भगवती चौधरीः महिलाकी मसिहा
“
सामाजिक राजनीतिक र आर्थिक रूपमा जवसम्म महिलालाई पुरुष बराबार स्थान दिइन्दैन तब सम्म समाज र राष्ट्रको विकास पनि सम्भव छैन । यही मूल मन्त्र बनाएर राजनीति, सामाजिक र आर्थिक क्षेत्रमा क्रियाशील व्यक्तित्वको नाम हो । ‘भगवती चौधरी’
राजनीति भनेको पद र पैसाका लागि गरिने चिज हो । साम दाम दण्ड भेद जे सुकै हतकण्ठा अपनाएर होस् राजनीतिमा सबैले जित्नै पर्दछ । यो सास्वत् सत्य हो । अनेक कालखण्डमा कहिले काहीँ यस्ता पात्रहरुको जन्म हुन्छ जो जनताका लागि जित्न पनि जान्दछ र हार्नपनि जान्दछ । सुनसरी दुहवीकी भगवती चौधरीको राजनीतिक यात्रा पनि यस्तै उतारचढावले गुज्रिएको छ । उहाँले राजनीतिमा जितेर पनि हार्नु भएको छ, हारेर पनि जित्नु भएको छ । नेकपा एमालेबाट वन राज्य मन्त्री समेत बन्नु भएकी चौधरीले पार्टी र देशका लागि धेरै तिलाञ्जली दिनुभएको छ । भने, त्यो भन्दा धेरै महिला मुक्तिको लागि योगदान गर्नुभएको छ । चौधरीलाई तराई मधेसका महिला ‘मसिहा’ नै भन्दछन् । उहाँलाई नेपाली महिला मुक्ति आन्दोलन र महिला शशक्तिकरणको एउटा योद्धाका रूपमा लिने गरिन्छ । यस पटक हामीले उनै चौधरीका राजनीतिक, आर्थिक र सामाजिक कामका बारेमा चर्चा गर्दैछौं ।
विद्यालय गएर पहिलो विद्रोह
मधेसी समुदायमा चौधरीको परिवार सामाजिक, आर्थिक रूपमा मजबुत थियो । सुनसरी औराबनी गाविस ३ मा भगवती चौधरीका हजुरबुबा स्व. कुमहर लाल चौधरीलाई सबैलाई इज्जत गर्दथे । खेतीपातीले राम्ररी लाउन खान पुग्दथ्यो । गाउँमा छोरीलाई विद्यालय पठाउनुहुन्न भन्ने सोच व्याप्त थियो । उनका हजुरबुबा र बुवा बिरण लालचौधरी र स्व. माता लिटिया देवी थरुनी चौधरी आफ्ना सन्तानलाई उचित शिक्षा दिक्षा दिनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँहरूको यो सपनालाई सामाजिक विभेदले रोक्न सकेन । भगवती चौधरीलाई विद्यालय पठाएर परिवारले एक किसिमले सामाजिक विद्रोह नै गरे । अहिले चौधरीले व्यवस्थापनमा स्नातक तथा समाजशास्त्रमा स्नात्तकोतर गर्नु भएको छ ।
श्रीमानको सहयोग
भगवती चौधरीको विवाह दाङ्ग जिल्लाको सोनपुर गा.वि.स. नरती गाँउका युवा दिनेश चौधरीसँग स्टेज म्यारिज भयो । उनका श्रीमान् पनि भगवती चौधरी जस्तै सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । भगवती चौधरीलाई समाजसेवा र महिला मुक्तिका लागि काम गर्न उहाँले ठुलो भूमिका खेल्नु भयो । ‘विवाह गरेर गएपछि महिलाहरू श्रीमानको घरभित्रै लुक्नुपर्ने सामाजिक परिवेशमा उहाँले मलाई आफूजस्तै समाजसेवा र महिलाहरुका हक अधिकारका लागि लड्न प्रेरित गर्नुभयो । यदि उहाँले पनि मलाई घरबाहिर निस्कन अभिप्रेरित गर्नु नभएको भए म आज यहाँ हुने थिइन ।’
श्रीमान् दिनेश चौधरीको सवारी दुर्घटनामा मृत्यु भएपश्चात भगवती चौधरी एकल महिलाको रूपमा समेत विभिन्न चुनौतीका सामना गर्दै आईरहनु भएको छ । हाल उहाँको एक छोरा द्रब्य राज चौधरी छन् । श्रीमानकै प्रेरणा र पथप्रदर्शनले सामाजिक क्षेत्रमा होमिएकी चौधरी हाल सामाजिक तथा लघुवित्त क्षेत्रको अभियान्ताको रूपमा अग्रणी रूपमा उभिनुभएको छ ।
घुम्टोभित्र लुकेको समाज
महिलाहरूलाई घरको चुल्हो चौकादेखि बाहिर निस्कन नदिने पुरातन सोच विचारले ग्रस्त समाजमा भगवती चौधरीको राजनीतिक यात्रा कम चुनौती थिएन । चौधरीले बाम राजनीति थाल्दा २०४५ सालमा पञ्चायत हटाऊ आन्दोलन चरमोत्कर्षमा थियो । तराई मधेसका महिलाहरू घरदेखि बाहिर निस्कन सक्दैनथे । सांस्कृतिक रुढिबादी परम्पराले ग्रस्त समाजमा चौधरीको राजनीतिक यात्रा ‘ठुलो विद्रोह’ नै थियो । ‘जतिबेला मैले राजनीति र साामजिक क्षेत्रमा पाइला चालें । तराईमा अधिकांश जिल्लामा महिलाहरू घरको चुल्हाचोका र घुम्टोभित्र हुनहुुन्थ्यो । महिलालाई घरबाट बाहिर निस्कन दिइदैनथ्यो । यस्तो अवस्थामा मेरो राजनीति र समाजसेवा गर्ने निर्णय एक हिसाबले सामाजिक विद्रोह नै थियो ।’ सामाजिक रुढिवादी परिवेशमा उहाँको वर्हिगमन चाहिँ कसरी सम्भव भयो ? ‘म भाग्यमानी महिला परें की मेरो घरपरिवारले महिलाहरूलाई घरभित्रै लुक्नुपर्छ भन्नु भएन । श्रीमान् पनि सामाजिक क्षेत्रमा कहलिएको व्यक्ति हुनुहुन्थ्यो । उहाँले नै मलाई ‘तिमी घरभित्र मात्र नबस, यो समाजमा तिम्रो आवश्यक्ता छ’ भन्नुहुन्थ्यो । घरपरिवारले नै मलाई राजनीति र महिला उत्थानका लागि काम गर्न प्रेरित गर्यो ।’
फरवार्ड नेपालको जन्म
तराई मधेसका अधिकांश महिलाहरू पछि पर्नुको कारण सामाजिक र आर्थिक अवस्था कमजोर हुनुपनि हो । खास गरी तराईमा व्याप्त जातपात र महिला हिंसाका कारण धेरै महिलाहरू क्षमता भएर पनि बाहिर निस्कन सकेका छैनन् । यही परिवेशलाई नियाल्नु भएकी चौधरीले मधेसका महिलालाई सामाजिक, राजनीतिक र आर्थिक रूपमा बलियो बनाए उनीहरू अघि बढ्न सक्छन् भन्ने अठोट गर्नुभयो । त्यसपछि उहाँकै सक्रियतामा २०५१ सालमा ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) तदर्थ समिति गठन भयो । त्यसको एक वर्षमै संस्थालाई विधिवत दर्ता गरेर सञ्चालनमा ल्याइयो । यो संस्थाले समाजमा छरिएर रहेका सानासाना पुजीलाई एकत्रित गरी समुदायमै लगानी गर्ने योजना ल्यायो । तराई मधेसका कमजोर आर्थिक अवस्था भएका, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा पछाडि परेका महिलालाई सङ्गठित गर्ने काम गर्यो ।
फरवार्ड नेपालले तराई मधेसका महिलाहरूलाई विभिन्न सिपमुलक तालिमहरु प्रदान गर्दै उनीहरूलाई उद्यमशिल बनाउँछ भने, फरवार्ड माइक्रोफाइनान्स लिई. ले यस्ता महिलाहरूलाई आर्थिक आय आर्जनका लागि सामूहिक जमानीमा लगानी गर्दछ । ‘फरवार्ड नेपालले हातमा सीप भएरपनि गरिबीको रेखामुनि रहेका, आर्थिक अवस्था कमजोर भएर केही गर्न नसकेका महिलाहरूको जिवनस्तर उकास्न सामूहिक जमानीमा ऋण प्रवाह गर्दछ । भने, उनीहरूको सिप र क्षमतालाई ब्यवसायीकरण गर्ने गर्दछ ।’ अहिले संस्थामा सङ्गठित रूपमा दुई लाख १५ हजार महिलाहरूको सहभागिता रहेको छ । भने, संस्था नेपाल राष्ट्र बैक अन्तर्गत ‘घ’ वर्गको लघुवित्त विकास बैङ्कको रूपमा उदाउन सफल भएको छ ।
बचत गर्ने र छरिएको पुजिँ समेट्ने प्रयास
फरवार्ड नेपाल माईक्रो फाइनान्सले ग्रामीण महिलाहरुमा आर्थिक संवृद्धिका लागि बचत गर्नुपर्छ भन्ने चेतना प्रवाह नै गर्यो । दैनिक रूपमा बचत गर्ने र समूहमा काम गर्ने भावना विकास गरेसँगै फरवार्डले उनीहरूकै पुजी सामूहिक जमानमिा उनीहरूको सिप क्षमता र चाहना अनुसार लगानी गरिदियो ।
यसरी समाजमा छरिएर रहेको साना पुँजीलाई एकत्रित गरेर लगानी गर्दा महिलाहरूको आर्थिक अवस्थामा सुधार आउँदै गयो भने, परिवारमा पनि महिलाहरू प्रति पुरुषले हेर्ने दृष्टिकोण नै परिवर्तन ल्यायो । ‘पुरुषले महिलालाई घरभित्रै लुकाउने, हाट बजार जाँन नदिने, घरको कुनै पनि निर्णय गन अधिकार नदिने, जाँड रक्सी खाएर कुटपिट गर्ने, यहाँसम्मकी आर्थिक र सांस्कृतिक परम्पराका नाममा घरेलु हिंसा हुन्थ्यो । बिस्तारै महिलाले बचत गर्न थालेपछि, आय आर्जनका काममा हात हाल्न थालेपछि घरेलु हिंसा समेत कम भयो ।’
फरवार्डले महिलाहरूको सिप र क्षमता अधिबृद्धि गरी लगानी गर्दछ । ‘जवसम्म तराई मधेसका महिलाहरू आर्थिक रूपमा सबल हुदैनन् उनीहरू पछि परिनै रहन्छन् ।’ अध्यक्ष चौधरी भन्नुहुन्छ ।
२१ हजारबाट २ लाख १५ हजार महिला सङ्गठित
समाजमा छरिएर रहेका साना पुँजीहरुलाई एकत्रित गरी तराईका महिलाहरूको सिप र कलालाई प्रयोग गर्दै उनीहरूको आर्थिक विकाससँगै सामाजिक चेतना समेत अभिबृद्धि गर्ने अभियान अन्र्तगत स्थापना भएको फरवार्ड नेपालमा शुरूमा २१ हजार संगिठत सदस्य रहेकाेमा हाल अाएर दुर्इ लाख १५ हजार बढि महिला सङ्गठित भएका छन् । यो संस्थाले महिलाहरूलाई आर्थिक उपार्जनका लागि ऋण प्रवाह मात्र गर्दैन, सामाजिक दायित्व अन्तर्गत महिलाहरूलाई स्वास्थ्य, शिक्षा र वातावरणीय सचेतना समेत दिन्छ ।
तराई मधेसका महिलाका समस्या
नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ चौधरीको विचारमा तराई मधेसका महिलाहरू कमजोर हुनुमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था दोषी छ । ‘यहाँका तल्लो समुदायका महिलाहरुमा आर्थिक अधिकार छैन । घरको हरेक निर्णय गर्ने अधिकार पुरुषमा निहित छ । आम्दानीको स्रोत नहुँदा पुरुषसँग आश्रित हुनुपर्ने बाध्यता छ । सामाजिक रूपमा पनि छोरी अर्काको घरजाने जात, पढाउनु हुन्न भन्ने मानसिकता छ । राजनीतिक रूपमा त झन् महिलाले घरको चुल्हो चौका छोड्नुहुन्न भन्ने सोच हाबी भएकाले पनि उनीहरू पछि परेका हुन् ।’ उहाँको तर्क छ । तथापि, अहिले तराई मधेसमा धेरै परिवर्तन आएका छन् । फरवार्डले महिलालाई सङ्गठित गरेसँगै उनीहरूमा सामाजिक, आर्थिक र राजनीतिक चेतना अभिबृद्धि भएको छ ।
नेतृत्व गर्ने महिला छैनन्
राजनीतिक रूपमा निर्णायक तहमा अधिकांश पार्टीले महिलालाई निर्णायक तहमा पुर्याउन नसक्नु अर्को चुनौती हो । नयाँ संविधानले महिला सहभागिताका विषयमा उल्लेखनीय स्थान दिएपनि विगतमा महिलालाई वर्षौसम्म घरभित्र थन्क्याउँदा अहिले नेतृत्व तहमा जाने ३३ प्रतिशत महिला खोज्न पनि सहभागिता पनि पु¥याउन समस्या भयो ।
नेतृत्व तहमा जानका लागि पनि क्षमतावान महिला पुगिरहेको छैन । हामीले अहिले देखि नै महिलालाई तयार गर्ने हो भनेपनि धेरै समय लाग्छ । शिक्षासँगै राजनीतिक क्षेत्रमा महिलालाई अघि बढ्न सहयोग गर्नुपर्छ भन्ने सचेतना फैलाउन जरुरी छ । राजनीतिक दलहरू महिलाका विषयमा त्यत्ति उदार भएनन् ।
महिलाहरूलाई राजनीतिक क्षेत्रमा नभई सामाजिक क्षेत्र तथा स्थानीय तहमा पुहँच पु¥याउनका लागि गाउँगाउँमा चेतना प्रवाह गर्नुपर्छ । स्थानीय तहका निकायमा महिला लक्षित कार्यक्रम ल्याउन पर्छ ।
दोस्रो संविधान सभा निर्वाचनको यात्रा
नेकपा एमालेको केन्द्रीय सदस्य रहनु भएकी चौधरीले दोस्रो संविधान सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचन लड्नु भयो । आफ्ना निकतम प्रतिद्वन्द्वी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका विजय गच्छदारलाई पराजित गरेको अवस्थामा षड्यन्त्र गरेर चौधरीलाई हराएको इतिहास छ । सुनसरी क्षेत्र नं. ३ मा चौधरीको जनाधार यति राम्रो र सङ्गठित छ की उनको साढे चारसय भोटलाई बदर गरेर गच्छदारलाई जिताईयो । यसमा चौधरीको पराजयमा पार्टीले समेत राम्रो भूमिका खेलेन । चौधरीले पनि देश र जनताका लागि यो विषयमा बहस र विवाद निम्त्याउनु भएन । अहिले मङ्सिरमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा चौधरीलाई सुनसरी क्षेत्र नं. ३ बाट सर्वसम्मत एकल उम्मेदवार हुन सफल हुनुभएको छ ।
चौधरीसँग गरिएको कुराकानीमा आधारित
“