बिराटनगरमा संविधान दिवस भब्य रुपमा मनाए
असोज ३, विराटनगर । प्रदेश १ को राजधानि विराटनगरमा संविधान दिवस भब्य रुपमा मनाएको छ । प्रदेश सरकारले आयोजना गरेको कार्यक्रम विहान ७ बजे बिराटनगरको आदर्श माध्यामिक विद्यालयको प्राङ्गणदेखि प्रभातफेरीबाट शुरु भएको कार्यक्रम सहिद रंगशालामा औपचारिक कार्यक्रम गरि दिवस मनाईएको थियो ।
संविधान दिवसका अवसरमा आयोजना गरेको औपचारिक कार्यक्रममा नेपाली शेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, प्रदेश सरकारले गठन गरेको सगरमाथा टिन्स क्लव लगायत विद्यालयहरुले मार्चपास गरेका थिए । मार्च पास पछि नेपाली शेनाले कवाज प्रस्तुत गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले संविधान प्रदत्त जनताका हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नु यति खेरको आवश्यकता र चुनौती रहेको बताएका छन् ।
उनले संविधान स्वतः आफैं कार्यान्वयन हुने नभई नीति, नियम, कानून, योजना, पद्धति र संस्कारको माध्यमबाट यसको व्यवहारिक कार्यान्वयन हुने बताए । संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले प्रदेश सरकार संविधानलाई व्यवहारमा लागु गर्ने कसरतमा छ, यो अभ्यास जारी रहेको उल्लेख गरे । स्वच्छ, सुखी र समुन्नत प्रदेशको मुल दृष्टिकोण सहित प्रदेश सरकारले पहिलो आवधिक योजनाको थालनी गरेको स्पष्ट पारे ।
कृषि, पर्यटन, उद्योग, पूर्वाधार विकास, सामाजिक तथा मानवीय विकास प्रदेश सरकारको प्राथमिकता रहेको मुख्यमन्त्री राईले जानकारी दिए । प्रदेशसभामा प्रतिनिधीत्व गर्ने सवै राजनैतिक दलहरुको सहमतीमा प्रदेशको नामांकन पनि छिट्टै टुंगिने विश्वास लिए । नेपालको संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न विकास, समृद्धि, राष्ट्रिय एकता तथा जनहितका विषयमा दलिय संवाद गर्ने र सहमति निर्माणको आवश्यकता अझ टड्कारो रहेको पनि जानकारी गराए ।
संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा लागु गर्ने दायित्व र प्रतिवद्धतालाई प्रदेश सरकारले उच्च महत्व दिएको राईको भनाई छ । गरिवी निवारण, रोजगारी सिर्जना, आयस्तरमा वृद्धि हामीले तय गरेका मूलभूत लक्ष्य रहेको, गुणस्तरीय शिक्षा, प्राविधिक ज्ञान सिप र तालिमको माध्यमबाट युवाहरुको सशक्तिकरण गर्ने उद्देश्य रहेको राईले बताए ।
‘आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने ध्येय सरकारको रहेको छ। यसका लागि हामीले स्पष्ट कार्यक्रम र योजना तयार गरेका छौ, मुख्यमन्त्री राईले भने, सार्वजनिक सेवालाई व्यवस्थित, कम खर्चिलो र पहुँच योग्य बनाउन सरकारी निकायहरुको कार्यप्रणालीमा सुधार थालिएको छ ।’ आम जनताले अनुभूति गर्न सक्ने गरी सार्वजनिक सेवाको सुदृढिकरण गर्ने सरकारको प्रतिवद्धता फेरी दोहोर्याएका छन् ।
भ्रष्टाचार नियन्त्रण र सुशासनको माध्यमबाट नै संविधानले स्थापित गरेको लोकतान्त्रिक शासन पद्धतिको मर्मलाई बल पुग्ने उनको विस्वास छ । भ्रष्टाचारमा शुन्यसहनशीलताको नीति अवलम्वन गर्दै हामी सधै भ्रष्टाचारको विपक्षमा र सुशासनको पक्षमा रहेको बताए । राष्ट्रिय झण्डाको व्यापक प्रयोग यस पटकको संविधान दिवस देशभर नै आम जनसमुदायको सहभागितामा थप हर्सोल्लासको साथ मनाईएको छ ।
मातृभुमीको शिर उचोराख्नको लागि राष्ट्रिय एकताको प्रतिकका रुपमा रहेको नेपालको गौरवशाली राष्ट्रिय झण्डाको यसपटक व्यापक प्रयोग भएको छ । ठुला आकारका राष्ट्रिय झण्डा प्रदेश भित्रका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने गरी स्थायी प्रबन्ध प्रदेश सरकारले गरेको छ । यसबाट नेपालको राष्ट्रिय एकता दरिलो छ, सशक्त छ, अविचलित छ भन्ने सन्देश दिन खोजिएको मुख्यमन्त्री राईको भनाई छ ।
यी ब्यक्ति सम्मानित प्रदेश सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय गानका रचयिता व्याकुल माइला प्रदिप कुमार राई ओखलढुंगा, २४ पटक सगरमाथा आरोहण गर्ने विश्वकिर्तीमानी कामीरिता शेर्पा सोलुखुम्वु र अल्ट्रा म्याराथुनको माध्यमवाट संसारभर नेपालको झण्डा फहराउँदै नेपाललाई चिनाउन सफल मिरा राई भोजपुरलाई सम्मान गरेको छ । प्रदेश सरकारको लक्ष्यसंग जोडिदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय ध्येयमा यी ब्यक्तिहरुको उल्लेखनीय योगदान रहने प्रदेश सरकारले जनाएको छ ।