कोरोना भाइरस संक्रमण त्रासका कारण उपत्यका छाड्ने बढे, लामो दुरीका बसको टिकट नपाउँदा यात्रुहरुलाई सास्ती

चैत्र ८, काठमाडौं । कोरोना भाइरस त्रासका कारण राजधानी छाड्नेहरुको संख्या बढेको छ । सरकारले अत्यावश्यक वाहेकका सबै प्रकारका सरकारी कार्यालय, शिक्षण संस्था, विश्वविद्यालय समेत बन्द गरेपछि देशका विभिन्न स्थानबाट पढ्नका लागि राजधानी आएका विद्यार्थीहरु घर फर्कन थालेका छन् ।   

चैत्र मसान्तसम्म सरकारले विदा घोषणा गरेपछि तथा चैत्र १० गतेदेखि लामो दुरीका सवारी साधन चलाउन समेत रोक लगाएपछि नयाँ बसपार्कमा टिकट काट्नेहरुको भिड लागेको छ ।   

खासगरी लामो दुरीमा सवारीको टिकट लिनेहरुको भिड लागेको हाम्रा संवाददाताले जनाएका छन् । राजधानीबाट पूर्वपश्चिम जाने दिवा तथा रात्रीकालिन बसहरुको टिकट पाउन यात्रुहरुलाई समस्या परेको छ ।   

टिकट पाउनै समस्या 

सरकारले लक डाउनको घोषणा गरेसँगै उपत्यका छाड्नेहरुको भिड लाग्दा सार्वजनिक सवारीको टिकट पाउन पनि धौधौ परेको छ । नयाँ बसपार्क, कोटेश्वर, कलंकीबाट यात्रुहरुले सर्वसुलभ टिकट नपाएको गुनासो गरेका छन् ।   

कतिपय सवारीसाधनले मौकाको फाइदा उठाउँदै तोकिएको भाडा भन्दा दोब्बर लिएको गुनासो बढेको छ । खासगरी लामो दुरीका सवारीधनहरुले सरकारले तोकिएको भाडा भन्दा चर्को भाडा लिएको यात्रुहरुले बताएका छन् । काठमाडौंबाट धरान, इटहरी, काकडभिट्टा, इलाम, ताप्लेजुङ, पोखरा, बुटबल, दाङ, भैरहवा, लुम्बिनी, बाँके बर्दिया, कञ्चनपुर जस्ता लामो दुरीमा चल्ने वसहरुको टिकटमा कालोबजारी भइरहेको छ ।   

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो मात्रै उपत्यकाका विभिन्न नाका हुँदै १ लाख ३० हजार ८ सय २२ यात्रु बाहिरिएका छन् । चैत्र ६ गते १ लाख ८ हजार ४ सय ५८ यात्रु बाहिरिएका थिए भने, चैत्र ५ गतेपनि ९५ हजार २ सय ४७ यात्रुहरु बाहिरिएका छन् ।   

तीन दिन यता राजधानी छाड्ने सर्वसाधारणहरुको चाप बढेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *