कथा: कुनै एक सन्ध्या मेलिनासँग
“के म राम्री छैन र?” ऊ म तर्फ हेर्दै हाँस्ने चेष्टा गर्छे। म उसको यस प्रश्नको प्रत्युत्तर दिन असमर्थ हुन्छु। ऊ केहिबेर मेरा ओठहरू हेरिरहन्छे र थौरै उपेक्षाले दृष्टि भूईतर्फ झार्छे।
मेलिना राम्री छैन, मलाई अहिले ऊ वास्तवमै कुरूप लाग्दैछे। तर मेरो किशोरावस्थामा म मेलिनालाई देख्दा भुतुक्कै हुन्थे। सायद उसको यौवन, या त असम्भव आख्यानिक प्रेम-उन्माद प्रतिको मेरो अभिलाषा। अहिले धेरै कुराहरू बदलिसके, सायद त्यसैले मेरा थुप्रै परिभाषाहरू पनि फेरिए। बीचमा त्यत्रो क्रान्ति भयो। राजतन्त्र सकियो र गणतन्त्र घोषणा भयो। म त्यसताका बैँसले हुर्काउदै गरेको पठ्ठो थिए, अहिले म हिनताबोध र अस्तित्वहिनताको बोझले मुर्झाउदै लगेको एउटा निर्धो अधबैँसे। सायद कुरूपता यतैकतै बीचमा उम्रियो र उमेरको चिहान सँसँगै धर्ती भरि फैलियो। त्यो कूरोँ बिस्तारै बिस्तारै खुट्टामाथि उक्लन्छ र सुन्दरताको चियो राख्ने र आस्था बोक्ने नजरको विभत्स हत्या गर्छ। त्यसपछि सम्पूर्ण संसार कुरूप लाग्न थाल्छ।
मेलिना बिस्तारै खाटमा आफ्नो प्राण बिसाउँछे र म तर्फ फेरी नजर उकाल्दै अनुरोध गर्छे – “बस्दैनौ?”
म ढोकाको अघि उभिईरहेको हुन्छु। मलाई होश हुदैन म त्यहाँ भित्र के देख्दैछु, के हेर्दैछु। म छेउको मेचमा चुपचाप बस्छु। मानों म बोल्न थालेँ भने यथार्थ धरमराउनेछ र मेलिना र म शून्य भएर हावाबाट यसै लोप हुनेछौँ।
म कोठाको भित्ता तर्फ आँखा डुलाउँछु। खोपिको छेउमा एउटा पुरानो फ़ोटो सिसाको फ़्रेम भित्र किल्लाले झुन्डाईएको छ। मेलिनाको श्रीमान – सेकेन्ड लेफ्टिनेन्ट विमल पोखरेल फौजीको पोशाकमा। मेरो हृदयस्पन्दन एकदम रफ़्तार लिन थाल्छ, मेरा हत्केलाहरू काँप्न थाल्छन्। म बल्ल सम्झन्छु, म यहाँ एउटा स्वीकारोक्ति गर्न आएको थिएँ।
“मैले धेरै वर्ष अघि पत्रिकामा तिम्रो एउटा कविता पढेकी थिएँ। एक दुई हरफ मलाई अझै याद छ – थाहा छैन किन।”
ऊ एक निमेष एकाग्र भएर टोलाउछे र मेरा आँखाहरू पार गरेर शून्यता तर्फ चिहाउदै वाचन गर्छे-
“बिस्तारै सन्ध्या मुर्झाउदै छे
र, एउटा लामो रात हामी बीच छाउदैछ
कुनै दिन म याचना गर्दथेँ
सन्ध्यालाई अरू दुई हरफ बस भनेर
तर आज म भन्दिन….”
म उसका ओठहरूको लयात्मक आभालाई अवलोकन गर्छु, उसको वाचनले अर्थ्याएका शब्दहरूलाई महसूस गर्न खोज्छु।
“त्यो कवितामा कस्तो टिठलाग्दो नैराश्यता थियो। लाग्छ, तिमीले आफ्नो जीवनकै सबैभन्दा ख़ास व्यक्तिका लागी सो कविता कोरेका थियौ। सायद तिमी शब्दहरू कोर्दा कोर्दै रोएका थियौ।”
म कलार्थको व्यंग्य सम्झदै बोल्छु – “मैले त्यो कविता कुनै वेश्याको लागी लेखेको थिएँ। म रातभरि रक्सीले मातिएर पल्टिएको थिएँ र भोलिपल्ट बिहान मेरो डायरीमा यो कविता थियो। त्यस कविताकी पात्र म उठ्दा निस्किसकेको थिई र ऊ सँग मेरो फेरी भेंट कहिल्यै भएन। ऊ मेरा लागी ख़ास थिईन। मैले नशामा यसै कोरेँ र भोली पल्ट मलाई उसको अनुहार सम्म याद थिएन।”
मेलिनाको अनुहार क्षणमै बिवर्ण हुन्छ। तर एक निमेषमै आशातीत स्वरले ऊ बोल्छे – “त्यसो भए सायद तिम्रो कविताकी पात्र ऊ होईन। सायद तिमी मातिएको बेला तिम्रो संस्मरणमा अरू नै कोही थियो।”
ऊ एकछिन मौन भएर बस्छे मानों आफै ताजूप हुदैछे – “उसको कविताभावको पक्ष म किन लिदैछु?” आफ्नो भावनाहरू गाँसिन थाले भने सायद अर्कैका निर्जीव अक्षरहरू पनि नितान्त आफ्ना र जीवन्त लाग्न थाल्छन्।
म अब आभाष गर्छु कि मैले मेरो कविताको पृष्ठभूमि उसलाई गुत्याईँदिएर गल्ती गरेँ। मेरो कृतिले मलाई म भित्रबाट द्वेष नजरले हेर्दै गरेको तीतो अनुभव म गर्छु।
“तिमी मलाई मन पराउथ्यौ होईन?” ऊ लेस दम्भ र सन्तुष्टि मिश्रित स्वरले केही काल पछि प्रश्न गर्छे।
“अब कुनै अर्थ छ र?” म शिथिल प्रतिप्रश्न फर्काउँछु।
ऊ अब खाटबाट उठेर उसको कोठाको सानो झ्याल तर्फ पाईला बढाउछे। यस कोठा भित्र प्रकाश आउने माध्यम त्यहि एउटा नामको झ्याल छ। मेलिना आफ्नो दुर्बल शरीर लिएर यही सानो कोठीमा कति वर्ष देखि बिस्तारै आत्महत्या गर्दैछे। मलाई अकास्मात् घिन लाग्न थाल्छ। मलाई एक्कासी लाग्छ सायद क्रान्ति पछि मेलिना वेश्या भई। कोठामा एक निस्सासिदो गन्ध व्याप्त हुँदै जान्छ। कैयन रात यहाँ पौरुषका लाचार र्यालहरू मेलिनाको यो बिस्तारामा लटपटिए होलान्। कति कामवासनाले लाछी बीजहरू यी अँध्यारा कुनाहरूमा पोतिए होलान्। म वितीक्ष्ण घृणित हेराईले मेलिनाको देह ताक्छु। ऊ पछाड़ी फर्केकी छैन, एकोहोरो बाहिर हेरिरहेकी छे। मेरो हृदय एकदम व्याकुल हुन थाल्छ। म यस्तो अतियथार्थ दृष्य देख्छु – म आफू बसेको मेचबाट हठात् उठ्छु र मेच बोकेर मेलिनालाई हिर्काउछु। मेलिना केही प्रतिक्रिया दिदिन, चिच्याउदिन। मानों ऊ यही घड़ी कुरिरहेकी थिई यो उमेर सम्म। या त ऊ झ्याल बाहिरको प्रकाश चिहाउन खोज्दा खोज्दै पहिल्यै प्राण त्यागिसकेको थिई। ऊ भूईमा लड्छे। म अझै आफ्नो सम्पूर्ण सामर्थ्यले उसको टाउकोमा लगातार मेच बजारिरहन्छु। मेच भाचिन्छ, केही टुक्राहरू उछट्टिएर कोठीका भित्ताहरूमा ठोकिन्छन्। मेरा हातहरू रक्ताम्य हुदैछन् र मेलिनाको शिर बेसरी बिग्रिएको छ। उसको नाक कुचिएर मुखबाट दाँतहरू फुटेको आवाज़ म सुन्दैछु। तर पनि ममा दया वा डर अलिकति पनि पलाएको छैन। म एकसूरले मेलिनामाथि मेच बजार्दैछु, प्रहार गर्दैछु। भूई रक्ताम्य भएर रगतको खोला मेरा पाईताला मूनी बग्दैछ।
“बुझ्यौँ?”
म मेलिनाको स्वरले झस्कन्छु। मेरा खुट्टाहरूमा साँझको एक रश्मी घाम लडिबुडी गर्दैछ। मेलिनाको छाँयाले उसको सुक्ष्म अस्तित्व बिथोल्दैछ, गला दबाएर हत्या गर्दैछ। म मेरो दृष्टि उठाउछु।
“मलाई पनि तिमी मन पर्थ्यौ। तिमी हाम्रो घरको बाटो हिँडिरहन्थ्यौ। मैले अरूबाट पनि कुरा सुन्थेँ। तिमीले मलाई चिठी लेखेको, बोल्न खोजेको मलाई मन पर्थ्यो। तर तिमी तल्लो जातिको थियौ त्यसैले म आफ्नो घरानालाई धोका दिन सक्दिनथे। त्यसैले मैले तिम्रा चिठीहरूको वास्ता गरिन, प्रतिक्रिया दिईन।”
म मेलिनाका कुरा सुनिरहन्छु। ऊ बोल्दाबोल्दै फेरी खाटमा आएर बस्छे। म बाहिर मुर्झाउदै गरेको सन्ध्यालाई नै हेरिरहन्छु। मलाई अट्टहास हाँस्न मन लाग्छ।
“जब तिमी घर छोडेर माओवादी बन्यौ भन्ने सुनेँ, मलाई सत्ते दु:ख लागेको थियो। तिमीसँग एकचोटी भेट्न मन थियो, केहि बेर कुरा गर्न मन थियो। आज जसरी भेट होला भनेर आशा गर्न मैले धेरै अघि छोडिसकेकी थिए।”
म मेरो स्मृतिकी पुरानो मेलिनालाई सम्झन खोज्छु। ऊ साँच्चि नै अस्याध्यै राम्री थिई। म सोच्न खोज्छु उसको सुन्दरता कति काँचुली पश्चात यसरी परिवर्तन भयो होला? म मेरो स्मृतिकी मेलिनासँग यस आइमाईको कुनै पनि समानता भेट्दिन। सायद क्रान्तिले मेलिनालाई कुरूप बनायो। मलाई वितृष्णाले गाँज्न थाल्छ। मलाई अचानक याद हुन्छ – मेलिनाको घाँटीमा एउटा सानो कोठी थियो। मैले उसलाई त्यति नजिकबाट पहिलो र अन्तिम पल्ट देखेको थिएँ। ऊ कति सुन्दर थिई, तस्वीरकी मिम जस्ती!
मैले उसको बाटो छेक्दै भनेको थिएँ, “यो चिठीको पनि उत्तर पाइन भने सम्झनेछु तिमी मसँग कहिल्यै बोल्न चाहदिनौ।” ऊ मसँग आँखा नजुधाइकन मेरो पत्र लिएकी थिई र पछाड़ी नफर्किकन फटाफट अघि बढेकी थिई।
मैले मेलिनाको उत्तर कहिल्यै पाइनँ। त्यस पछि म एकदम बदलिएँ। अनि एकदिन घर छोडेर हिँडे र लगत्तै क्रान्तिमा होमिएँ। युद्ध गर्नेहरू गर्वका साथ भन्छन् ‘हामी देशको लागी मर्यौँ, देशकै लागी मार्यौँ।’ तर मसँग कुनै आदर्श थिएनन् र छैनन्। मलाई यो पनि थाह थिएन आफ्नो यसरी ज्यान बाज़ी राखेर म के प्रमाणित गर्न चाहन्थे। सुरूसुरूमा मेरा हत्केला त्रास र कायरताले काँप्दथे तर बिस्तारै म संवेदनाहीन जनावर हुँदै गएँ। मलाई मृत्युले उत्तेजना दिन थाल्यो, संहारले उल्लासित पार्न थाल्यो। म मतिभ्रष्ट हुँदै जाँदै थिए र युद्ध मेरा लागि मानों मेरो मानसिक स्थीरताको प्रमाणपत्र बनेको थियो। म कहिलेकाही एकारात असिन-पसिन भएर तर्सदै ब्यूझन्थेँ र मलाई एक्कासी लाग्थ्यो म भोली मर्नेवाला छु। त्यस अनुभूतिले प्राय: मनमा एक तमासको सन्तोष लाग्दथ्यो। जब युद्ध सकियो, मेरो अस्तित्वको धरातल एकदम धरमराउन थाल्यो। मेरो जीवनमा अब केही उद्देश्य थिएन, कुनै लक्ष्य थिएन। मेलिना…
“मेलिना?”
मेरो बोलावटले ऊ झस्कन्छे। ऊ म तर्फ जिल्लिएर हेरिरहन्छे मानों हामी अचानक फेरी किशोरावस्थामा पुग्यौँ। मैले मेलिनालाई उसको नामले कहिल्यै बोलाउन पाईन न त उसले कहिल्यै मेरो नामले मलाई डाक्न सकी।
“मेलिना.. म तिमीसँग एउटा कुरा गर्न चाहन्थे।” म फेरी हडबडाउन थाल्छु। मेरा हत्केला काँप्न थाल्छन्।
“सुयोग!” मेलिनाले अनायासै मेरो नाम लिन्छे। म विमुढ भएर उसलाई हेरिरहन्छु। ऊ बेगमा म तर्फ बढ्छे र मेरो ओठमा चुम्बन गर्छे। म उसको काँध समात्दै मेचबाट उठ्छु, उसलाई अरू आफु तर्फ खिच्छु। हाम्रा श्वास एकदम उत्तेजित हुन थाल्छन्। मेलिनाको छाती मेरो छातीमा समेटिन्छ। उसका औँलाहरू मेरो केशमा बेसरी कसिन्छन्। म उसको कम्मरको बान्की सुम्सुम्याउँछु, उसको पिठ्यूमा मेरा हत्केलाहरू सल्बलाउछन्। म उसको गर्दन पछाडीको केशलाई निमोठेर उसको अनुहार मबाट थोरै पर हुत्याउँछु। म उसको घाँटीको कोठीलाई हेर्छु र त्यहाँ एकोहोरो चुम्बन गर्न थाल्छु। मेलिना सुखभोगले उन्मादित हुन थाल्छे। म आँखा बन्द गर्छु र मेलिनाको वदन र सासको वासनाले व्यग्र हुन थाल्छु। मलाई अचानक लाग्छ, म भोली मर्दैछु।
मेलिनाको झ्यालबाट सन्ध्या बिस्तारै बिलाउदैछे – अँन्धकारले पूरा पर्यावरण ढाक्दैछ। अब एउटा लामो रात हामी बीच… अनि म र मेलिना दुवै मदहोश भएर आज मातिदैछौँ।