नाकामा पर्यटकलाई तानातान गर्नेलाई कारबाही गरिने

माघ १०, काकँडभिट्टा । पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्नेलाई कारबाही गरिने भएको छ। 

काँकडभिट्टाबाट काठमाडौँ, लुम्बिनी, पोखरालगायतका स्थानमा जाने रात्रि तथा दिवाकालीन बस सेवा सञ्चालित छन्। ती बस सेवाका लागि यात्रु र उनीहरुका झोला बसपार्कमा तानातान गरिँदै आइएको छ। स्थानीय आँखा अस्पताल र होटल लजका लागि ग्राहक बनाउनसमेत नाकामा पर्यटकलाई जबर्जस्ती गर्ने गलत प्रवृत्ति छ। 

अब कसैले पर्यटकलाई तानेर हैरानी दिएको फेला परेमा कानूनबमोजिम कारबाही गर्न सर्वपक्षीय सहमति जुटाइएको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले जानकारी दिए। उनका अनुसार होटल व्यवसायी, यातायात व्यवसायी, प्रहरी प्रशासन, स्थानीय सामाजिक स‌घसंस्थालगायतका प्रतिनिधिको छलफलले त्यस्तो तानातान प्रवृत्तिको अन्त्य गर्ने र कसैले अटेर गरेमा प्रहरीमार्फत कानूनी कारबाही चलाइने निर्णय गरेको हो। 

भूटान, बंगलादेश र म्यान्माका पर्यटक सोझै काँकडभिट्टा आएर पर्यटकीय गन्तव्य लुम्बिनी, पोखरा र सोलुखुम्बुसम्म पुग्ने गर्छन्। कोलकाता, सिक्किम, दार्जिलिङ र भूटानका पर्यटकले बसयात्रा गर्नका लागि काँकरभिट्टा बसपार्क एकमात्र विकल्प हो। नेपाल भ्रमण वर्ष २०२० चलिरहेको हुँदा पर्यटकलाई स्वागत गरिने नाकामै तानातान गर्ने असभ्य शैलीलाई हटाउने सर्वपक्षीय निर्णयलाई ग्रीन जेनेरेसन झापाका अध्यक्ष एवं पर्यटन अभियानकर्मी अर्जुन कार्कीले सकारात्मक कदम भएको बताए। ‘पर्यटकलाई स्वागत र सम्मान गर्नुपर्दछ। तर, बसपार्क र नाकामै तानातान हुनु लज्जास्पद अवस्था थियो’, उनले भने। 

काँकडभिट्टा बसपार्क र मूलगेटमा रहेको तानातान प्रवृत्ति हटाउन विगतदेखि प्रयास भइरहेको थियो। बसपार्कमा कमिसन एजेन्टले र मूलगेटमा केही आँखा अस्पतालले खटाएका प्रतिनिधिले प्रहरीको आँखा छलेर भारतबाट भित्रिएका पाहुनालाई आफ्नातिर लैजान जबर्जस्ती गर्दै आएका थिए। होटल र लजले समेत एजेन्ट खटाएर बसपार्क र मूलगेटमा पर्यटक तान्ने कार्य गर्दै आएका थिए। 

मान्छे तानातानको धन्दाले नेपाल घुम्न आउने पर्यटक, उपचारका लागि आउने बिरामी र भारत घुमेर फर्कने नेपालीलाई निकै सकस हुने गरेको थियो। जनगुनासो बढेपछि स्थानीय सरकार र प्रहरीले तानातान प्रवृत्ति हटाउन बल्ल अग्रसरता देखाएको छ। 

काँकडभिट्टा पर्यटक प्रवेश गर्ने महत्वपूर्ण नाका भएको हुँदा यहाँ आउने हरेक विदेशी पाहुनालाई मैत्रीपूर्ण व्यवहार गर्न वडाध्यक्ष तामाङले सबै व्यवसायीलाई आह्वान गरेका छन्। काँकडभिट्टा नाकाबाट २८ मुलुकका पर्यटक नेपाल भित्रिने गरेका छन्। सर्वपक्षीय निर्णयको कार्यान्वयनपछि उनीहरुले चाहेको होटलमा बस्न पाउने, गाडीमा चढ्ने सक्ने र उपचारका लागि छानेर आँखा अस्पताल जान पाउने वातावरण बन्ने अपेक्षा गरिएको छ। 

मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष विना तामाङ विगतमा पनि तानातान हटाउने निर्णय भएको स्मरण गर्दै अब कार्यान्वयन पक्षमा कमजोरी गर्न नहुने धारणा राखिन्। उनले नाकामा रहेका सबै नागरिकले पर्यटनमैत्री व्यवहार सिक्नुपर्ने र पर्यटकको स्वतन्त्रतामाथि अवरोध पु¥याउन नहुने बताए। 

बसपार्क क्षेत्रमा अव्यवस्थित पार्किङ, फोहरमैला र पर्यटक तानातान नगर्न पहिलो चरणमा माइकिङमार्फत सूचना गर्ने र यात्रुहरुलाई अशिष्ट र अभद्र व्यवहार गरेको पाइएमा कानूनअनुसार कारबाही गरिने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए। उनले दोषीमाथि अभद्र व्यवहारसम्बन्धी कानून आकर्षित हुने बताए। रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *