अनाधिकृत रुपमा समाचार हटाएको प्रति अनलाईन पत्रकार संघको ध्यानाकर्षण

चैत्र २०, काठमाडौं । काठमाण्डूप्रेसडकममा गत मंगलबार प्रकाशित समाचार ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शिर्षकको समाचार बुधबार अनाधिकृत रुपमा हटाइएको प्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   

संघले आज एक विज्ञप्ति जारी गर्दै कोरोना सामग्री खरिद प्रकरणमा रक्षामन्त्री इश्वर पोखरेल तथा प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका छोराहरु समेतको संलग्नतामा महंगोमा कोरोना स्वास्थ्य सामग्री खरिद गरिएको समाचार उक्त साइट डेभलपर र डिजाइनको काम गर्दै आएको शिरान टेक्नोलोजिज प्रा.लि.ले अनाधिकृत रुपमा हटाएको समाचार प्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।   

संघका अध्यक्ष शिवप्रसाद सत्यालद्वारा जारी विज्ञप्तिमा काठमाण्डुप्रेसडटकमको साइट डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको शिरान टेक्नोलोजिज प्रालिले समाचार पोर्टलभित्र प्रवेश गरी समाचार हटाएको काठमाण्डुप्रेसडटकमको भनाइ रहेको र शिरान टेक्नोलोजीज प्रालिको प्यारेन्ट कम्पनी एफवान सफ्ट रहेको र सो कम्पनीका सेयरधनी असगर अली प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार रहेको बताइएको छ ।   

विज्ञप्तिमा भनिएको छ–‘काठमाण्डुप्रेसडटकमले प्रकाशित गरेको ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शिर्षकको समाचारमा प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीको नाम समेत मुछिएको छ । अनधिकृत रुपमा समाचार हटाउने कार्यमा देशको कार्यकारी प्रमुखको सल्लाहकारको समेत नाम जोडिएकोले सो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर भइदिन पनि अनुरोध गर्दछौं ।’ 

संघले नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गर्न विशेष र नेतृत्वदायी भूमिका निर्वाह गरेका प्रधानमन्त्री स्वयम्का सल्लाहकारको नाम यो घटनामा मुछिँदा पनि प्रधानमन्त्रीबाट केही प्रतिक्रिया नआउँदा सम्पूर्ण अनलाइन संचारकर्मी आश्चर्यमा परेको बताएको छ । 

वेब डेभलपरले समाचार पोर्टलभित्र गएर कसैको बारेमा प्रकाशित समाचार हटाउनु आफैमा गलत कार्य भएको भन्दै संघका अध्यक्ष सत्यालले यस्तो कार्य पत्रकारितालाई नियन्त्रणमा राख्ने र संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता हनन् गरी नागरिक अधिकार कुण्ठित गर्ने प्रयासको रुपमा बुझेको बताइएको छ ।   

‘प्रकाशित समाचारमा चित्त नबुझे लिनुपर्ने बाटोको बारेमा कानुनले स्पष्ट गरेकै छ । समाचारमा कहीँ त्रुटी वा कमजोरी भए, त्यसलाई सच्याउन वा कानुनी सजाय भोग्न सम्बन्धित संचारमाध्यम तयार हुनुपर्छ । तर कानुनी उपचार खोज्नुको साटो साइटभित्र प्रवेश गरी समाचार नै हटाउने कार्य गलत भएको हाम्रो ठहर छ ।’ जारी विज्ञप्तिमा भनिएको छ । 

यो घटनालाई अनलाइन पत्रकार संघले अनलाइन संचारमाध्यमलाई नियमन र व्यवस्थित गर्ने नाउमा पत्रकारितासँग साइनो सम्बन्ध नै नभएको सुशासन ऐनमा टेकेर ल्याइएको निर्देशिकालाई आधार मान्दै विभिन्न अनलाइन सञ्चारमाध्यमलाई बन्द गर्ने गराउने र स्वतन्त्र प्रेसको मर्ममाथि प्रहार गर्ने काम भएको बताइएको छ ।   

यसका साथै संघले अनलाइन सञ्चारमाध्यमलाई माध्यम बनाएर नेपालको संविधानले प्रदान गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई धज्जी उडाउने हर्कतको भएको जनाएको छ । संघले काठमाण्डुप्रेसडटकम घटनामा छानविन गरी दोषीमाथि हदैसम्मको कारबाहीको माग गर्दै आगामी दिन यस्ता कार्य नगर्न नगराउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *