सर्वाेत्कृष्ट काम नगर्ने ४० जना कर्मचारीहरुलाई १८ लाख नगदसहित सम्मान !

काठमाडौँ, भदौँ २२ । आज भदौँ २२ गते,‘निजामती कर्मचारी दिवस’ । १८ लाख नगद र प्रमाणपत्रसहित निजामती कर्मचारीहरू पुरस्कृत हुँदै । ‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूल नारासँगै ४० जना उत्कृष्ट निजामती कर्मचारीलाई स–सम्मानसहित पुरस्कार वितरण गरेर निजामती कर्मचारी दिवस–०७४ मनाइँदै छ । त्यस्तै, निजामती कर्मचारीहरूलाई छुट्टी समेत दिइएको छ । हरेक बर्षझै निकै तामझामका साथ उक्त दिवस मनाउँन लागिएको यो वर्ष भने कुनै कर्मचारीले उत्कृष्ट काम नगरेको भन्दै सामान्य प्रशासन मन्त्रालयले कुनै कर्मचारीलाई सर्वाेत्कृष्ट पुरस्कार नदिने घोषणा त गर्यो तर कर्मचारी बेखुसी होलान् भन्दै मन्त्रालयले ४० जना कर्मचारीलाई उत्कृष्ट पुरस्कारसहित सम्मान पनि गर्दैछ ।

विगतका वर्षमा सर्वाेत्कृष्ट पुरस्कार पाएका कर्मचारीले यो वर्ष उत्कृष्ट मात्रै काम गरेका छन् । कुनै कर्मचारीहरुमध्ये कसैले पनि सर्वोत्कृष्ट काम गरेनन् र सर्वोत्कृष्टमा कोही नपरेपछि ४० जना कर्मचारीलाई उत्कृष्ट छनौट गरेर नगदसहित पुरस्कार राशि दिन लागिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी गराए । ‘हरेक वर्ष सर्वाेत्कृष्ट काम गरेका कर्मचारीहरू यो वर्ष भने अल्छि भएछन् कि क्या हो । त्यसैले आज ४० जनाले उत्कृष्ट पुरस्कार पाउँदैछन् । सर्वोत्कृष्ट पुरस्कार त्यत्तिकै थन्कियो ।’ उनले भने ‘ निजामती कर्मचारी दिवसको अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत गर्नेलगायत कार्यक्रम पनि गर्ने गरिन्छ । यसवर्ष सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि भने कोही पनि उपयुक्त देखिएका छैनन् । आगामी वर्ष हेरौैँ ।’

सर्वाेत्कृष्ट पुरस्कार नपाएपछि

उत्कृष्ट निजामती सेवा पुरस्कारसहित एक लाख राशि पाउँनेहरुमा सहसचिव दीपक सुवेदी, सहसचिव डिल्लीराज घिमिरे, सहसचिव केवलप्रसाद भण्डारी, उपसचिव प्रेमलाल लामिछाने, महालेखा परीक्षकको कार्यालयका निर्देशक इन्द्रप्रसाद आचार्य, उपसचिव जीवनप्रसाद सेढाईं, उपसचिव जगन्नाथ बराल, उपसचिव लक्ष्मीदत्त कलौनी, उपरजिस्ट्रार प्रल्हादकुमार योगी र सहायक प्रमुख जिल्ला अधिकारी सोलुखुम्बुका अनिल खनाल रहेका छन् । यससँगै आज निजामती कर्मचारीका लागि बिदा समेत दिइएको छ । सामान्य प्रशासन मन्त्रालयले कसैले सर्वाेत्कृष्ट पुरस्कार नपाएपछि ४० जना उत्कृष्ट कर्मचारीहरूलाई छनौट गरेर प्रमाणपत्रसहित दश जनालाई जनही एक लाख राशिसमेत प्रदान गर्ने भएको छ । राम्रा र इमान्दार कर्मचारीले त्यो पुरस्कार पाउँनु त स्वभाविकै हो तर अनेक भ्रष्टचार काण्डमा मुछिएका कर्मचारीलाई मन्त्रालयले पुरस्कृत गर्नु कत्ति सम्मको जायज कुरा हो । प्रश्न यो पनि उठ्छ त्यस्ता भ्रष्ट कर्मचारीलाई सरकारले किन पुरस्कृत गर्ने ? बरु त्यो पुरस्कृत गर्न लागिएको रकम बाढीपीडितहरुकै लागि राहत दिए पनि धन्य नै हुने थियो तर सरकारको ध्यान किन त्यता जाँदैन ?

त्यस्तै, महाभ्रष्ट र कलंकको टीका लगाएका निर्वाचन आयोगका सह सचिव दीपक सुवेदी,अर्थका सहसचिव जीवनराम सेढाइलाई सामान्य प्रशासन मन्त्रालयले एक लाख राशिसहित उत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्रदान गर्ने भएको छ । विभिन्न मन्त्रालयमा हुँदा कमिसन र आर्थिक लाभका पछि लागेर निजामती कर्मचारीहरूको बदनाम गरेका उनलाई कुनै कर्मचारीले पत्याउँदैनन् । तर, आज तिनै भ्रष्ट व्यक्तिलाई राज्यले पुरस्कृत गर्दैछ । आज निजामती सेवा दिवसमा सरकारले ३ जना सहसचिवसहित १० जना कर्मचारीलाई निजामती सेवा दिवस–२०७४ को अवसरमा सो पुरस्कार हातमा थमाइदिँदै छ ।

यी हुन्, सुवेदी
यसैमध्येका एक सह सचिव हुन्, दीपक सुवेदी । विगतमा आपूर्ति मन्त्रालयमा सहसचिव हुँदा पेट्रोलियम डिलर्स एसोसियसनका पदाधिकारीहरुसँग शुभ लाभ लिएको भनी कर्मचारीले उनीमाथि लागेको आरो ‘ज्यु का त्यु’ छन् । यससँगै सुवदीलाई उत्कृष्ट पुरस्कार दिइएपछि कर्मचारीहरू कन्चटमा हात राख्न थालेका छन् । हाल, सुवेदी निर्वाचन आयोगको प्रशासनको सहसचिवमा कार्यरत रहेका छन् । तत्कालीन आपूर्तिमा हुँदा सुवेदीलाई नेपाल आयल निगमको रेखदेख गर्ने जिम्मा पाएका थिए । निगमको मातहतमा रहेर उपभोक्ताको हकहितमा काम गर्नुपर्ने बेला निगमको प्रतिनिधि बनेर सुवेदीले पेट्रोलियम डिलर्सहरुको हितमा काम गरेर शुभ लाभ हात पारेको बताइन्छ । त्यति बेला सुवेदीले विभिन्न ठाउँका डिपो प्रमुख र क्षेत्रीय प्रमुखहरुसँग आर्थिक लाभ लिएको कुरा सार्वजनिक भएसँगै कर्मचारीहरुले खुलेरै विरोध गरेका थिए ।

आपूर्तिबाट स्थानीय विकास मन्त्रालयमा सरुवा भएका सुवेदीलाई पुनः आपूर्तिमै सारिएको थियो । कहिले कता सरुवा हुने ठेगाननै हुँदैन कर्मचारी संयन्त्रमा त्यस्तै उनी रक्षामा सरुवा हुँदै हाल निर्वाचन आयोगमा झिंगा धपाउँने ड्युटीमा खटिएका छन् । अहिले तिनै कर्मचारीहरुले सुवदीलाई पुरस्कार नदिनसमेत मन्त्रालयलाई आग्रह गरेको बताइन्छ तर मन्त्रालयले कर्मचारीहरूको कुरालाई वास्ता नगरेको स्रोत बताउँछ ।

राज्यले कति पुरस्कार दिँदै ?
आज बिहीबार सरकारले तीन जना सह–सचिव,चार जना उप–सचिव, एक जना रजिष्ट्रार, एक जना निर्देशक र एक जना सहायक प्र.जी.अलाई जनही एक लाखसहित सम्मानपत्र प्रदान गर्ने भएको छ । भने बाँकी ३० जना निजामती कर्मचारीलाई जनही ५० हजार धन राशि सहित सम्मान गरिन लागिएको हो । यससँगै बिहीबार सरकारले ४० उत्कृष्ट कर्मचारीहरूलाई १८ लाख धन राशि सहित सम्मान गर्न लागिएको स्रोतले बतायो ।

खै सच्चा कर्मचारी पुरस्कृत ?
गत पुस १७ गते ताप्लेजुङमा हत्या गरिएका वनरक्षक गणेश शाहीजस्ता सच्चा निजामती कर्मचारीलाई पुरस्कृत घोषित नगरेर सरकारले लाज पचाएको कर्मचारी ट्रेड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकालले असन्तुष्टि व्यक्त गरे । खोक्लिङ रेञ्ज पोस्ट ताप्लेजुङमा कार्यरत वनरक्षक स्व.गणेश शाहीको कार्य क्षेत्रमा खटिएका बेला उनको कांग्रेसी कार्यकर्ताबाट हत्या भएको खबर बाहिरिएको थियो । यससँगै तत्काल स्व.शाहीको घरमा वनमन्त्री शङ्कर भण्डारीले समवेदना प्रकट गर्दै एक लाख राहत हस्तान्तरण गरेका थिए । बिचल्लीमा परेको स्व.शाहीकी श्रीमती पवित्रा खत्री शाहीलाई कार्यालय सहयोगी पद नियुक्ति गरिएको थियो भने,मृतक शाहीको परिवारलाई १० लाख रुपैयाँ राहत समेत दिइएको थियो । यस्ता सच्चा कर्मचारीलाई सरकारले हेलासी गरेको र भ्रष्ट कर्मचारीलाई पुरस्कार वितरण गर्दा निजामती क्षेत्रले आगामी दिनमा कसरी अघि बढ्ला भन्दै अध्यक्ष ढकालले गुनासो पोखे ।

पुरस्कार पाउँने कर्मचारीहरुको नाम हेर्न यहाँ क्लिक गर्नूस् :

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *