किसानको गुनासोः ‘सरकार ‘लकडाउन’ले हाम्रो तरकारी खेतमै कुहियो’

वैशाख ६, विराटनगर। महँगो तरकारी  दैनिक किन्नु पर्दा शहरवासी हैरान छन्। ‘लकडाउन’को कारण अहिले शहरीया जीवन अझ असहज बनेको छ। बजारमा सहजरुपमा तरकारी उपलब्ध हुन सकेको छैन। कम आम्दानी भएका मानिसहरूले तरकारी खानसमेत पाएका छैन।   

तर किसानको खेतबारीमा भने तरकारी निर्यात हुन नसक्दा सडेर खेर जान थालेको छ। खेतमा राम्रोसँग फलेको तरकारी खेर जाने भएपछि किसान चिन्तित छन्। कटहरी-४ नयाँ बजारस्थित कोपिन्द्र सिंहले ‘लकडाउन’को कारण तरकारी निर्यात हुन नसक्दा खेतबारीमै खेर जान थालेको सुनाए।   

उनले चार विगाहा जमिनमा मौसमी तरकारी खेती गरेका छन्। अहिले उनको खेतमा लटरम्म टमाटर, बोटले थेग्न नसक्ने लौका फलेको छ। यसअघि तरकारी उठाउन खेतबारीमा पुग्ने ग्राहक कोरोना भाइरसको भयले आउन छोडेपछि लगानी उठाउन अप्ठ्यारो भएको सिंहले बताए। यस्तो समयमा सरकारले समेत सहयोग नगरेको उनको भनाइ छ।    

उनले भने, ‘संकटको यो समय भारतको तरकारीमा सरकारको आँखा पुग्यो। तर आफ्नै माटोमा उत्पादन भएको तरकारी देखेन।’ सिंहका अनुसार एक कट्ठामा तरकारी खेती गर्दा २० देखि ३० हजार खर्च लाग्छ। उनले पाँच जना कामदार पनि राखेका छन्। कोरोनाको यस्तो संकटमा तरकारी निर्यात नभएपछि आफ्नो र कामदारको खर्च कसरी धान्ने भन्ने चिन्ताले सताउन थालेको उनले सुनाए। 

कोपिन्द्रको जस्तै व्यवसायीक तरकारी खेती गरिरहेका नवीन सिंहको चिन्ता यही छ। दश कट्ठा जमिनमा तरकारी खेती गरिरहेका सिंहको खेतबारीमा अहिले टमाटर, बन्दा, बेगुन लगायतका तरकारी फलेका छन्। तर ‘लकडाउन’को कारण उनको खेतबारीबाट पनि तरकारी निर्यात हुन सकेको छैन। उत्पादन भएको तरकारी अहिले खेतमै कुहेर नष्ट हुन लागेको उनले बताए।   

संकटको बेला भारतबाट दैनिक तरकारी भित्र्याएर आफ्नो देशमा उत्पादित तरकारीलाई बेवास्ता गरिरहेकोमा सरकारप्रति उनले पनि असन्तुष्टि पोखे। विराटनगरको बजारमा भारतको तरकारी उपभोग भइरहँदा स्थानीय स्तरमा उत्पादन भएको तरकारी विराटनगर पुग्न किन नसकेको ? उनले प्रश्न गरे।    

सोही ठाउँका ४० वर्षीया कृषक सञ्जय सिंहको पनि दुखेसो उही छ। उनले अढाई विगाहामा तरकारी खेती गरेका छन्। पाँच जना परिवार यही व्यवसायमा छन्। लामो समय देखिको ‘लकडाउन’ले तरकारी बिक्र नभएपछि खेतबारीमै कुहेर जान थालेको उनले सुनाए। उनी भन्छन्, ‘यो समय टमाटरको मौसम हो, लकडाउनले गर्दा बजारमा निर्यात गर्न पाएको छैन, दश गाडी जति टमाटर खेतैमा छ।’ 

सरकारले स्थानीय तरकारीलाई विराटनगरसँगै अन्य स्थानमा निर्यात गर्न दिए, उपभोक्ताले तोकेको रकममा आफू तरकारी दिन तयार रहेको कटहरी-४ नयाँ बजारमा भेटिएका कृषकहरूको भनाई छ। अधिकांश किसानहरूले स्वदेशमा उत्पादित तरकारीको बजारी करणमा सरकारले पहल नगरेको भन्दै असन्तुष्टि जनाए।    

कटहरीका किसान गङ्गा सिंहले कृषि विकास बैंकबाट आठ लाख रुपैयाँ रिण लिए तरकारी व्यवसाय गरिरहेको सुनाए। ‘लकडाउन’ले तरकारी बिक्री हुन नपाएपछि बैंकको किस्ता कसरी तिर्ने चिन्ताले सताउन थालेको उनले बताए। भारतबाट दैनिक निर्यात हुने तरकारी केही हद रोकेर स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने व्यवस्था सरकारले गरिदिएको भए आफूहरूलाई राहत हुने उनको भनाइ छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *