प्रदेश स्तरीय डोरी तानको उपाधी मोरङलाई (फोटोफिचर सहित )

 

जेठ २५, विराटनगर । पहिलो पटक सरकारी लगानीमा प्रदेश नं. १ को राजधानी विराटनगरसँग सिमा जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा सम्पन्न प्रथम प्रदेश स्तरीय डोरी तान खेल प्रतियोगिताको उपाधी मोरङले जितेको छ । 

प्रदेश सरकार सामाजिक मन्त्रालयले नेपालमै पहिलो पटक सरकारी लगानीबाट बुढीगंगा गाउँपालिका स्थित नगरग्राम माध्यामिक विद्यालयमा आयोजना गरेको प्रतियोगिताको उपाधी शनिबार मोरङले जितेको हो । 

null

मोरङले फाइनल राउण्डमा भोजपुरलाई पराजित गर्दै उपाधी जितेको हो । उपाधी सँगै विजेता टोली मोरङले नगद ५० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त हात पारेको छ । 

उपविजेतामा चित्त बुझाएको भोजपुरले नगद २५ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त प्राप्त गरेको छ । सेमि फाइनलमा पराजित भएका झापा र सुनसरी बिच तेस्रो स्थानका लागि भएको खेलमा झापा विजयी बनेको छ । तेस्रो भएको झापाले नगद १५ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

 

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्रथामिकतामा राखेको बताउँदै प्रदेशका सवै स्थानीय तहमा खेल मैदान निर्माण कार्य जारी रहेको बताए । उनले प्रदेश नं. १ लाई खेलकुदमा पनि अब्बल प्रदेशका रुपमा विकास गर्न लागि परेको बताउँदै खेलकुद क्षेत्रको विकासका लागि सरकार पछि नहट्ने प्रतिवद्धता जनाए । 

मन्त्री घिमिरेले यो वर्ष विभिन्न कारणले प्रदेशका ८ जिल्लाको मात्र सहभागिता भएकोमा आगामी वर्ष १४ वटै जिल्लाबाट सहभागिता गराएर डोरी तान खेल आयोजना गरिने बताए । ‘यो प्रदेशलाई खेलकुदको प्रदेशका रुपमा विकास गर्न सरकारले कुनै कसर बाँकी राख्ने छैन । खेलकुदकै विकासका लागि प्रदेश सरकारले प्रदेशका १ सय ३७ वटै स्थानीय तहमा खेल मैदान निर्माण गरिहेको छ ।’ उनले भने । 

सो अबसरमा डेरी तान संघका केन्द्रीय उपाध्यक्ष डा. सुभाषश्री पोखरेलले पुरानो खेल मध्येको डण्डीबियो र डोरीतान नै नेपाली मौलिकतासँग जोडिएको खेल भएपनि राष्ट्रिय खेलकुद परिषदका कारण ओझेललमा परेको बताए । ‘अहिले पनि राज्यको ध्यान डोरी तान खेलमा जान सकेको छैन । यसमा हामीलाई दुख लागेको छ ।’ उनले भने । 

 

उपाध्यक्ष डा. पोखरेलले ७७ वटै जिल्लामा संघ गठन गरेर यो खेललाई राष्ट्रिय हुँदै अन्तराष्ट्रिय स्तर सम्म पु¥याउन लागि परेको बताउँदै हाल २२ जिल्लामा संघ गठन भइसकेको जानकारी दिए । उनले प्रदेश १ का १० गाउँ तथा नगरपालिकाहरुमा संघ विस्तार भइसकेको बताए । 

उनले हरेक राष्ट्रिय तथा प्रदेश स्तरीय खेल प्रतियोगिताहरुमा डोरीतान खेललाई अनिवार्य समेटन सरकार सँग माग गरे । नेपालमा १७ बर्ष अगाडी डोरी तान केन्द्रीय समिति बनाएर डोरी तान खेललाई ब्यवसायीकता दिन खोजिएको भएपनि राखेपले २ बर्ष अगाडी मात्र समिति बनाएको पोखरेलले बताए । 

सो अबसरमा पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले प्रदेश सरकारले डोरी तान खेललाई प्रथामिकतामा राखेर खेलको विकासमा महत्वपूर्ण योगदान दिएको दावी गरे । उनले प्रदेश नं. १ खेलकुद क्षेत्रमा उदाहरणीय बनेको बताउँदै अझ यसको विकास र विस्तारमा पूर्वाञ्चल खेलकुद विकास समितिले सक्दो सहयोग गर्ने आश्वासन दिए । 

 

संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरीले लोप हुन लागेको डोरीतान प्रतियोगितालाई प्रोत्साहन गर्ने काम प्रदेश १ सरकारबाट शुरु भएकोले प्रदेश स्तरको प्रतियोगिताले सो खेललाई स्थापित गराएकोेमा आफु विस्वस्त रहेको बताए । उनले प्रतियोगितालाई देशभरी नै चिनाउने गरी डोरीतान संघले काम शुरु गर्ने बताए । 

प्रतियोगितामा प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी, पाँचथर, सोलुखुम्बु, संखुवासभा, धनकुटा र भोजपुर जिल्ला सहभागी थिए । 

अन्तराष्ट्रिय मापदण्ड अनुसार ६४० केजीकोे तौलमा सम्पन्न खेलको हरेक टिममा ८ जना खेलाडीका दरले खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगितामा लागेको कुल खर्च मध्ये सामाजिक विकास मन्त्रालयले ८ लाख र मोरङ जिल्ला डोरीतान संघले ४७ हजार रुपैयाँ ब्यहोरेको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको प्रतियोगिताको समन्वय क्षेत्रीय खेलकुद विकास समितिले गरेको थियो । 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *