नोबेलको उपचारमा रेकर्डः एकै दिन १४ जनाको मुखबाट निकालियो पित्त नलीको ढुंगा

 

विराटनगर, २६ फागुन । नोबेल शिक्षण अस्पतालले मुखबाट ईण्डोस्कोप छिराएर एकै दिन १४ जना बिरामीको पित्त नलीको ढुंगा निकाली नयाँ रेकर्ड कायम गरेको छ । ईआरसीपी बिधि मार्फत बिना चिरफार पित्त नलीको पथरीया (ढुंगा) निकालिएको नोबेल अस्पतालले जनाएको छ ।  

एकै दिन हालसम्मकै ठुलो संख्यामा सफलतापूर्वक ईआरसीपी गरेर नयाँ रेकर्ड कायम गरिएको अस्पतालको दावी छ । नेपालमै पहिलो पटक एकै दिन यत्ती धेरै बिरामीको ईआरसीपी गरिएको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले बताए । ‘नेपालमा हालसम्म एकै दिन यत्ती धेरै संख्यामा सफलतापूर्वक ईआरसीपी गरिएको छैन ।’ उनी भन्छन् ‘यो नेपालकै नयाँ रेकर्ड हो ।’ 

null

यसअघि धुलीखेल अस्पतालले एकै दिन ११ वटा ईआरसीपी गरेको बताईएको छ । त्यसयता नोबेलले यो नयाँ रेकर्ड बनाएको डा.यादवको दावी छ । वीर अस्पतालमा कार्यरत ग्यास्ट्रो ईनटेरोलोजीष्ट डा.विवेक कुमार पुर्वेले पनि यो नयाँ रेकर्ड भएको स्वीकार गरे । यसअघि एकै दिन अधिकतम ११ वटा मात्र ईआरसीपीको रेकर्ड रहेको डा.पुर्वेले बताए । ‘एकै दिन १४ जनाको सफलतापूर्वक ईआरसीपी गर्नु नेपालमै पहिलो रेकर्ड हो ।’ उनले भने । 

नोबेलले पूर्वी नेपालमै पहिलो पटक गत पुस महिनाबाट ईआरसीपी सुरु गरेको हो । ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा सहज रुपमा निकाल्ने गरिन्छ । ढुंगालाई मुखबाटै वा आन्द्रामा लगेर छोडी दिसाको माध्यमबाट बाहिर निकाल्ने गरिन्छ । 

सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकालिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर ढुंगा निकाल्दा धेरै सहज हुँने बिरामीहरु बताउँछन् ।  

 

यसअघि पित्त नलीको ढुंगा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो । अप्रेशन गर्दा पेट र पित्त नली दुबै चिर्नुपर्छ । ल्याप्रोस्कोपिक विधिमा पनि पेटमा प्वाल पारेर पित्त नली चिरेर मात्र ढुंगा निकाल्न सकिन्छ । पित्त नली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने, संक्रमणको खतरा हुने लगायत समस्या हुनसक्ने चिकित्सकहरु बताउँछन् ।  

तर, ईआरसीपी विधिमार्फत मुखबाट ईण्डोस्कोप छिराई ढुंगालाई तानेर निकालिने हुँनाले बिरामीलाई खासै असर पर्दैन । यसबाट घाउ नहुँनाले बिरामी दुई दिनमै घर फर्कन सक्ने डा.यादव बताउँछन् । पित्त नलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउँन पनि यो विधि अत्यन्तै लाभदायी हुँने चिकित्सकहरुको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *