नागरिक उड्डयनमा नेपालले ठूलो प्रगति हासिल गर्योः मन्त्री भटटराई

भाद्र २, काठमाडौं । नेपालले नागरिक उड्डयन सुरक्षाबारे ठूलो प्रगति हाँसिल गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले बताएका छन् ।   

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को एशिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन महानिर्देशकहरुको सम्मेलनको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालले नागरिक उड्डन सुरक्षाबारे ठूलो प्रगति हाँसिल गरेको र विमानस्थल एवं जहाज सुरक्षा विषयमा पछिल्लो समय अन्तर्राष्ट्रिय सरोकारवालाहरुसँग चरणबद्ध रुपमा छलफल भएको समेत बताए ।   

उनले भने–‘नेपालले नागरिक उड्डन सुरक्षाबारे ठूलो प्रगति हासिल गरेसँगै विमानस्थल एवं जहाज सुरक्षा विषयमा अन्तर्राष्ट्रिय सरोकारवालाहरुसँग चरणबद्ध रुपमा छलफल भएको छ ।’ 

सोमबारबाट काठमाडौंमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा बोल्दै मन्त्री भट्टराईले हवाई उड्डयनको क्षेत्रमा नेपालले नीतिगत सुधार गरिरहेको बताउँदै एशिया क्षेत्रमा नेपालको प्रगति उत्कृष्ट रहेको बताए । 

शुक्रबार सम्म चल्ने सम्मेलनमा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालको वायु सेवा सुरक्षाको अवस्था सुधार भएको दाबी गर्दै भने–‘नेपालको नागरिक उड्डयन सुरक्षा आइकाओले निर्धारण गरेभन्दा प्रगति भएको छ । दुई वर्षयता नेपालका विमानस्थलहरुमा ठूलो सुधार भएको छ ।’ महानिर्देशक पोखरेलले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रात्रीकालीन उडानका लागि समेत तयार भइसकेको जानकारी दिए । 

सम्मेलनमा बोल्दै आइकाओका एशिया प्यासिफिक निर्देशक अरुण मिश्रले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन काम गरिरहेको दाबी गरे । नागरिक उड्डयनको दृष्टिले नेपाल उत्कृष्ट लयमा रहेको भन्दै उनले यो क्षेत्रमा नयाँ प्रविधिअनुसार गर्नुपर्ने कामहरु थपिएको बताए ।   

होटल सोल्टीमा सुरु भएको सम्मेलनमा विश्वका ठूला जहाज निर्माता कम्पनीहरु बोइङ र एयरबसका प्रतिनिधि समेत सहभागी छन् । अमेरिकी जहाज निर्माता बोइङ तथा युरोपेली जहाज निर्माता एयरबसका प्रतिनिधिहरु उड्डयन सुरक्षा तथा प्रविधि विषयमा प्रस्तुति दिन सम्मेलनमा सहभागी भएको बताइएको छ । 

एशिया प्रशान्त क्षेत्र भनिए पनि सम्मेलनमा युरोपेली संघका नियमाक निकाय प्रमुख, अमेरिका, वेलायत र फ्रान्सका नियामक निकायका प्रमुखहरु समेत सहभागी रहेको आयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।   

सम्मेलनमा आईकाओ काउन्सिलका अध्यक्ष डा. अलुमुयिवा बनार्ड अलियु, आईकाओका विभिन्न विभागका निर्देशकहरु, ४३ मुलुकका २ सय ९१ प्रतिनिधि, २६ वटा प्रवर्धदक संस्था तथा अन्य सहभागी गरी करिब ४ सय जना विदेशीको सहभागिता रहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *