२०७६ सालमा नेपाली चलचित्रः ५५ रिलिज हुँदा ५ ले उठाए लगानी

बैशाख १, काठमाडौं । २०७६ सालमा नेपाली मनोरञ्जन क्षेत्र विगतका वर्ष जस्तै भए । पछिल्लो दुई महिना यता कोरोना महामारीले खासगरी चलचित्र क्षेत्र पनि ठप्प भएको छ । फागुन ११ गतेबाट लकडाउन शुरु हुनु अगाडीबाटै बन्द भएका सिनेमा घरहरु कहिले खुल्ने हो थाहा छैन । कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहँदा नेपाल पनि अछुतो रहन सकेन । यो विचमा प्रदर्शनमा आउन लागेका सबै चलचित्र ठप्प भएका छन् । समग्र चलचित्र क्षेत्रमा यतिबेला शुन्यता छाएको छ ।   

२०७६ सालमा प्रदर्शनमा आएका अधिकांश चलचित्र घाटामा गए । ०७५ सालमा करिब एकसय चलचित्र रिलिज हुँदा यो वर्ष त्यसको आधा चलचित्र मात्रै रिलिज भए । त्यसमापनि औंलामा गन्न सकिने चलचित्रले मानै सफलता चाख्दा कतिपयले पानीपनि भन्न पाएनन् । केही स्टारकास्टका चलचित्र समेत सुपर फ्लप भए । यो वर्ष ५५ चलचित्र प्रर्दशन भए । जसमध्ये दाल भात तरकारी, कबड्डी–३, जात्रै जात्रा, छ मायाँ छपक्कै र आमा मात्रै सफल भए ।   

०७६ सालको सुरुवात ताकै आएको महजोडी, निरुता सिंह जस्ता कलाकारको दाल भात तरकारीले निर्मातालाई सफलताको स्वाद चखाएर नेपाली फिल्मको ब्यापारलाई गति दिएपनि समिक्षकबाट भने आशतित प्रशंशा पाएन । त्यसपछि एकसाथ प्रदर्शनमा आएका सिक्वेल चलचित्रहरु जात्रै जात्रा र विरविक्रम–२ मध्ये विरविक्रम नराम्ररी पछारियो । डार्क कमेडि जनराको जात्रैजात्रा दर्शक र समिक्षकमा नजरमा उत्कृष्ठ भयो । प्रायः चलचित्र अवार्डमा पनि जात्रै जात्राले अवार्ड हासिल गर्यो ।   

साउनमा रिलिज भएको नाइ नभन्नु ल सिरिज निर्देशक विकासराज आचार्यको ‘हजार जुनीसम्म’ पनि असफल भयो । आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की जस्ता स्टारकास्टले हजार जुनीसम्मलाई पार लगाएनन् । भदौमा आएको नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मारुनीले राम्रै ब्यापार गर्ने अपेक्षा थियो । तर, साम्राज्ञीको जादु फिल्ममा चलेन । फिल्मले लगानी सुरक्षित गर्नु परको कुरा पानी समेत पाएन ।   

अशोक शर्माले तयार पारेको रातोटिका निधारमा पनि असफल भयो । आफ्नै सुपरहिट फिल्म अल्लारेको चर्चित गीत रातो टिका निधारमा बाट नामाकरण गरीएको फिल्ममा साम्राज्ञी नै थिइन् । वर्षकै दशैं जस्तो ठूलो चाडको छेको पारेर प्रदर्शनमा आएको चलचित्र असफल भएपछि समग्र फिल्म क्षेत्र निराश भयो ।   

त्यसपछि तिहारमा आएको निश्चल र स्वस्तिमाको घामट शेरेपनि असफल भयो । श्रीमान श्रीमती नै एकैसाथ पर्दामा देखिएका निश्चल–स्वस्तिमाको जोडीले कमाल देखाउन सकेन । चलचित्रलाई समिक्षक र दर्शक दुवैले मन पराएनन् ।   

लुट, लुट–२, पशुपति प्रसाद, जात्रा, जात्रैजात्रा जस्ता सफल चलचित्र दिएका विपिन कार्की सेल्फी किङमा पछारिए । समिक्षकबाट राम्रो प्रतिकृया पाएको सेल्फी किङ दर्शकका नजरमा भने परेन ।   

यता धुर्मस सुन्तलीका नामले परिचित सिताराम कट्टेल र कुञ्जना घिमिरेले पहिलोपल्ट निर्माण गरेको सेन्टी भाइरस पनि असफल भयो । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा धुर्मुस सुन्तलीसँगै दयाहाङ राई र विल्सनविक्रम राई भएपनि फिल्म असफल भयो । राजनीतिक जनरामा बनेको फिल्मलाई समिक्षकले कमजोर भने ।   

यो वर्ष पुजा शर्माको पोइ पर्यो कालेले पनि पानी भन्न पाएन । चलचित्र पुरै असफल भयो । समिक्षक र दर्शकले आशा गरेपनि पुजा शर्माको पोइ पर्यो कालेले निराश बनायो ।   

वर्षका सफल चलचित्र 

२०७६ सालमा आएका करिब ५ चलचित्रले मात्रै सफलताको स्वाद चाखे । वर्षको शुरुमै आएको दाल भात तरकारीले सफलता पाउँदा अर्को चलचित्र जात्रैजात्राले पनि सफलता पायो । भने, दिपक दिपाको छ माया छपक्कै, रामबाबु गुरुङको कबड्डी–३, र गत फागुनमा रिलिज भएको दिपेन्द्र के खनालको आमाले मात्र सफलताका स्वाद चाखे । दिपेन्द्रको आमाले वर्षकै उत्कृष्ठ चलचित्रको समिक्षा पायो । यो चलचित्रलाई दर्शक र समिक्षकले उत्कृष्ठ भने ।   

यी फिल्म रोकिए   

कोरोना भाइरसका कारण यो वर्ष केही आशा गरेका फिल्मले रिलिज डेट सारेका छन् । करिब एक दर्जन फिल्म प्रदर्शनमा रोकिएका छन् । यहि वर्ष प्रदर्शनको मिति तोकेर प्रचारप्रसारमा लागेका लक्का जवान, म यस्तो गीत गाउँछु, नीरफुल, प्रेमगीत–३, चपली हाइट–३, बद्रीबहादुर, माइकल अधिकारी, हिजो आजका कुरा, हिरो रिर्टन्स, लप्पन छप्पन–२ ले आफ्नो प्रदर्शन सारेका छन् । सरकारले बैशाख १८ गतेसम्मका लागि सम्पूर्ण सिनेमाघर बन्द गर्ने निर्णयसँगै यी चलचित्रहरु थन्किएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *