नेपालमा वन्यजन्तुका अंगको अवैध व्यापार बढ्यो

 

फागुन १४, चितवन । नेपालमा वन्यजन्तुका अंगको अवैध व्यापार बढेको अनुसन्धानले देखाएको छ । वन्यजन्तुको संरक्षणको क्षेत्रमा गरिएको लामो अनुसन्धानले वन्यजन्तुको अंग खासै प्रयोगमा आउने बहुमुल्य चीज नभएपनि जोखिम कम र नाफा बढी हुने भएकाले अवैध व्यापार हुने गरेको देखाएको हो । 

सरकारको स्वामित्वमा रहेर नेपालमा संरक्षणको क्षेत्रमा काम गरिरहेको तराई भू–परिधि कार्यक्रमले गरेको अनुसन्धानमा वन्यजन्तुको आखेटोपहारको खरिद–बिक्रीमा कल्पना नै नगरेको धनराशि कमाइ हुने भएकाले यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोह संलग्न रहेको पाइएको छ । 

null

रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको वन्यजन्तु अपराध र अवैध व्यापार नियन्त्रण तथा उपभोक्ता संरक्षण ऐनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा तराई भू–परिधी कार्यक्रमका फिल्ड प्रोग्राम एसोसियट प्रेम पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा ठूलो धनराशि आर्जन गर्ने योजनाका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहहरु वन्यजन्तुको अंगको अवैध व्यापारमा संलग्न रहेको उल्लेख छ । 

वन्यजन्तुको अंगको अवैध व्यापार विश्वको चौँथो ठूलो व्यापारका रुपमा विकसित भइसकेको भन्दै उनले यसको कारण अरु केही नभई ठूलो धनराशी आर्जन गर्ने माध्यम मात्र रहेको बताए । 

अन्तर्राष्ट्रिय बजारमा खरिदकर्ता थोरै रहेको भए पनि प्रयोगकर्ता र सिकारीको संख्या बढिरहेको छ । नेपालमा वन्यजन्तुतर्फ गैँडा, बाघ, सालक, चितुवा, रेडपाण्डा, भालु, मृग र चरा प्रजातिमा चिल, ध्वाँसे, अजिंगर, कछुवा, हाब्रेको सिकार हुने गरेको छ । यी वन्यजन्तुको आखेटोपहारको माग अन्तर्राष्ट्रिय बजारमा बढी रहेकाले चोरीसिकार बढेको पौडेलको भनाइ छ । 

सन् २००२ मा चितवन निकुञ्जमा ३५ वटा गैँडा मारिएका थिए । गैँडाको खागको अन्तर्राष्ट्रिय मूल्य अत्यधिक रहेकाले चोरीसिकार बढेको उनले बताए । अवैध व्यापार नियन्त्रण गर्ने क्रममा नेपालमा समय–समयमा वन्यजन्तुको आखेटोपहार बरामद हुने गरेको छ । ८९ प्रतिशत बाघको आखेटोपहार संरक्षित क्षेत्रभन्दा बाहिर बरामद हुने गरेको छ । सबैभन्दा धेरै बाघ र सालकको आखेटोपहार बरामद हुने गरेको उनले बताए । 

अवैध व्यापार बढेकै कारण नेपालसहित एसियामा १३ वर्षमा एक हजार ४०० बाघ र विश्वमा एक वर्षमा ११० वटा बाघ लोप हुँदै गएको तथ्याङ्कले देखाएको छ । विश्वमा प्रतिदिन ९६ वटा हात्तीको सिकार हुने गरेको छ । 

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवले नेपालका वन्यजन्तु विकाससँग जोडिएको भन्दै यसको संरक्षण गर्न नसके विकासमा प्रभाव पर्ने बताए । बढ्दो अपराधका कारण यिनै वन्यजन्तु संकटमा रहेको भन्दै उनले संरक्षणका लागि हातेमालो गर्नुपर्ने बताए । उनले वन्यजन्तुको अपराध अन्तर्राष्ट्रिय गिरोहसँग जोडिएकाले सतर्क हुनुपर्ने बताए । 

कार्यक्रममा प्रदेश सांसद् कृष्णप्रसाद खनालले संरक्षणलाई प्रभावकारी बनाउन मानव र वन्यजन्तुको द्वन्द्व व्यवस्थापन गर्नुपर्ने बताए । निकुञ्ज र यहाँ रहेका वन्यजन्तु जोगाउँदै गर्दा द्वन्द्व व्यवस्थापनका पक्षहरुलाई पनि निकुञ्जले विशेष ध्यान दिन जरूरी रहेको उनको भनाइ छ । 

कार्यक्रममा संघका कानुनी सल्लाहकार अधिवक्ता रामकृष्ण अधिकारीले उपभोक्ता संरक्षण ऐन २०७५ का विषयमा सहजीकरण गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *