा तिर्ने सर्तमा लगेको थियो । महानगरले कम्पनीबाट अझै १५ लाख १३ हजार रूपैयाँ भाडा उठाउन बाँकी छ । भाडा तिर्नका लागि सम्बन्धित पक्षलाई भनिसकिएको उनले बताएको छ । 

null

 

सम्झौता गर्नेको मृत्युतत्कालीन समयमा महानगरपालिकासँग सम्झौता गरी जेट बोट लैजाने सञ्चालकको मृत्यु भइसकेको पाइएको छ । प्रशासकीय अधिकृत जिसीले हाल उक्त बोट तेस्रो व्यक्तिले सञ्चालन गरिरहेको बताए । ‘हामीले दिएको व्यक्तिबाट अर्को व्यक्तिमा सरिसकेको रहेछ, आगामी बोर्ड बैठकमा यसबारे जानकारी गराई महानगरले आवश्यक निर्णय लिनेछ’, उनले भने । बिग्रिएको बोट फोर्ड कम्पनीको रहेको र बनाउनका लागि सिंगापुरबाट प्राविधिक आउनुपर्ने भएकाले बनाउन नसकिएको हालको सञ्चालकले महानगर प्रतिनिधिलाई जानकारी गराएका छन् । 

पटकपटक पत्राचारपहिलो वर्षदेखि नै समयमा भाडा नबुझाएकोले बारम्बार पत्राचार गर्नु परेको थियो । पहिलो पाँच वर्ष वार्षिक एक लाख १० हजार, दोस्रोमा वार्षिक एक लाख ५० हजार, तेस्रो पाँच वर्षमा वार्षिक दुई लाख, चौँथो ५ मा वार्षिक ३ लाख र अन्तिम पाँच वर्षमा वार्षिक चार लाख बुझाउने भनी सम्झौता भएको भरतपुर महानगरका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । तर, कम्पनीले सम्झौताको आधा अर्थात् वार्षिक ५५ हजार मात्र बुझाउँदै आएको थियो । कम्पनीले अन्तिमपटक गत असार २७ गते दुई लाख रूपैयाँ बुझाएको छ । महानगरलाई चालू आर्थिक वर्षसम्म ३५ लाख बुझाउनुपर्ने हिसाब देखिएकोमा जम्मा १९ लाख मात्र बुझाएको महानगरका लेखा अधिकृत जगन्नाथ अर्यालले बताए । १५ लाख १३ हजार अझै महानगरले लिनुपर्ने देखिन्छ । 

कोसीमा निरन्तर सेवाहाल सञ्चालनमा रहेका जेट बोटले कोसी चतराबाट उदयपुर, धनकुटा हुँदै भोजपुरसम्म सेवा दिइरहेको छ । प्रस्थान विन्दुबाट २५ मिनेटमै भोजपुरको अन्तिम विन्दुसम्म बोट पुग्ने गरेको छ । एक जना यात्रुको चार सय भाडा रहेको र स्थानीयलाई छूटको व्यवस्था रहेको छ । एउटा जेटको यात्रु वाहन क्षमता २५ रहेको छ । हिँडेर सात घन्टासम्म लाग्ने दूरी बोटले २५ मिनेटमै पार गर्ने भएपछि त्यहाँका जनताका लागि यो प्रिय यातायातको साधन भएको छ । दुर्गम क्षेत्र भएकाले सडक सेवा पनि यहाँ रहेको छैन । 

यस्तो छ इतिहासयूएनडिपी अरूण नदी पहुँच परियोजना कार्यका लागि दुई थान जेट बोट सन् १९८९ (विसं २०४५) मा नेपाल ल्याइएको र उक्त कार्य सकिएपछि डिभिजन सडक कार्यालय भरतपुरमा ल्याएर छाडिएको थियो । वि.सं २०५५ साउन १५ सम्म भरतपुर नगरपालिका हाताभित्र बेवारिसे अवस्थामा रहेको र नगरपालिकाले निर्माण तथा यातायात मन्त्रालयमा आफूलाई हस्तान्तरण गर्न प्रस्ताव गरेको थियो । 

२०५६ मंसिर २७ गते मन्त्रिपरिषद्को निर्णयले ०५७ जेठ १६ गते सडक डिभिजन कार्यालयले नगरपालिकालाई बुझाएको थियो । नगरपालिकाले २०५७ असार १३ गते २५ वर्षका लागि नेपाल रिभर ट्रान्सपोर्ट प्रालिले मिति २०५७ भदौ ८ कार्यादेश भई नारायणी नदी र सोमा मिसिएका नदीहरुमा सञ्चालन गर्ने तथा अन्यत्र लैजान परे अनुमति लिनुपर्ने सम्झौता भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *