चन्द्रागिरी गोल्डकप फुटबलः भ्याली च्यासल फाइनलमा

बैशाख २१, काठमाडौं । विदेशी खेलाडी अर्मान्डको दुई गोल सहयोगमा भ्याली च्यासल युथ क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । 

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा विभागीय नेपाल एपीएफ क्लबमाथि २–१ को कठिन जित निकाल्दै प्रतियोगिताको उपाधिनजिक पुगेको हो । अब च्यासलले उपाधिका लागि आइतबार सरस्वती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सरस्वतीले बिहीबार जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 

 

null

च्यासललाई फाइनलमा पुर्याउन विदेशी खेलाडी अर्मान्डले दुवै गोल गरे । एपीएफका प्रदीप लामाले एक गोल फर्काए । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको २६औं मिनेटमा च्यासलले अर्मान्डको गोलबाट खेलमा अग्रता बनाएको थियो । 

कप्तान अमिर श्रेष्ठको चलाखीपुर्ण पासमा अर्मान्डले अफ साइड बिट ट्याप गर्दै हेडमार्फत पहिलो गोल गरेका थिए । तर, च्यासलको त्यो अग्रता लामो समय टिकेन । 

३३औं मिनेटमा प्रदीप लामाले बराबरी गोल फर्काए । सन्तोष श्रेष्ठको क्रसमा प्रदीपको पहिलो प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले रोकेपनि प्रदीपको दोस्रो प्रयास बाउन्स हुदै गोलमा परिणत भएको थियो । 

 

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि दोस्रो हाफको अन्तिम समयमा अर्मान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को जित दिलाउदै फाइनलमा स्थान बनाए । कप्तान अमिरको पासमा विपक्षी खेलाडीले अफ साइड भनेर छोडेको बललाई अर्मान्डले गोल गरेका थिए । 

त्यसअघि खेलको पहिलो मिनेटमा नै सन्तोष श्रेष्ठको पासमा प्रदीपको प्रहार बाहिरियो । १५औं मिनेटमा नियाले विपक्षी डिफेन्डरबाट बल खोस्दै दिएको पासलाई अर्मान्डले फितलो प्रहार गरे । २८औं मिनेटमा आशिष लामाको पासमा प्रदीप लामाको हेडर पोस्टबाट थोरै बाहिरियो । ३८औं मिनेटमा निशान खड्काको प्रहार बाहिरियो । पहिलो हाफको इन्ज्युरी समयमा अर्मान्डले मैदानको मध्यभागबाट एक्लै लगेको बललाई फिनिस गर्न सकेन । 

 

४६औं मिनेटमा रमेश दंगालको २५ यार्ड टाढाको शक्तिशाली प्रहार पोस्टमा लागेर फर्किएको बललाई आशिष लामाको हेडरलाई गोलरक्षक दिनेश थापामगरले मुस्किलले पञ्च गरेर बचाए । प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुवै टोलीले गोलका केही मौकाहरु खेल फालेको थियो । 

च्यासलका डिफेन्डर छिरिङ गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पाए । प्रतियोगिताको फाइनल खेल आइतबार ३ बजे नैकापस्थित नैकाप फुटबल मैदानमा हुनेछ । 

प्रतियोगिता अन्तर्गत शनिबार दीपशिखा युवा समूहको महिला फुटबल टोली र प्रदेश ३ को महिला फुटबल टोलीबीच मैत्रीपुर्ण खेल हुने आयोजकले जनाएको छ । खेल ३ बजेपछि हुनेछ । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *