सरकारले किन्यो डब्ल्यूएचओले सिफारिस नगरेका -यापिड टेस्टिङ किट, चौतर्फी आलोचना

चैत १९, काठमाडौं । सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सिफारिस नगरेका -यापिड टेस्टिङ किट किनेको खुलेको छ । 

डब्ल्यूएचओले सिफारिस नगरेका -यापिड टेस्टिङ किट किनेको खुलेसँगै फेरी सरकारको आलोचना भएको छ । सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै धेरै मुलुकमा आलोचना भएका -यापिड टेस्टिङ किट किनेपछि त्यसमाथि चौतर्फी प्रश्न उठेको हो ।   

चीनमा बनेका त्यस्तो किटले १० देखि १५ मिनटमै कोरोना भाइरस (कोभिड-१९) पत्ता लगाउन सक्छ । तर त्यसको परिणाम भरपर्दो हुँदैन । यीनै -यापिड टेस्टिङ किट सरकारले चीनबाट सात करोड रूपैयाँभन्दा बढी लागतमा ७५ हजार किनेको हो ।   

विज्ञहरूका अनुसार यी -यापिड टेस्टिङ किट भरपर्दा होइनन् । यसबाट जाँच गर्दा संक्रमित व्यक्तिको नतिजा पनि नेगेटिभ देखाइदिने भएकाले संक्रमितहरू समुदायमा जाने र त्यसले अर्को खतरा निम्त्याउन सक्छ ।   

विज्ञहरूको परामर्शबिनै हतारमा टेस्टिङ किट  ल्याएको जनस्वास्थ्य विज्ञ समिरमणि दीक्षितले बताए । उनका अन’सार विश्वभर अहिले यो टेस्टिङ किटले सही नतिजा दिन नसकेको गुनासो छ । आफू स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको प्राविधिक टोलीमा रहे पनि यसबारे कुनै छलफल नभएको उनको गुनासो छ ।   

विज्ञहरूको परामर्शबिनै यस्ता सामग्री ल्याएको भन्दै सरकारको चर्काे आलोचना भएको छ । सामग्री खरिदमा अनियमितता गरेको सरकारले अर्काे गल्ती गरेको भन्दै चौतर्फी आलोचना भएको हो ।   

आलोचना बढ्दै गएपछि सरकारले ती किट नचलाउने प्रतिक्रिया दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले ती  टेस्टिङ किट प्रयोग गर्ने कुनै योजना नरहेको बताए । ‘मलाई टेस्टिङ किट ल्याएको थाहा छैन,’ उनले भने, ‘हामीले -यापिड टेस्टिङ किट अहिलेसम्म प्रयोग गरेका छैनौं र प्रयोग गर्ने कुनै योजना पनि छैन ।’ 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि सरकारलार्ई -यापिड टेस्टिङ किट खरिद गर्न नसुझाएको जनाएको छ । आफूहरुले प्रयोगशालाको मेसिनलाई चाहिने रिएजेन्टको सूची मात्र पठाएको भन्दै प्रयोगशालाकी निर्देशक डा. रूना झाले टेस्टिङ किट किन्न भनेर सुझाव नदिएका दाबी गरिन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *