सगरमाथाको उचाइ नाप्न हिँडेका टोलीलाई प्रधानमन्त्रीको सुझावः ‘लक्ष्यमा अडिग रहनुहोस्, स्वास्थ्यको ख्याल गर्नु’

 

चैत २७, काठमाडौं । नेपालले पहिलो पटक आफैं विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्दैछ । सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । 

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्ने टोलीका प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई बिदाइ गरेका हुन् । 

null

उनीहरुसँगै नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न जाने छन् । आज नै उनीहरु सगरमाथातर्फ प्रस्थान गर्नेछन् । टोलीले आउँदो डिसेम्बर महिनाभित्रै रिपोर्ट बुझाउने मन्त्रालयले जानकारी दिएको छ । 

भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हो कि भन्ने अनुमानका कारण उचाइ नाप्न लागिएको हो । 

टोलीलाई बिदाई गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइ नाप्न निर्देशन दिएका छन् । यो टोलीले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुने प्रम ओलीको विश्वास छ । 

यस्तै प्रधानमन्त्री ओलीले उचाइ नाप्न जाने टोलीलाई स्वास्थ्यको ख्याल राख्न पनि सुझाव दिएका छन् । ‘लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस्’ ओलीले भने, ‘सगरमाथा यही रहन्छ, फेरि अर्को चोटी नाप्न सकिन्छ । गाइडले दिएको हरेक निर्देशन पालना गर्नुहोला ।’ 

यसअघि भारत, अमेरिका र चीनले नाप्दा फरक–फरक तथ्यांक आएको थियो । 

सन् १९५४ मा भारतीय नापी विभागको टोलीले र १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ नापेका थिए । भारतीय टोलीले ८,८४८ र अमेरिकी टोलीले ८,८५० मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेका थिए । 

यद्यपी नेपालले अहिलेसम्म ८,८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *