‘…म पनि लाहुरे नै हुन्थेँ होला !’
माघ १४, काठमाडौं । दुनियाँ लोकाचारी मै मग्न छ ।
आफूभन्दा एक पदमाथिका मानिसलाई यतिसम्म चाप्लुसी गरिन्छ कि मानौँ ऊ जादुको छडी हो, उसले छुनेबित्तिकै जीवन कायापलट हुन्छ ।
आफूलाई बिर्सन्छौँ । दुनियाँलाई चिन्ने कोशिसमा जिन्दगी बिति जान्छ ।
सम्पूर्ण सिंह कालरा (गुल्जार) ले लेखेकोे एउटा गजल–
तुझे बेहतर बनानेकी कोशिश में, तुझे ही वक्त नहीं दे पा रहे हम
माफ करना ए जिन्दगी, तुझे ही जी नहीं पा रहे हम ।
साँच्चै उनले पनि आफूलाई समय नदिएको भए ?
एउटा साबुन किन्नका लागि पनि अरुसँग हात जोड्नु पथ्र्यो होला !
जग्गा जमिन त छन्, भएर के गर्ने ? न जोत्न सक्नु न खन्न ।
एकादेशको कथा बन्थ्यो उनको जीवन । ‘यति उचाईको यस्तो मान्छे थियो, फलानो गाउँमा’ बस यतिमै सिमित हुन्थ्यो परिचय । गुमनाम !
उसै त घुरेर हेर्छ दुनियाँ । धक मानेर, आफ्नो क्षमता आफूभित्रै बन्धकी राखेर बसेको भए…!
क्षमतावान् । उज्याला । हसिँला । फुर्तिला छन् । जीवन जिउन आवश्यक आधारभुत ज्ञान छ, सबै ।
एउटा सामान्य व्यक्तिसँग हुनुपर्ने के छैन उनीसँग ? जागिर खाए । पैसा कमाए । घर बनाए । जग्गा जमिन छ । साथमा श्रीमती छिन् । छोराछोरी छन् ।
उचाई बाहेक सब थोक छ । सन्तुष्ट छन् ४९ वर्षीय विष्णुलाल गुरुङ ‘ज्याक’ ।
उचाईको घात त एकातिर छँदै छ…।
खुड्किलो उक्लिनै गाह्रो । उचाईभन्दा तेब्बरमाथि हुन्छ सार्वजनिक शौचालयको चुकुल । अलिकति अग्लो ठाउँ भेटिँदैन । बैंक काउन्टर, हस्पिटलको टिकट काउन्टर उस्तै अग्ला ।
सार्वजनिक बस त झन् चढि नसक्नु, एकातिर प्याक अर्कोतिर खुड्किलै अग्लो ।
न उचाईले भ्याउँछ, न त स्वयमसेवक नै हुन्छन् । अहिले त आफ्नै साधन छ उनको । सार्वजनिक यातायातको झन्झट टारेको छ त्यो स्कुटरले ।
पाइला–पाइलामा अपशब्दसँग सिँगौरी खेले । खुड्किला–खुड्किलामा संघर्ष गरे ।
अहिले त जीवन, जीवन जस्तै छ सुन्दर । तर बिर्सिएका छैनन् संघर्षका पल ।
याद छ अझै,
आफू कस्तो छु, उनी आफैँलाई थाहा थिएन । उमेरै सानो । सुरुसुरुमा त उनी आफैँ छक्क पर्थे, आफूजस्ता मान्छे देख्दा । लुक्थे या टाप कस्थे ।
१२/१३ वर्षको उमेरपछि अलि बुझ्ने भए । आफू हुर्केको गाउँठाउँमा त सामान्य भइसकेको थियो । कसैलाई नौलो लाग्ने कुरा थिएनन् उनी । अर्को गाउँबाट आएका मान्छेले जब क्वारक्वारती घुरेर हेर्थे तब अप्ठेरो महशुस हुन थाल्यो ।
र लाग्यो– ‘म त अरुभन्दा भिन्नै खालको मान्छे रहेछु !’
सानामा नबिझेका शब्दहरुले बिझ्न थाले । हेर्दासम्म त ठिकै छ, तर होच्याएर, जस्तो पनि बोलिदिने ।
कतिपटक मन दुख्यो । रोए । यसैले तय गर्यो काठमाडौं र कलाकारिताको बाटो ।
२०४३ सालमा एसएलसी (एसईई) दिए । रिजल्ट आयो ‘फेल’ । पढाइमा ध्यानै गएन । बुटवलतिर गए । आर्टमा रुची थियो । फ्लेक्स बनाउने अफिसमा काम गरे । एक जना दिदी, भिनाजु पनि बनाए ।
२०४४ सालमा उनै दिदी र भिनाजुसँग काठमाडौं आए । ६/७ महिना काम खोज्दैमा बित्यो । नोकरी नपाउन्जेल दिदीले नै पालिन् । करिब ७ महिनापछि जागिर मिल्यो, एनजीओमा । तलब ५ सय । दुई सय दिदीलाई दिन्थे, ३ सय आफैँ खर्च गर्थे । पुगेकै थियो ।
काम गर्दै जाँदा पढ्नुपर्छ भन्ने लाग्यो । बिहान पढाइ, दिउँसो काम । कुपण्डोलस्थित प्रगति शिक्षा सदनमा ९ कक्षामा भर्ना भए । पढाई सुध्रियो । फाइनल रिजल्ट ‘दोस्रो’ । एसएलसी टेस्टमा पहिलो । फाइनलमा पनि राम्रै अंक आयो । उत्तिर्ण भए ।
‘सानोमा अलिकति चकचके थिएँ । पढाइमा त लद्दु नै थिएँ । ध्यानै दिइएन । अल्छी गरियो । रोधीतिरै धाइयो । काठमाडौं आएपछि पढ्नुपर्छ भन्ने लाग्यो, अनि पढाइ जोइन गरेँ’, ज्याकले भने ।
पढाइकै सिलसिलामा कलाकारिता क्षेत्रसँग परिचित एक जना साथीसँग भेट भयो, जो गाउँमा एउटै स्कुलमा पढेका थिए । उनीसँगको सामिप्यता र सहयोगले ‘बाचा बन्धन’ फिल्म खेल्ने अवसर पाए । निर्देशक थिए मुकुन्द बास्ताकोटी ।
पहिलो फिल्म प्रदर्शनमा नआएपनि उनको प्रतिभा प्रदर्शनमा आयो । दर्शक थिए, उही बास्ताकोटी । उनले आफ्नो निर्देशनमा वि.सं. २०५० सालमा बन्न लागेको ‘ज्वाला’ चलचित्रमा अफर गरे । नाइँ भन्ने कुरै आएन ।
‘चलचित्रमा देखिन पाए’ भन्ने हुन्थ्यो । विना पारिश्रमिकमै कुरो पक्का गरे । राजेश हमाल मेकानिक थिए, उनको हेल्परको भूमिकामा थिए ज्याक ।
त्यहीँबाट सुरु भएको चलचित्र करिअर बिचमै छोडेर एसएलसी लगतै ५० सालतिर साउदी अरेबियातिर लागे । ३ वर्ष काम गरे र फर्किए । ५३ सालमा काठमाडौंकै एक म्यानपावरमा काम सुरु गरे ।
त्यहीँ भेटिइन् उनकी ‘सुश्री सम्पत्ति’ !
उनकी हुनेवाली ‘उनी’ को भिनाजुको कम्पनि थियो त्यो । त्यहीँ काम गर्थिन् उनी पनि । कति पटक नजर जुधे । लजाए । बुझ्दै गए एक अर्कालाई ।
एकदिन ज्याकले प्रेम प्रस्ताव राखे । जमाना चिठ्ठीको थियो, चिठ्ठी लेखे र एकजना भाइलाई दिन लगाए । अँह रिप्लाई आएन । शुक्रबार प्रस्ताव राखे । शनिबार बिदा । आईतबार मुख देखाउनै हम्मे पर्यो उनलाई । त्यसको दुई दिनपछि चिठ्ठीमै रिप्लाई आयो ‘एस’ । अझैसम्म खुब जतनले राखेका छन् त्यो चिठ्ठी ।
उनीको माइती पक्षकाले त मानेका थिएनन् । जब दुई मन नै एक भइसकेपछि कसको के लाग्छ र, ५६ सालमा भागेर विवाह गरे ‘ज्याक जोडी’ ले । अहिले २० वर्षीय एक छोरा र १५ वर्षकी एक छोरी छिन् । आफू ४० इन्चका भएका कारण छोरो जन्मिँदा उनले डाक्टरहरुसँग परामर्श गरे नियमित चेकअपमा ।
‘श्रीमती पौने ५ फिटकी छिन् । छोरो त्यस्तै साढे ५ फिट जतिको अग्लो छ । छोरी मलाई हेरेर हेर्नै पर्दैन । छोरी म विदेशमा हुँदा जन्मिएकी थिइन् । त्यसैले केही गर्नै पाइएन । डाक्टरले सानै हुन्छ भन्नुभएछ । म जत्रै छिन् छोरी’, ज्याक भन्छन् ।
आफ्नी श्रीमतीमाथि गर्व गर्छन् ज्याक । नगरुन पनि कसरी, उनी विदेश हुँदा श्रीमतीले नै सम्हालिन् घर, व्यवहार । अन्त नजरै लाइनन् । श्रीमती राई, उनी गुरुङ । अन्तरजातिय भएपनि श्रीमानलाई दिनुपर्ने मान, सम्मान, इज्जत सब् दिन्छिन् ।
विदेशबाट उनले पैसा पठाए, श्रीमतीले यता घर बनाउन सुरु गरिन् । भन्छन्– ‘मैँले त भाग्यले पाएको हुँ उनीलाई । म विदेशमा हुँदा उनैले घरको सबै काम पुरा गरिन् र मलाई भित्र्याइन् । ललितपुर महानगरपालिका–१३ नख्खुमा अहिले हाम्रो ४ तले घर छ । मैँले आफ्नै संघर्षले जोडेको हुँ घर, जग्गा ।’
विवाहपछि पनि ज्याकले चलचित्रमा काम गरे । ५६ साल अर्थात् विवाह भएकै वर्ष उनले ‘माइली’ फिल्म खेले । त्यसपछि ‘सारथी’ भन्ने भिडियो फिल्म खेले । ६१ सालमा फेरि दुबईतिर लागे ।
दुबईको कम्पनीले नै डिमान्डमा उनी विदेश गएका हुन् । उनी आफैँ म्यानपावरमा काम गरेको मान्छे, विदेशी कम्पनी प्राय सबैको ठेगाना थाहा थियो । फुल साइज फोटो सहितको बायोडाटा पठाए । आफ्नो शारीरिक र बौद्धिक योग्यता अनुसारको कुनै काम छ भने लिनका लागि ३३ वटा कम्पनीमा एकैपटक निवेदन पठाए । ५/६ ठाउँबाट रिप्लाई आयो । जुनको प्रक्रिया छिटो थियो त्यही कम्पनीमा गए । दुबईको फाइभ स्टार होटलले मगाएको थियो उनलाई । त्यहाँ प्रमोशन पनि भयो उनको । १२ वर्ष त्यहीँ बिताए ।
उनले आफ्नै कमाईबाट गाउँ अर्थात् नवलपरासीको गिरुबारीमा समेत घर बनाइदिएका छन् । बुवा, आमा स्वर्गीए भइसके । बुवा बितेको याद छ उनलाई तर आमा बितेको खासै याद छैन । स्मरणको रिलमा त छ, तर धमिलो ।
आमा स्वर्गीय हुँदा ज्याक ६ वर्षका थिए । घर व्यवहार खेती किसानीले धानेको थियो । जुम्ल्याहा बच्चा जन्माउने बेलामा आमा र बच्चा दुवैको मृत्यु भयो । प्रशव पीडाले निलेको हो उनकी आमालाई । आमाको माया कस्तो हुन्छ, थाहा नै पाएनन् ज्याकले ।
‘आमाको माया कस्तो हुन्छ मैँले महशुस गर्नै पाइनँ । त्यसैले पनि म अलिकति कठोर छु ।’
उचाई कम हुनुमा कसैलाई दोष दिँदैनन् उनी । मात्र ‘भगवानको लीला’ भन्छन् ।
‘दोष दिने त कसलाई दिने ? यो सब् ईश्वरको लीला हो । हामीले आफूलाई स्वीकार गर्नुपर्छ ।’
चिन्ता गरेर उचाई बढ्ने पनि त होइन नि !
उनलाई लाग्छ, ‘वंशाणुगत गुण हुनुपर्छ । पुस्ताबाट सरेको । बुवालाई त सोधेँ, उहाँको खलकमा कोही हनुहुन्न रहेछ । आमाको खलकमा थिए कि सायद, होचा कदका कोही । उहाँलाई सोध्न भने पाइनँ ।’
बुवाको प्रेम र समाजको त्यो झर्के नजर…
ज्याकले सामाजिक किताबमा रटेको समाज र भोगेको समाज बिल्कुल फरक छ !
समाजका टर्रा मानिसहरुदेखि झिँझक लाग्छ उनलाई ।
पाइला पाइलामा समाजको घुराई देख्दा कहिलेकाहीँ लाग्छ रे, ‘अर्कै ग्रहबाट पो आएको हुँ कि !’
‘हेर डल्ले आयो, पुड्के आयो…यस्ता यस्ता शब्दले प्रहार गर्छ समाज, हामीलाई बिझ्नेगरी । हामी पनि मान्छे हौँ । हाम्रो पनि मन छ । तपाईँहरुको रुखो व्यवहारले हामीलाई पनि दुख्छ । ठिक छ हेर्नुस्, हामीलाई फरक पर्दैन । तर बोल्दा विचार पुर्याउनुस् । हामीलाई नरुवाउनुस्’, समाजसँग उनको दुखेसो मात्रै यति हो ।
समाज जस्तो भएपनि उनका बुवाले भने सधैँ प्रेम गरे । सन्तानमा भेदभाव राखेनन् । ७ सन्तानमा साईँला थिए ज्याक । आफ्नो ‘साईँलो छोरोले काम गर्न सक्दैन, दुःख पाउँछ’ भनेर पीताले उमेर पुग्नेबित्तिकै ज्याकको नाममा ११ कट्ठा जमिन छुट्टयाइ दिएका थिए ।
कलाकारितामा भिजेपछिको जीवन
कलाकारितामा आउनु भन्दा अघि गुमनाम जत्तिकै थिए ज्याक । समाज उस्तै थियो, खिसिटिउरे । कलाकारितामा आएपछि भने उनको शान, पहिचान बेग्लै छ । जीवनशैली, रहनसहन बद्लिएको छ ।
उनीप्रतिको समाजको दृष्टिकोण बद्लिएको छ । पहिले देख्नेबित्तिकै घुरेर हिँड्ने समाज अहिले उनीतिर क्यामेरा तेर्साउँछन् ।
पहिले…भन्थे, अहिले बाटो हिँड्दा ‘ऊ कलाकार आयो, फोटो खिचौँ भन्छन् । सम्मान गर्छन् ।
‘कलाकारितामा नलाग्दा पनि मलाई मानिसले नोटिस गर्थे, फोटो खिचौँ भन्थे । कलाकारितामा लागेपछि नाम कमाएको छु । दाम त त्यस्तै त हो । मानिसहरुको मप्रतिको दृष्टिकोण फरक पाएको छु । कलाकार भनेर चिनिँदा छुट्टै आनन्द आउँछ, जुन म बयान नै गर्न सक्दिन’, ज्याकले भने ।
ज्याकले ९ वटा भन्दा बढी चलचित्रमा आफ्नो क्षमता देखाइसकेका छन् । उनी अभिनित अन्य भिडियो फिल्महरु पनि युट्युबमा प्रशारण भइरहेका छन् । अहिले फुल टाइमर कलाकार बनिसके ज्याक ।
समाज परिवर्तन तपाईँको हातमा हुन्थ्यो भने ?
–शान्त र भेदभावरहित । सभ्य बनाउँथेँ । एकअर्कामा सम्मान हुन्थ्यो ।
संघर्ष हो जीवन, पाइला–पाइलामा लडिरहनु पर्छ
ज्याकले भोगाइबाट सिकेको पाठ, ‘जीवन संघर्ष हो । म पनि संघर्ष गरेरै यहाँसम्म आइपुगेको हुँ ।’
उनलाई अचेलका आफूजस्तै भाइबहिनी जो संघर्षदेखि डराउँछन्, उनीहरु देख्दा अनौठो लाग्छ ।
‘भाइबहिनीहरु अलि खुलेर बोल्नुस् । उचाई सानो भयो, केही गर्न सक्दिन भनेर नबस्नुस् । पढ्नुस्, शिक्षित हुनुस् । संकुचित भावना नलिनुस् । सानो भनेर घुरेर हेर्ने, होच्याउने समाजसँग लड्न तपाईँ सक्षम र मजबुत हनु आवश्यक छ । संघर्षदेखि नभाग्नुस्’, उनको सुझाव छ ।
आफूलाई संघर्ष गर्न सिकाउने, काठमाडौं डोर्याउनेलाई भुलेका छैनन् । सम्झिरन्छन् ।
सरकारसँग गुनासोः अपांग होइन भने आर्मीमा भर्ती दिलाईयोस् !
सरकारले ३ फिटभन्दा कम उचाई भएकोलाई मात्रै फरक क्षमता (अपांगता) मा राखेको छ । अपांगलाई भत्ता पनि दिँदैन । ३ फिट ४ इन्चको उचाई छ ज्याकको । सरकारको यो निर्णय पटक्कै चित्त बुझेको छैन उनलाई ।
भन्छन्– ‘ठिक छ ३ फिटभन्दा माथिको मानिस अपांग होइन भने सरकारले आर्मी, पुलिसमा भर्ती गर्नुपर्यो । रोजगारीमा सहजता दिलाउनु पर्यो कि त होचा कदका व्यक्तिको क्याटेगोरीमा राख्नुपर्यो । विकल्प दिनुपर्यो गरिखानका लागि । सरकारलाई अनुरोध छ ।’
समाजसेवामा पनि उत्तिकै सक्रिया छन् ज्याक । आफूले सक्दो सहयोग गरेका छन् असाहयलाई ।
होचा पुड्का संघ जसले होचा कदका मानिसहरुलाई आत्मनिर्भर बनाउन सिकाउँछ
ज्याकलाई आफूजस्तै भाइबहिनीका लागि केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । संयोगवस ज्वाला चलिचत्रको छायांकनका क्रममा लोकनाथ ढकालसँग भेट भयो, जो उनकै क्याटेगोरीमा पर्छन् ।
भेटपछि दुवैले होचा कदका व्यक्ति जो अपांगता (फरक क्षमता) भित्र पर्छन्, उनीहरुको हकहितका लागि संघ स्थापना गर्ने योजना बनाए । जमघट गर्न थाले । २०६० साल वैशाख १० गते ‘होचा पुड्का संघ’ स्थापना गरे । स्थापनाको समयमा संस्थाको उपाध्यक्षमा थिए ज्याक, विदेशबाट फर्केर आएपछि अध्यक्षको जिम्मेवारी लिए ।
अहिले उक्त संघले होचा कदका व्यक्तिहरुको हकहितका लागि काम गर्दै आएको छ । त्यहाँबाट सिलाईबुनाई, कम्प्युटर कोर्स, स्क्रिप्ट राईटर, उद्घोषण लगायतका विभिन्न सिपमुलक तालिमहरु दिइन्छ । यो पटक ५ लाखको बजेट परेको छ संघमा ।
संघमा हाल करिब १२५ जना सदस्य छन् । संघले बोलाउँदा २५ जनाजति मात्रै उपस्थित हुन्छन् । सबै आ–आफ्नै घरमा, काठमाडौंमा रोजगारी पाउनै गाह्रो !
‘हामी काठमाडौंमा हुनेजति हप्तामा एकपटक भेट गरिरहन्छौँ । उहाँहरुसँग भेट हुँदा त लाग्छ, हाम्रो बेग्लै दुनियाँ छ’, ज्याकले भने ।
अन्तिममा एउटा प्रश्न साेध्न मन लाग्याे…!
उचाईले साथ दिएको भए तपाईँ के बन्नुहुन्थ्यो ?
उचाई भएको भए यतिबेला ब्रिटिश या इण्डियन आर्मी हुन्थेँ होला ।’
‘बाजे लाहुरे । काका ब्रिटिश आर्मीको लाहुरे । पुर्खा नै लाहुरे । म पनि लाहुरे नै बन्थेँ’, उनले सुनाए ।