पुनर्वास नगरपालिकाका मेयरका छोराद्वारा फिल्म हल सञ्चालकमाथि कुटपिट

कात्तिक १८, पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयरका छोराले फिल्म हल सञ्चालकलाई निर्घात शुक्रबार कुटपिट गरेका छन् । पुनर्वासका मेयर जीवन राज थापाका माइला छोरा देबेन्द्र थापा लगायतको समूहले पूर्णलक्ष्मी चलचित्र मन्दिर सञ्चालक रविन्द्र विश्वकर्मामाथि निर्घात कुटपिट भएको हो । 

हलमा फिल्म हेर्न जाने क्रममा एक जनाको टिकटमा ५–६ जनालाई निःशुल्क प्रवेश दिनु पर्यो भन्दै मेयरका छोरा थापा लगायत ५–६ जनाले दादागीरी शैलीमा आएर आफूलाई कुटपिट गरेको फिल्म हल सञ्चालक विश्वकर्माले बताए । 

‘एउटाको टिकटमा ६–७ जना छिर्न खोज्दै थिए, मैँले निषेध गर्न खोज्दा, “म को हुँ थाहा छ ? मेयरको छोरो हुँ” भन्दै उनीहरु म माथि खनिए ।’ उनले भने, ‘सत्ता र शक्ति छ भन्दैमा जसलाई जे गर्दा नि हुन्छ र ?’ 

null

उनले झगडाका कारण करिब दुई सय पचास दर्शक फिर्ता भएको जिकिर गरे । उनले दोषी उपर अनुसन्धान गरी कडा कारवाहीको माग गर्दै विश्वकर्माले भने, ‘आज ममाथि आक्रमण भएको छ, भोलि अर्कोमाथि पनि हुनसक्छ, दोषी उपर कानून बमोजिमको कारबाही हुनैपर्छ ।’ 

टिकटको विषयमा विवाद चुलिएपछि साढे आठ बजेतिर चलचित्र हल परिसर भित्रै थापा र विश्वकर्माबीच कूटपिटको अवस्था सिर्जना भएको अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.का इन्चार्ज प्रहरी सहायक निरीक्षक खड्कजङ्ग शाहीले बताए । 

‘चोट दुबै पक्षलाई लागेको र दुबै पक्षबाट इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा निवेदन दर्ता भएको छ’ प्रहरी सहायक निरीक्षक शाहीले भने, ‘फिल्म हल सञ्चालक विश्वकर्माको निधारमा चार टाँका लागेको छ ।’ 

पुनर्वास नगरपालिकाका मेयर जीवन राज थापाले आफू महेन्द्रनगर रहेको र घटनाको विषयमा बिहान मात्रै थाहा पाएकोले के भएको भन्न नसक्ने बताए । उनले छोराहरूले गल्ती गरेको देखिए उनीहरूलाई कारवाहीका लागि कसरी अगाडी बढ्ने विषयमा छलफल भईरहेको बताउँदै घटना सामान्य भएको जिकिर गरे । ‘मेयरको छोरासँग झगडा नै हुन्न भन्ने हुँदैन, पास माग्ने विषयमा सामान्य भनाभनमा हल सञ्चालकले सुरूमा हातपात गरेपछि झगडा भएको रहेछ, यो विषयलाई ठूलो नबनाउँ ।’ उनले मकालु खबरसँग भने । 

यता हल सञ्चालकले भने आफुमाथि ५–७ जनाको समुहले निर्घात कुटपिट गरेको भन्दै कारवाहीको माग गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *