पूर्वउपप्रधानमन्त्री भरतमाेहन अधिकारीकाे निधन (अस्पतालकाे विज्ञप्ति सहित)

 

फागुन १८, काठमाडाैं । पूर्वउपप्रधानमन्त्री तथा कुशल अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८३ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार निधन भएको हो । अधिकारीकाे ९ः३५ मा निधन भएकाे अस्पतालले पुष्टि गरेकाे छ । 

अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ २४ गतेदेखि ह्याम्स अस्पतालमा सारिएको थियो । अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । उनले तीन दिनदेखि परिवारका सदस्यले बोलाउँदा प्रतिक्रिया जनाउन सकेका थिएनन् । 

null

अधिकारीको शुक्रबार साँझदेखि पिसाब रोकिएको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जनाएको थियो । अस्पतालको धारणापछि अधिकारीको अवस्था सार्वजनिक गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेता सहभागी थिए । 

 

छलफलअघि मन्त्रीद्वय लालबाबु पण्डित तथा गोकर्ण बिष्ट र पूर्वउपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य बामदेव गौतम ह्याम्स अस्पताल पुगेका थिए । 

नेपाल कम्युनिष्ट पार्टीका नेता अधिकारी सन १९३६ मा महोत्तरीको भावरपूर्ण गाउँमा जन्मिएका हुन् । अधिकारी १६ वर्षदेखि नै राजनीतिमा संलग्न भई क्रियाशील हुँदै आएका थिए । उनी लामोसमय पार्टीमा पोलिट ब्यूरो सदस्य रहे । भरतमोहन, दाजु मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला २०५१ साल पुसमा पहिलोपटक अर्थमन्त्री बने । अधिकारीले चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन लगायतका विभागमा प्रमुखको जिम्मेवारी बहन गरिसकेका छन् । 

अधिकारी अर्थमन्त्री हुँदा अघि सारिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्धभत्ता र सुत्केरी खर्च अत्यन्तै लोकप्रिय बनेको छ । नेकपा एमालेको ९ महिने शासनकालमा ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रमकै कारण नेकपा एमालेको लोकप्रियता चुलिएको थियो । 

उनले महिला र पुरुषको नाममा या महिलाको नाममा मात्रै जग्गा दर्ता गर्दा लाग्ने शुल्कमा छुटको व्यवस्था गरेका थिए । ‘गाउँगाउँमा सहकारी घरघरमा रोजगारी’ भन्ने अभियान उनकै पालामा संचालन भएको हो । अधिकारीले अघि सारेको महत्वपूर्ण कार्यक्रम ‘नौ स’ ले देशमा लोककल्याणकारीदेखि पूर्वाधार निर्माणका कार्य अघि बढाएको थियो अधिकारीलाई जनवादी नेताका रुपमा लिइन्छ । 

  

  

६ दशक राजनीतिमा सक्रिय नेता अधिकारी अर्थमन्त्री हुँदा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन थाले । अधिकारीले सुरू गरेको सामाजिक सुरक्षाभत्ता कार्यक्रमले ७५ वर्ष पुगेका वृद्धरवृद्धालाई एक सय रुपैयाँ भत्ता दिने व्यवस्था गरेको थियो । 

वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन अधिकारीकै योजना थियो । संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्व सरकारमा अधिकारी उपप्रधानमन्त्री तथा अर्थमन्त्री बने । त्यसबेला पनि उनले अस्पतालमा सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गरे । अस्पतालमा सुत्केरी हुनेले हिमाली क्षेत्रमा १ हजार ५ सय, पहाडी क्षेत्रमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन् । 

पटकपटक सरकारमा रहेर उल्लेखनीय काम गरेका अधिकारीले पहिलो पटक अर्थमन्त्री हुँदा अघि सारिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, वृद्धभत्ता र सुत्केरी खर्च अत्यन्तै लोकप्रिय बनेको छ । 

पहिलो पटक अर्थमन्त्री हुँदा २०५२/५३ सालको बजेट ल्याएका अधिकारीले स्वच्छ खानेपानी, शिक्षा र साक्षरता तथा स्वास्थ्य क्षेत्रका कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा न्युनतम २० लाख बराबरका आयोजनाहरू कार्यान्वयन गर्ने लक्ष्य राखेका थिए । 

सडक तथा साना सिंचाइ स्थानीय विकासका मुख्य आधारहरू भएकाले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्येक कार्यक्रमका लागि कम्तीमा १५ लाख बराबरका कार्यक्रम पनि उनकै पालामा आएको थियो । 

कालीगण्डकी जलविद्युत परियोजना पनि भरतमोहन अधिकारीकै पालामा सुरु भएको हो । शिक्षा र स्वास्थ्यमा राज्यको लगानी सोचका साथ सहिद गंगालाल अस्पताल स्थापना र काठमाडौं विश्वविद्यालयलाई जग्गा दिने काम समेत उनको पालामा भएको थियो । उनकै पालामा मुक्त कमैया र सुकुम्बासीलाई जग्गा वितरणको कार्य भएको थियो । त्यसबेला ६० हजार सुकुम्बासीलाई जग्गाधनी पुर्जा दिइएको थियो । 

२०४७ मा संविधान मस्यौदा समिति सदस्य अधिकारी मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा दुईपटक निर्वाचित भए । अधिकारी मनमोहन मेमोरियल फाउन्डेसनका संस्थापक अध्यक्ष समेत हुन् । ७० वर्ष पुगेपछि पार्टीको सक्रिय जिम्मेवारीबाट अवकाश लिने नीतिबमोजिम अधिकारीले नेकपा एमालेको नवौँ महाधिवेशनबाट अवकाश लिए । देशकै मूर्धन्य अर्थशास्त्रीमा गणना हुने अधिकारी पटकपटक मन्त्री रहँदा चरित्र निष्कलंक र बेदाग रह्यो । पूर्वउपप्रधानमन्त्री अधिकारीको पत्नी र तीन छोरी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *