गोंगबु आवास क्षेत्रमा नमूना पानी पुनर्भरण प्रणाली सुरु, वार्षिक ७ लाख लिटर पानी पुनर्भरण हुने

फागुन ७, काठमाडौं । काठमाडौं महानगरको वडा २६ स्थित आवास क्षेत्रको गोंगबु डबलीमा पानी पुनर्भरण प्रणाली सुरु भएको छ ।  

गोंगबु आवास क्षेत्र सुधार समितिको स्थानीय सहयोग र एकीकृत सहरी विकास केन्द्रको प्राविधिक सहयोगमा स्थापना गरिएको प्रणालीको हिजो मंगलबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरेका हुन् । यस प्रणालीमा डबली भएको १ रोपनी जग्गा (क्याचमेन्ट) मा जम्मा भएको पानी जमिनमुनि पठाउने व्यवस्था मिलाइएको छ । जग्गामा टहरा र खाली ठाउँ छ । टहरामा आकाशे पानी संकलन विधि जडान गरिएको छ ।  

प्रणालीको शुभारम्भ गर्दै मेयर शाक्यले आजबाट ‘रिचार्ज काठमाडौं’ को नमूना योजना शुरु भएको बताए । यसबाट प्राप्त भएको परिणाम मुल्याङ्कन गरेर महानगरका सबै वडा, सार्वजनिक तथा खुल्ला जग्गामा पानी पुनर्भरण प्रणाली जडान गरिने उनको भनाइ छ । यस क्षेत्र (क्याचमेन्ट) मा जम्मा भएको पानी क्याचफिटमा जम्मा हुन्छ । यसरी पानी जम्मा गर्न ३ वटा क्याचफिट बनाइएका छन् । त्यहाँबाट पानी पुनभरण इनार (रिचार्ज वेल) मा जान्छ । डवलीको खाली ठाउँमा २ वटा पुनभरण इनार बनाइएका छन् ।  

दुईमध्येको एउटा २४ फिट गहिरो र ४२ इन्च गोलाइको छ भने अर्को १४ फिट गहिरो र ४२ इन्च गोलाइको छ । २४ फिट गहिरो इनारको तल्लो ५ फिटमा खोलाबाट ल्याइएको १०० एमएमसम्मका गिटी राखिएको छ । त्यसभन्दा माथि ३ फिटमा त्योभन्दा मसिना गिटी, त्यसको माथिल्लो ३ फिटमा खस्रो बालुवा र त्यसभन्दा माथि जिओ टेक्स्टाइल राखिएको छ । जमिनमा जम्मा भएको पानी यही इनारबाट छानिँदै जमिनमुनि जान्छ । डबलीसँगै रहेको नर्सरीमा पनि यस्तै प्रणाली जडान गरिएको छ । 

यहाँ भने एउटा क्याचफिट र एउटा पुनभरण इनार निर्माण गरिएको छ । यी दुवै ठाउँमा प्रणाली जडान गर्न करीब ५ लाख रुपैयाँ लागत लागेको वातावरण व्यवस्थापन बिभागकी इञ्जिनियर निशा कोइरालाले जानकारी दिए । इञ्जिनियर कोइरालाकाअनुसार यस प्रणालीबाट १ बर्षमा करीब ७ लाख ६७ हजार लिटर पानी पुर्नभरण हुने अपेक्षा गरिएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *