प्रदेश ६ र ७ को पनि बैठक शुरु, धनगढी र सुर्खेतमा रौनक
धनगढी, माघ २१ । प्रदेश नम्बर ७ को प्रदेशसभा बैठक धनगढीस्थित जिल्ला समन्वय समितिमा राखिएको प्रदेशसभाको हलमा शुरु भएको छ । बैठकको अध्यक्षता ज्येष्ठ सांसद दिव्येश्वरी शाहले गरेकी छन् ।
सभामा नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भीम रावल र माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचित लेखराज भट्ट अतिथिका रुपमा सहभागी भएका छन् ।
सभामा पहिलो धारणा राख्दै नेकपा एमालेका सांसद प्रकाश बहादुर शाहले ७ नम्बर प्रदेशलाई देशकै समृद्ध प्रदेश बनाउन अग्रसर हुनुपर्ने बताए । ७ नम्बर प्रदेशमा जलविद्युतको प्रचुर सम्भावना रहेको बताए । उनले १० हजार मेगावाटको माथिल्लो कर्णाली, ८ हजार मेगावाटको पञ्चेश्वर र ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाले प्रदेशको मुहार फेरिने बताए ।
७ नम्बर प्रदेश यार्सागुम्बा लगायतका बहुमूल्य जडिबुटीको भण्डार रहेको भन्दै शाहले प्राकृतिक स्रोतसाधनको सही प्रयो गर परिचालनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।
एमालेका शाहपछि धारणा राख्दै नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले पश्चिम सेती जलविद्युत प्रदेशले आफ्नै स्रोत र साधनबाट बनाउनुपर्ने बताए । उनले अधिकारसम्पन्न संविधान जारी भइसकेको भन्दै अब आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए ।
नेकपा माओवादी केन्द्रका सांसद त्रिलोचन भट्टले जलविद्युतको विकास गर्न सके मात्रै ७ नम्बर प्रदेश देशकै समृद्ध प्रदेश बन्न सक्ने बताए । उनले जलविद्युतको विकासका लागि प्रदेशले आन्तरिक पूँजी परिचालन गर्नुपर्ने उनको भनाइ थियो । माओवादी सांसद भट्टले कृषिलाई आधुनिकीकरण गर्न योजना अगाडि सार्नुपर्ने बताए ।
७ नम्बर प्रदेशमा ५३ जना सांसद रहेका छन् । कार्य सूची अनुसार प्रदेशसभाको पहिलो बैठकमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने चार दलका तर्फबाट प्रतिनिधित्व गर्ने एक–एक जना सांसद बोल्नेछन् । प्रदेश नम्बर ७ मा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपा गरी चार पार्टीका ५३ जना प्रदेश सभा सदस्य रहेका छन ।
फापर कोदो बिस्थापित गरेर चाउचाउ खाने प्रवृति बदलौं प्रदेश ६ का सांसद
सुर्खेत– प्रदेश नम्बर ६ मा पनि प्रदेश सभा बैठक बसिरहेको छ । सुर्खेतमा बसेको प्रदेश सभाको पहिलो बैठकको विशेष समयमा बोल्दै सांसदहरुले प्रदेशको विकासका पक्ष प्रतिपक्ष नभन्ने बताएका हुन् ।
विशेष समयमा एमालेका यमलाल कडेलले जीवनजल समेत नपाउने प्रदेशलाई सम्मुन्नत बनाउने अठोट रहेको बताए । ‘जलस्रोत, पर्यटनका हिसावले धनी हुँदा हुदैपनि आधारभूत विकास नहुदा जनता भोकभोकै मर्नु पर्ने अबस्था छ’ कडेलले भने, ‘हामी मिल्यौ भने भौगोलिक विकटतालाई अनुकुलतामा बदल्न सकिन्छ ।’
सांसद कडेलले फापर र कोदो विस्थापित र चाउचाउलाई स्थापित गर्ने प्रबृत्तिलाई अन्त्य गर्नुपर्छ ।
माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीले प्रदेश सभाका ४० जना सांसद एउटै भएर प्रदेशको सफल बनाउन लाग्ने बताए । ‘हामी र हाम्रै कमजोरीले पछि परेका हौ । विगतका कमी कमजोरीबाट शिक्षा लिएर अगाडी बढ्न जरुरी छ’ उनले भने ।
नेपाली कांग्रेसका जीवन बहादुर शाहीले सरकारले राम्रो काम गरेमा आफूहरु प्रतिपक्षमा रहेर पनि सहयोग गर्ने बताए । ‘प्रदेशको विकासका लागि हामी सबै एकजुट हुनुजरुरी छ, सरकारले गर्ने राम्रो कामलाई रचनात्मक समर्थन गछौं’ शाहीले भने ।
प्रदेश सभाको पहिलो बैठकले प्रदेश सभाको बैठक सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधी पारित गरेको छ ।