वर्षाका कारण सडक बन्द हुँदा स्याउ कृषक चिन्तामा

मुगु, भदौ १३ । लामो वर्षाका कारण गमगढी नाग्म सडक खण्ड ठाउँठाउँमा भत्किएपछि अवरुद्ध भएको सडक यातायात पछि जिल्लामा उत्पादन भएको स्याउ कुहिनेमा स्थानीय किसान चिन्तामा परेका छन् । बर्षाका कारण स्याउ पाकेर बगैचामा झर्न थालेको तथा सडक यातायात नहुँदा स्याउ नेपालगञ्ज, सुर्खेत र काठमाण्डौ लैजाने विकल्प नभएपछि किसानहरु चिन्तामा परेका हुन् ।

स्याउ नफलेको वर्ष डेढदेखि दुई लाख रुपैँयासम्म आम्दानी हुने गरेको तथा यो वर्ष स्याउ अत्यधिक फलेकोले चार लाखसम्म आम्दानी हुने अनुमान गरे पनि बर्षाका कारण स्याउ बोटबाट झरिरहेको छायानाथ रारा नगरपालिका पाँचका हरिबहादुर रोकायाले जानकारी दिनुभयो । स्याउ रुखबाटै झर्न थालेको र सडक यातायात समेत बन्द रहेकाले स्याउ टिपेर सेलार स्टोरमा राख्न थालेको रोकायाको भनाई छ ।

स्याउ पाकेर बोटमा नै झर्न थाले पनि बर्षा नरोकिएको र सडक यातायात समेत बन्द रहेकाले आम्दानीको मुख्य स्रोत मानिएको स्याउ कुहिएर खेर जाने चिन्ता बढि रहेको कृषक विष्णुदेवी रोकायाको भनाई छ । प्रतिकुल मौसमका कारण सडक यातायात बन्द रहेको र हवाई यातायातबाट स्याउ ढुवानी गर्दा महंगो पर्ने हुँदा किसानले उत्पादन गरेको स्याउ निर्यात गर्न नसकेर खेर जाने हो कि भन्नेमा कार्यालय पनि चिन्तामा रहेको जिल्ला कृषि विकास कार्यालयका बागबानी शाखाका प्राविधिक सहायक तेजविक्रम मल्लको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *