गुठी विधेयक परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन

 

असार २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक परिमार्जन गर्न निर्देशन दिएका छन् । 

गुठी विधेयकको चौतर्फी विरोध र आलोचना बढ्दै गएपछि प्रम ओलीले युरोप भ्रमणबाट फर्किए लगतै भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई विधेयक परिमार्जन गर्न निर्देशन दिएका हुन् । 

null

गत बैशाख १६ गते भुमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालले राज गुठी, निजी गुठी र सार्वजनिक गुठीलाई व्यवस्थित गर्न विद्यमान गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् । सरकारले संस्कृति मास्न खोजेको भन्दै नेवार समुदायले उक्त विधेयक खारेज गर्नुपर्ने माग राख्दै आएका थिए । 

प्रमुख प्रतिपक्षी दल लगायत अन्य दलहरुले पनि गुठी विधेयकको विरोध गरिरहेका छन् । कांग्रेसले पटक पटक यही विषय उठाउँदै संसद अवरुद्ध गरिरहेको छ । नेकपाकै कति सांसद तथा नेताहरुले पनि यसको खुलेर विरोध गर्न थालेका छन् । 

यता गुठीयारहरुले दैनिकजसो प्रदर्शन गरिरहेका छन् । आइतबार साँझ पनि काठमाडौंमा नेवार समुदायले मसाल जुलुस निकालेका थिए । गुठी सम्बन्धी संशोधन विधेयक पारित नगर्न उनीहरुले माग गरेका छन् । उक्त विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने उनीहरुको चेतावनी छ । 

यता बालुवाटार स्रोतले भने यसको समाधान गर्नतर्फ प्रधानमन्त्री आफैं लागि परेकाले अब यो समस्याको विषय नरहने बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *