कांग्रेस सुनसरीद्वारा उम्मेदवार सिफारिस

इटहरी, असोज २४ । नेपाली कांग्रेस सुनसरीले प्रतिनिधिसभा र प्रदेशसभाका लागि सुनसरी जिल्लाबाट संघ र प्रदेशका लागि उम्मेदवार बन्न आकांक्षी नेताहरुको सम्भावित नाम सिफारिस गर्ने कार्य पूरा भएको जानकारी दिएको छ ।

राज्यले आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा वा संघ र प्रदेशसभाका लागि चुनाव गराउनका लागि मिति तोकिसकेको अवस्थामा निर्वाचन आयोगको निर्वाचनसम्बन्धी कार्यतालिकाअनुसार प्रत्यक्ष र समानुपातिकतर्फ १२ पदका लागि उम्मेदवार बन्नेहरुको नाम सिफारिस गरेको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

पार्टीभित्र उम्मेदवार बन्ने आकांक्षी नेताहरु ज्यादा देखिएपछि नेपाली कांग्रेस सुनसरीले २४१ जनाको नाम केन्द्रमा पठाएको पार्टी सभापति राजीव कोइरालाले जानकारी दिएका छन् ।

उम्मेदवार बन्ने आकाांक्षी धेरैजना रहेको तथा अन्य तालमेल गर्न सकिने राजनीतिक दलसँगसमेत सहकार्य हुनसक्ने सम्भावना रहेकाले धेरैजनाको नाम सिफारिस गर्नुपरेको जनाइएको छ ।

कांग्रेस सुनसरीले क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचनका लागि वाणिज्यमन्त्री मीनकुमार विश्वकर्मा, लक्ष्मी खतिवडा र विनोद राईको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर–२ बाट पार्टी जिल्ला सभापति राजीव कोइराला, सांसद सीताराम मेहता, राजीव ढुंगाना, हरि सापकोटा, बद्रीनारायण चौधरी, रामबहादुर बस्नेत र प्रतिनारायण चौधरीको नाम सिफारिस गरिएको बताएको छ ।

यसैगरी, क्षेत्र नम्बर–३ बाट पार्टी जिल्ला सभापति राजीव कोइरालासहित हरिप्रसाद सापकोटा, सत्यनारायण गच्छदार, कपिलकुमार भण्डारी सिफारिस सूचीमा परेका छन् ।

त्यस्तै, प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर–४ का लागि सिफारिस भएकामा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रामबहादुर बस्नेत, जमिल अख्तर, डिल्ली कार्की र कुञ्जिलाल यादवको नाम सिफारिसमा परेको सभापति राजीव कोइरालाले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा केन्द्रको निर्णय सबैलाई मान्य हुने गरी सबै आकांक्षीको मनसाय बुझेर नामावली केन्द्रमा पठाइएको पार्टी सभापति राजीव कोइरालाको भनाइ रहेको छ ।

पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार हुनेदेखि समानुपातिक उम्मेदवार नेताहरुकोसमेत नाम सिफारिस गरेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *