चार वर्षदेखि चलेको ई–रिक्सा कसरी भयो गैरकानूनी ?

भदाै १८, विनय दीक्षित । २०७० साल देखि बाँकेमा मनोमानी ढंगबाट संचालन भइरहेका ई–रिक्सा गैरकानूनी रहेको तथ्य बारे प्रहरीले चार वर्षपछि दावी गर्दै शनिवार हंगामा मच्चाएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले संयुक्त रुपमा कारवाही गर्दै निजी सवारी साधनमा दर्ता भएका ई रिक्साहरुलाई कारवाही गर्दै ५५० ई रिक्सा नियन्त्रणमा लिएको हो ।

२०७० साल देखि नेपालगन्जमा संचालनमा आएका ई रिक्सालाई प्रहरीले झण्डै ४ वर्षपछि अवैधानिक घोषणा गर्दै नियन्त्रणमा लिर्इ कारवाही अघि बढाएको हो । विभिन्न गाबिस मार्फत गैरकानूनी रुपमा दर्ता रहेका ई रिक्साहरु करछली गर्दै सडकमा गुडीरहेका कारण कारवाही गरिएको प्रहरीको दावी छ । शनिवार सडकमा गुडी रहेका यात्री सहितका रिक्सा प्रहरी ब्यायामशालामा राखिएपछि बटुवाहरुले समस्या खेप्नु परेको छ । प्रहरीले यसअघि पनि पटक पटक यातायात कार्यालयमा दर्ता गर्न दिएको निर्देशनको अटेरी भएपछि बाध्य भएर कारवाही चलाउनु परेको जनाएको छ ।

नियन्त्रणमा लिइएको रिक्साका चालकहरुले शनिवार दिउँसो पुष्पचाल चोक स्थित प्रहरी ब्यायामशाला अगाडी हंगामा मच्चाएका छन् । उनीहरुले केहि बेर सुर्खेत रोड समेत अवरुद्ध पारेका थिए । रिक्सा चालक राम नरेश धोबीले प्रहरी कारवाहीबाट रिक्सा भाडामा लिएर चलाउनेहरु सास्तीमा परेको बताएका छन् । ‘यस्तो कारवाही त रिक्साधनीहरुलाई गर्नु पर्यो’, उनले भने, ‘ज्यालामा चलाउनेहरुलाई कारवाहीले प्रभावित बनाएको छ ।’

ईरिक्सा चलाउँदा विना नभएको, भाडाको सवारी साधनमा दर्ता नभएको, क्षमता भन्दा बढि सवारी बोकेको, सवारी चालक अनुमति पत्र नबनाएको जस्ता विषयलाई प्रहरीले यसअघि पनि उठाउँदै आएको थियो । ‘ईरिक्सा बारे प्रष्ट प्रावधान नहुँदा मनोमानी ढंगबाट उमेर नपुगेका चालकले समेत चलाउँदै आएको पाइयो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख होम बहादुर थापाले भने, ‘भाडामा दर्ता हुनु पर्ने सवारी साधन निजी रुपमा चलाउन मिल्दैन ।’

‘पटक पटक सम्झाउँदा पनि अटेरी हुँदै आएपछि कारवाही गरिएको हो, यो अचानक गरिएको कारवाही होइन’, ट्राफिक प्रमुख थापाले भने, ‘कानून बमोजिम सवारी साधन सडकमा गुडेपछि सबैलाई फाइदा हुने हुँदा त्यस्तो कार्यलाई प्राथमिकता दिइएको हो ।’ बाँकेमा ईरिक्सा दुई किसिमले चल्दै आएका छन् । कालो प्लेट भएका ईरिक्साहरु यातायात कार्यालयमा भाडाको सावरीमा दर्ता भई यात्री ढुवानी गर्न पाउने अनुमति प्राप्त गरेका छन् । सो वापत उनीहरुले कानून अनुसार लाग्ने कर समेत तिर्नु पर्ने ब्यवस्था छ ।

रातो प्लेट भएको ई रिक्साले निजी सवारी साधनमा गाबिस मार्फत दर्ता गरी संचालन गर्दै आएको खुलेको हो । ‘रातो प्लेट भएको सवारी साधनले सार्वजनिक रुपमा सवारी साधन बोक्न पाउँदैन’, ट्राफिक प्रमुख थापाले भने, ‘भाडाको सवारी साधनमा दर्ता भएपनि अन्य कानूनी प्रक्रियाहरु पनि पूरा हुन्छन् ।’ ‘चार वर्ष चलेको विषयमा हामीले पटक पटक सन्दर्भ उठाउँदै आएका छौं, सरोकारवाला निकायले रिक्साहरुलाई दर्ता गर्न समेत जानकारी दिएको थियो’, थापाले भने, ‘तर अटेरी भएकै कारण दर्ता हुन नसकेको पाइएपछि कारवाही गरिएको हो ।’

शनिवार उत्पन्न विवाद पछि साँझ भएको बैठकमा रिक्साधनी र प्रहरी विच सहमति भएको छ । सात दिन भित्र यातायात कार्यालयमा भाडाको सवारी साधनमा दर्ता गरी मात्र ईरिक्सा संचालन गर्ने सन्दर्भ तय भएको ट्राफिक प्रमुख थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *