सभामुखका उम्मेदवार सापकोटाविरुद्ध सर्वाेच्चमा रिट

माघ १०, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेता अग्नि सपोकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभाको सभामुखका उम्मेदवार सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।   

अधिवक्ता त्रिपाठीले  व्यक्ति हत्यामा मुछिएका सापकोटालाई आइतबार सभामुखमा निर्वाचित नगर्न मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन् । सभामुख पदमा निर्वाचित गर्नबाट रोक्नुका साथै सभामुखको हाल भएको निर्वाचन प्रक्रिया समेत रोक्न रिटमा माग गरिएको छ ।   

यस्तै सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न र उनलाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई समेत कारबाही गर्न माग गरिएको छ ।   

माओवादी युद्धका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरेर हत्या गरेको आरोप सापकोटामाथि छ ।   

यस सम्बन्धी अर्को मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।   

७ गतेको सभामुखको मनोनयन दर्तामा  उनको मात्रै उम्मेदवारी परेकाले अब सापकोटा औपचारिक रुपमा सभामुख भएको घोषणामात्रै बाँकी छ । आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले उनलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्ने कार्यसूची रहेको छ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *