नेपालकाे एमसीसी मााथि सहज जित, पवन र ललितले लिए ४-४ विकेट
कात्तिक १९, काठमाडाैं । नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई पराजित गरेको छ। सोमबार कीर्तिपुर त्रिवि मैदानमा भएको एकदिवसीय खेलमा नेपालले एमसिसीलाई ५ विकेटले पराजित गरेको हो।
एमसिसीले दिएको २०२ रनको लक्ष्य नेपालले ३७.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेकाे थियाे । खेलमा विनोद भण्डारीले ३ चाैका र २ छक्काकाे सहयाेगमा नटआउट ५२ रन जोडे। यता पवन सर्राफले पनि नटआउट ३८ रनको योगदान गरे। पाँचौ विकेटका लागि भण्डारीसँग ६९ रनको साझेदारी गरेका पवनले ४ चौका र २ छक्का हिर्काए।
नेपालका ओपनर इशान पाण्डे ४ रन र कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए । शरद भेषवाकर २४ रन र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाउँदा । आरिफ शेखले पनि २३ रन नै जोडे।
बलिङमा एमसिसीका यासिर आराफतले ३ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसिसी ३९.५ ओभरमा २०१ रन अलआउट भएकाे थियाे । एमसीसीका लागि विल रोड्सले ५४ रन र ओपनर विली गोड्लम्यानले ५२ रन बनाउँदा अन्य ब्याट्सम्यान सस्तैमा फर्किए । विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाए ।
बलिङमा नेपालका स्पिनरद्वय ललितनारायण राजवंशी र पवन सर्राफले समान ४–४ विकेट लिए। अविनाश बोहरा र करण केसीले समान १–१ विकेट लिए। अब एमसिसी र नेपालबीच मंगलबारबाट तीनदिवसीय खेल हुनेछ। त्यसपछि नेपाल र एमसीसीबीच टी–२० खेल हुनेछ ।
पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्र मल्लले खेलमा पहिलो पटक कप्तानी गरेका हुन्।