नाइजेरियामा लकडाउनको पालना गराउने क्रममा झडप हुँदा १८ को मृत्यु
नाइजेरिया । नाइजेरियामा लकडाउनको पालना गराउने क्रममा झडप हुँदा १८ जनाको ज्यान गएको छ । कोरोनाभाइरस सङ्क्रमण फैलिनबाट रोक्न सरकारद्वारा घोषणा गरेको लकडाउनको पालना गराउने क्रममा विभिन्न राज्यमा झडप हुँदा कम्तीमा १८ नागरिकको मृत्यु भएको नाइजेरियाको मानव अधिकारवादी समूहले बताएको छ ।
नाइजेरियाको ठूलो सहर लागोस र अबुजामा पूर्णरूपमा बन्दाबन्दी भएको छ ।
अन्य केही राज्य र शहरमा अत्यावश्यक सेवाबाहेक घरबाहिर ननिस्कन प्रशासनले नागरिकसँग आग्रह गरेको छ । सङ्क्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउनको पालना गराउन प्रशासनले प्रहरी तथा सेनासमेतलाई परिचालन गरेको छ ।
“नाइजेरियामा बन्दाबन्दीको पालना गराउने क्रममा देशका विभिन्न राज्यमा झडपका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको सङ्ख्याभन्दा बढी छ” मानवअधिकारवादी समूहले भनेको छ ।
नाइजेरियामा बिहीबारसम्म ४०७ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ भने सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
नाइजेरियाली राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय समय अनुसार बुधबार रातिसम्म आफ्नो कार्यालयमा मानव अधिकार उल्लङ्घनका १०५ घटना दर्ता गराएको छ । ती अधिकांश घटनामा सुरक्षाकर्मीबाट अनावश्यक बल प्रयोग गरिएको दावी गरिएको छ ।
“मुद्दामध्ये विभिन्न आठस्थानमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेकोले १८ जनाको मृत्यु भएको हो,” आयोगले भनेको छ । एजेन्सी