ढुंगामा विभिन्न आकृति कोर्दै ‘जैविक विविधता पार्क’ बनाउने तयारी
वैशाख १, धरान । परापूर्वकालदेखिको व्यापारिक केन्द्र थियो सुनसरीको फुस्रे । पहाडी क्षेत्रबाट मानिसहरुले कृषिजन्य वस्तुहरु बिक्रीका लागि ल्याउने र दैनिक उपभोग्य वस्तुहरु लिएर जाने थलोका रुपमा परिचित पनि छ, फुस्रे ।
अहिले पहाडी क्षेत्रमा सडक पूर्वाधारको विकास भएपछि व्यापारिक केन्द्र रहेको फुस्रे इतिहासमा मात्रै सिमित बन्न पुगेको छ ।
null
वि.सं. २०३४ सालमा धरान–धनकुटे सडक सञ्चालनमा आएपछि फुस्रेमा चहलपहल घट्यो । ओझेलमा पर्यो फुस्रे अनि खडेरीको रुपमा परिणत हुन पुग्यो । स्थानिय बुढापाकाहरुको कथामा सिमित छ अहिले फुस्रे । उनीहरु फुस्रेबाट किनमेल गरेर पहाड उक्लिएको कथा मात्रै सुनाउन सक्छन् ।
यद्यपी सुनसरीको धरान आफैंमा एक विकसित सहरको हुँदै गएको छ । यसको पछिल्लो उदाहरण हो, धरान –१३ को फुस्रेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने वडा कार्यालयले अघि सारेको योजना ।
पछिल्लो समय जहाँ १३ नम्बर वडामा पर्यटक भित्र्याउन वडा कार्यालय जुर्मुराएको देखिन्छ । यति मात्र नभई फुस्रेको त्यही बिरासत फर्काउन अहिले त्यस क्षेत्र–वडाले धरान–२० र १३ नम्बर वडाको संगम स्थल फुस्रेलाई ‘जैविक विविधता पार्क’ बनाउने काम सुरु गरिसकेको छ ।
सर्दुजलाधार क्षेत्रभित्र पर्ने यो ठाउँलाई प्राकृतिक सौन्दर्यले भरिपूर्ण बनाउने उद्देश्यले प्राकृतिक रुपमा नै पार्कको रुपमा विकास गर्ने वडाको योजना रहेको वडा नम्बर १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले जानकारी दिए ।
फुस्रेको छेवैमा ओसो ध्यान केन्द्र पनि छ । यस्तै, सप्तकोशीको भिमनगर पुल बनाउनको लागि प्रयोग गरिएको ऐतिहासिक धिर्नीको भग्नावशेष समेत यहिँ देख्न पाइन्छ ।
धरानको मुख्य पानीको स्रोत समेत तिनै स्थान भएकोले सर्दुजलाधार क्षेत्रको संरक्षण गर्दै पुल आसपासको क्षेत्रलाई पार्कको रुपमा विकास गरेर वडाको आर्थिक स्रोत बढाउने योजना रहेको वडाध्यक्ष काफ्लेको भनाइ छ ।
‘कुनै समय फुस्रे पूर्वाञ्चलको व्यापारीक केन्द्र थियो, तर अहिले शून्य अवस्थामा छ’ वडाध्यक्ष काफ्लेले भने, ‘अब फेरी फुस्रेको पुरानो इतिहास ब्यूताउँनका लागि जैविक विविधता पार्कको अवधारणा अघि सारेका छौं ।’
आन्तरिक पर्यटकको मुख्य गन्तव्य बनाउन वडा नम्बर १३ ले २ लाख रुपैयाँको लागतमा खोलामा भएका ढुङगालाई विभिन्न जनावरको आकृति दिने कार्यको शुरुवात समेत गरिसकेको छ ।
‘सर्दुखोलाको ढुङगामा पहिलो चरणमा अजिंगर, हाँस र भ्यागुताको आकृति बनाउने काम धमाधम हुँदैछ । चराचुरुङगी, किरा फटेङग्रा, विभिन्न भगवानको मुर्ति, देशका नेताको सालिक बनाउने समेत योजना रहेको वडाध्यक्ष काफ्ले सुनाउँछन् ।
प्राकृतिक रुपमा नै चराचुरुङगी, जनावर, किरा फटेङग्रा, बनस्पती, रुख विरुवा भएकाले विद्यार्थीहरुको लागि जीव तथा बनस्पती विज्ञानका विषयमा अध्ययन गर्ने अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य पनि रहेको छ ।
सर्दुजलाधार क्षेत्रमा पर्ने पक्कि पुल, ओशो आश्रम, घिर्लिङको भग्नावशेष लगायतका क्षेत्र आसपासलाई ‘जैविक विविधता पार्क’ को रुपमा विकास गर्ने परिकल्पना समेत गरिएको छ ।
धरान–४, १३ र २० नम्बर वडामा पर्ने सर्दुजलाधर क्षेत्रको सिमाङ्कन गरेर संरक्षण गर्दै आरक्षणको रुपमा विकास गर्ने बताइएको छ ।
धरानको मुख्य चोक भानुचोकबाट करिब डेढ किलोमिटरको दुरीमा फुस्रे पुग्न सकिन्छ । फुस्रे चोकबाट करिब ३ सय मिटरको दुरीमा छ पार्क ।
पार्कमा बर्खाको समयमा पौडी खेल्नेहरुको भिड नै लाग्ने गरेको स्थानीय ५७ बर्षिया मनमाया राई बताउँछिन् ।
धरानका आर्ट अफ भिलेजका मुर्तिकार तथा चित्रकारद्वाय जीवन पौडेल र धिरज राईले ढुङगामा अजिंगरको आकृति उतारिरहेका छन् । आकृति उतारेको हेर्न आउनेको पनि उतिकै भीड लाग्न थालेको छ ।
प्रारम्भिक चरणको योजना अनुसार ३ वटा जनावरको आकृति दिने काम भएको मुर्तिकार जिवन पौडेलले बताए । पौडेलले गत चैत १२ गतेबाट मूर्ति कुद्ने काम सुरु गरेको जानकारी दिँदै अझ ४ देखि ५ दिन लाग्ने बताए ।‘जैविक संरक्षण क्षेत्रमा हामीले अहिले जोडी अजिङ्गगर बनाउने काम गर्दैछौँ । यसपछि हाँस र भ्यागुता बनाउछौं’, पौडेलले भने ।
ढुंगाका विभिन्न आकृतिले उक्त ठाउँको सौन्दर्य थपिने तथा पर्यटक भित्रिने, आर्थिक उन्नती हुने स्थानीयको विश्वास छ ।