‘केही सेवामा छुट दिएर पुग्दैन’
“
किशोर खनाल, भरतपुर । पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले जनताको स्वास्थ्य सुविधाको लागि राज्यले छुटै नीति बनाउनुपर्ने बताएका छन् । उनले केही उपचारमा निःशुल्क गरेर सरकार उम्किन नमिल्ने बताए । चितवनको भरतपुर अस्पतालको निरीक्षण गर्ने क्रममा छोटो अवधि भएका कारण आफूले स्वस्थ्य क्षेत्रमा भएका अनियमितता र विकृति पूर्णरुपमा हटाउन नसकेको स्वीकार गरेका थिए । उनले भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
जिल्ला अस्पतालको रूपमा रहेको भरतपुर अस्पताललाई थापाको पालामा ३ नम्बर प्रदेशको ठुलो अस्पतालको रूपमा वर्गीकरण भएको हो । उनकै पालामा भरतपुर अस्पतालमा करौडौको बजेट परेको छ । अस्पतालमा डायलासिस, सिटिस्क्यान, एनेस्थेसिया, एक्सरे, भेन्टीलेटर, ल्याबलगाएतका मेसिन ल्याइएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । अध्यक्ष राजभण्डारीले पूर्वमन्त्रि थापालाई धन्यवाद व्यक्त गरेका थिए । तत्कालीन स्वास्थ्यमन्त्री थापाले भरतपुर अस्पतालको गुरुयोजना अनुसारको सी ब्लक भवन निमार्णका लागि बजेट निकासा गरेका थिए ।
अस्पतालका मेसु डा. रुद्रप्रसाद मरासिनीले अस्पतालको पछिल्लो प्रगति र सेवाबारे जानकारी दिनुभयो । अस्पतालमा भएका समस्या समाधानका लागि आफू लागिपर्ने थापाले प्रतिबद्धता जनाएका थिए । अस्पतालका स्वास्थ्यकर्मीहरुले स्वागत गरेका थिए । संविधानले समेत स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिए पनि सबैभन्दा बढी ब्यापारीकरण, लुट, अनियमितता र माफियाकरण भएको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा माफियातन्त्र भएको भन्दै खुलासा गरेका थिए ।
उनले अबको निर्वाचनमा भाग लिन गुणस्तर शिक्षा र स्वास्थ्य सेवाको विषयमा जनताले माग गरे दलहरू त्यसैको साहरा लिन बाध्य हुने समेत ठोकुवा गरेका थिए । शिक्षा र स्वास्थ्य क्षेत्रका विषयमा भएका बेथितीका बारेमा संसद्मा नयाँ ढङ्गले बहस गर्नपर्नेमा उनले जोड दिए ।
“