लकडाउन तत्काल हट्दैनः प्रधानमन्त्री
चैत्र २९, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फेरेन्समार्फत कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबारे जानकारी लिएका छन्। शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट गरिएको भिडियो कन्फेरेन्समा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसँग लकडाउन तत्काल नहट्ने र नेपाल-भारत सीमानाकामा अझै कडाइ गरिने बताएका हुन्।
उनले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नरहेको स्पष्ट पारेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन। भावुक कुरा गरेर लापरबाही गर्न कसैलाई छुट छैन’, प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग भने।
कोरोना भाइरसको संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्यउपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि प्रधानमन्त्री ओलीले आश्वस्त पारे।
उनले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्दै सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पारे। साथै, स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारीरिक रूपमा तन्दुरूस्त र त्यसबापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए।
‘लकडाउनमा प्रशासनिक लापरबाही हुनै भएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने, त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने छ’ उनले छलफलका क्रममा भने।उनले जनतालाई दु:ख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरेका छन्। साथसाथै, सरसफाईमा ध्यान दिन, मास्क र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि आग्रह गरेका छन्।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का लालबाबु राउत, वागमती प्रदेशका डोरमणी पौडेल र गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरूङले सुदूरपश्चिम प्रदेशका त्रिलोचन भट्ट आआफ्नो प्रदेशमा भइरहेका प्रयासबारे जानकारी गराएका थिए।