पार्टी एकताका विषयमा एमाले र माओवादीबीच छलफल हुँदै
काठमाडौं, पुस २३ । निर्वाचन लगत्तै पार्टी एकताको प्रक्रियालाई अगाडी बढाउने बताएका एमाले माओवादी केन्द्रको पार्टी एकीकरण प्रक्रिया लम्बिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने तय भएको छ ।
हिजो हुने भनिएको छलफल हुन नसकेपछि भेटवार्ता आज तय गरिएको हो । एमाले अध्यक्ष ओली केहीदिनदेखि अस्वस्थ हुनुहुन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भरतपुर–काठमाडौ उडान रद्द भएका कारण भेट हुन नसकेको नेताहरुले बताएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार आज हुने पार्टी एकता समायोजन समितिको बैठक अगाडी प्रचण्ड र ओलीबीच भेटवार्ता तय गरिएको छ ।
प्रचण्डसँगको भेटको तयारी स्वरुप ओलीले शारीरिक कमजोरीका बाबजुद माधव नेपाल लगायत आफ्नो पार्टीका वरिष्ठ नेताहरुसँग पार्टी एकता र सरकार गठनबारे परामर्श लिइरहनुभएको छ । आज दुई दलको एकता संयोजन समितिको बैठक पनि बोलाइएको छ ।