चितवनमा दुई उम्मेदवारले बुझाए खर्च विवरण

भरतपुर, पुस १५ । चितवन जिल्लाका प्रदेशसभाका दुई उम्मेदवारले निर्वाचन कार्यालय भरतपुरमा चुनावको खर्च विवरण बुझाएका छन् । चितवनमा चुनावको खर्च विवरण बुझाउनेमा पहिलो उम्मेदवार रामचन्द्र तिमिल्सेना बनेका छन् ।

उनी विवेकशील साझा पार्टीबाट चितवन क्षेत्र नम्बर २ को प्रदेश २ बाट उम्मेदवार बनेका थिए । उनले पुस १३ गते निर्वाचन कार्यालय भरतपुरमा गएर खर्च विवरण बुझाएको बताए । उनले भने, ‘विवेकशील साझा पार्टी कतै अवज्ञा गर्दैन, कतै मनोमानी गर्दैन । जुन काम पनि समयमै गर्छ ।’ उनले जनताप्रति इमान्दारी रहन र विश्वासी बन्न हरेक उम्मेदवारले जुनसुकै काम समयमै गर्नुपर्ने सुझावसमेत दिए । ‘आयोगको समय त अझै बाँकी छ, तर मैले समयमै बुझाएँ’ उनले भने, ‘खर्च विवरण बुझाउने उम्मेदवारमा पहिलो हुन पाउँदा खुसी लागेको छ ।’

उनले ८१ हजार ६७० रुपैयाँको खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । निर्वाचन आयोगले प्रदेश उम्मेदवारलाई चुनावमा १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको थियो । उम्मेदवार तिमिल्सेनाले प्रचारप्रसार सामग्रीमा २५ हजार, सवारी साधनको इन्धनमा ११ हजार ७०० लगायत विविध शीर्षकमा बिलभर्पाइसहित खर्च विवरण बुझाएका छन् ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम खर्च विवरण बुझाएको उनले बताए । त्यस्तै चितवन क्षेत्र नम्बर २ को प्रदेश १ बाट विजयी भएका उम्मेदवार घनश्याम दाहाल ‘अविनाश’ले पनि निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छन् ।

वाम गठबन्धनबाट उम्मेदवार बनेका अविनाश चितवनमा चुनावी खर्च विवरण बुझाउने दोस्रो उम्मेदवार हुन् । उनले पुस १४ गते आफ्नो चुनावी खर्च ४ लाख ५० हजार १७ रुपैयाँ आयोगमा पेश गरेका छन् । उनले सवारी साधनमा १ लाख १७ हजार, गोष्ठी कार्यकर्ता छलफलमा १ लाख ६३ हजार खर्च भएको विवरण बिलभर्पाइसहित आयोगमा बुझाएका छन् ।

त्यस्तै उनले प्रतिनिधि परिचालनमा, प्रचारप्रसार सामग्रीमा, मतदाता नामावलीमा लगायत अन्य विविध शीर्षकमा खर्च भएको विवरण बुझाएका छन् । प्रदेश र प्रतिनिधि गरी चितवनमा ९५ जना उम्मेदवार थिए । ९५ जनामा हालसम्म जम्मा दुईजनाले मात्र चुनावको खर्च विवरण आयोगमा बुझाएका छन् ।

‘चुनावको नतिजा निश्केको ३५ दिनभित्रमा चुनावको खर्च विवरण पेश गर्नुपर्छ तर चितवनमा दुई जनाले मात्र खर्च विवरण बुझाउन आएका छन्’ निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले भने, ‘आयोग अरु उम्मेदवारलाई पनि समयमै खर्च विवरण बुझाउन आग्रह गर्दछु । ’‘खर्च विवरणको फाराम उम्मेदवारहरुले लगेका छन् । हामी खर्च विवरण लिनको लागि पर्खाइमा बसिरहेका छौँ’ उनले भने ।

उम्मेदवारले बुझाएको खर्च विवरणमा कुनै शंका लागे आयोगले छानविन गर्न सक्नेछ । ‘हामीले जिल्लामा केही गर्ने अधिकार छैन, उम्मेदवारले जस्तो खर्च विवरण बुझाउँछन्, हामीले त्यस्तै निर्वाचन आयोगमा पठाउँछौँ । उम्मेदवारको खर्च सूचीमा कुनै शंका लागे आयोगले छानविन गर्छ’ निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले भने, ‘आयोगले सुक्ष्म अनुगमन पनि गर्छ, त्यसबारेमा हामीलाई जानकारी हुँदैन ।

’कसले कति सुनाए खर्च ?

यसअघि चितवन क्षेत्र नम्बर १ का प्रतिनिधितर्फका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले आफ्नो चुनावी खर्च २४ लाख ९५ हजार खर्च भएको बताएका थिए ।त्यस्तै चितवन क्षेत्र नम्बर १ का विजयी उम्मेदवार सुरेन्द्र पाण्डेले आफ्नो चुनावी खर्च २०/२२ लाखमात्र भएको बताएका थिए । चितवन क्षेत्र नम्बर २ मा प्रदेशबाट विजयी भएका कृष्णप्रसाद खनालले चुनावमा १२/१३ लाख खर्च भएको बताए ।चितवन क्षेत्र नम्बर १ को प्रदेश १ बाट विजयी भएका दावादोर्जे लामाले पनि यसअघि चितवन पोष्टसँग चुनावमा जम्मा दुई चारलाख मात्र खर्च भएको दाबी गरेका थिए ।

क्षेत्र नम्बर ३ को प्रदेशतर्फ विजयी भएका कृष्ण भुर्तेलले पनि आयोगको सीमाभन्दा कम खर्च भएको बताए । चितवन क्षेत्र नम्बर २ को प्रदेशबाट पराजित भएका जीतनारायण श्रेष्ठले आफ्नो जम्मा ८/९ लाखमात्र खर्च भएको बताएका थिए । राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले निर्वाचन आयोगले तोकेको सीमा ननाघी आफूले खर्च गरेको बताएका थिए ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी खर्च १५ लाख ३० हजार ३०० भएको बताइएको थियो । क्षेत्र २ कै प्रदेश २ बाट उम्मेदवार भएका प्रकाश अधिकारीले चितवन पोष्टसँग यसअघि नै आफ्नो जम्मा ५/७ लाखमात्र खर्च भएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *