डीपीएलः विराटनगरलाई १० रनले हराउँदै अत्तरिया प्ले अफमा

 

फागुन ६, धनगढी । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) मा विराटनगरलाई पराजित गर्दै अत्तरियाले प्ले अफमा स्थान बनाएको छ । 

सोमबार भएको खेलमा विराटनगर किंग्सलाई १० रनले पराजित गर्दै अत्तरियाले प्ले अफमा स्थान बनाएको हो । जितसँगै ४ खेलबाट ६ अंक जोडेको अत्तरिया एक खेल अगावै प्रतियोगीताको प्ले अफमा पुगेको हो । दोस्रो स्थानको अत्तरियाले अब मंगलबार शीर्ष स्थानको काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्नेछ । हारसँगै ५ खेलबाट ४ अंक जोडेको विराटनगर भने प्रतियोगीताबाट बाहिरिएको छ । 

null

अत्तरियाले दिएको १४९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि आसिफ शेखले सर्वाधिक ३९ रन जोडे । यस्तै पृथु बास्कोटाले २७, अभिनास यादवले १४, असद उल्लाह खान पठानले १३ रन बनाए भने कप्तान करण केसी १२ रन जोडे । 

अत्तरियाका भुवन कार्की र दिपेन्द्र रावतले समान ३–३ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ३ विकेट गुमााएर १४८ रन बनाएको थियो । यो स्कोर प्रतियोगिताकै ठूलो स्कोर हो । अत्तरियाका लागि सन्नी पटेल र जय किशन कोल्शावालाले अर्धशतकीय इनिङस खेले । बिस्फोटक ब्याटिङ गरेका सन्नी अविजित ६१ रन जोड्दै डीपीएलमा अर्धशतक पुरा गर्ने पाँचौ खेलाडी समेत बने । भने कोल्शावा अर्धशतक बनाउने चौंथो खेलाडी बने । 

३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका सन्नीले अन्तिम ओभरमा किशोर महतोको बलमा २ छक्का र ३ चौका प्रहार गरेका थिए । कोल्शावाला ५१ रनमा अविजित रहे । उनले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे भने जितेन्द्र सिंह ठकुरीले १३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १० रन बनाए । 

विराटनगरका सुशन भारी र संसद शेखले समान १–१ विकेट लिए । 

विराटनगर आजको खेलमा पराजित हुँदै प्रतियोगीताबाट बाहिरिएपछि महेन्द्रनगर युनाईटेडले प्ले अफमा स्थान पाएको छ । ५ खेलबाट ४ अंक जोडेको महेन्द्रनगरले रन रेटमा विराटनगरलाई पछि पार्दै प्ले अफमा स्थान बनाएको हो । 

अब मंगलबार हुने काठमाडौं र अत्तरियाबीचको खेलपछि क्वालिफायरमा पुग्ने दोस्रो टोली र इलिमिनेटर खेल्ने टोलीको तय हुनेछ । ७ अंक जोडेको काठमाडौं भने क्वालिफायरमा पुगिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *