भ्रष्टाचार विरोधी पार्टी खोल्दै रमेश खरेल, भोलि घोषणा

फागुन १४, काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले भ्रष्टाचारविरुद्धको अभियानका लागि नयाँ दल खोल्ने भएका छन् ।  

पार्टी स्थापनाको उद्देश्यले आफ्नै संयोजकत्वमा उनले ‘हाम्रो नेपाली हामी नेपाली’ अभियान सञ्चालन गर्न लागेका हुन् । ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने उनको योजना छ ।  

खरेलका अनुसार भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने छ । अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने पूर्व डिआईजी खरेलले जानकारी दिए ।  

अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, भ्रष्टाचारविरोधी अभियान्‍ता ज्ञानेन्द्र शाही लगायत सामाजिक अभियान्ता, नागरिकसमाजका अगुवा र केही पूर्वप्रशासक समेत रहने छन् ।  

सरकारले सर्वेन्द्र खनाललाई २०७४ माघ २८ मा प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि खरेलले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका थिए । खरेल आफ्नो इमानदारी पूर्ण प्रहरी कार्यका कारण नेपाली जनताहरू माझ निकै लोकप्रिय रहेका छन् । उनी नेपालको राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान समेत हुन् । 

रमेश खरेल आफ्नो काममा जति अनुशासित थिए, संगठनको आलोचनामा त्यत्ति नै अनुशासनहीन थिए, उनी संगठनको आलोचना रोक्न सक्दैनथे । खरेल नगरकोटमा इन्स्पेक्टरको रुपमा स्थानीय प्रहरी कमाण्ड सम्हालेदेखि आफ्नो इमानदारी र बहादुरी कार्यकै कारण चर्चामा आएका थिए । 

काठमाडौंका एसपी हुँदा नेपालीहरुलाई अवैध रुपमा प्रवेश गराउने क्यासिनो विरुद्ध उनले धावा नै बोलेका थिए । त्यतिबेला उनको काम कारबाही देखि क्यासिनो मालिकहरु आतंकित थिए । उनी काठमाडौंको एसएसपी हुँदा हनुमान ढोकामा रहेको एसएसपीको कोठा सर्वसाधारणका लागि सधैँ खुल्ला रहने गर्दथ्यो ।  

भ्याएसम्म सबै सर्वसाधारणको कुरा खरेल आफैँ सुन्ने गर्दथे, समस्या समाधानका लागि तुरुन्त पहल समेत गर्दथे । त्यसैले हनुमान ढोका जानेहरुले राज्य आफ्नो समस्याप्रति संवेदनशील भएको महसुस गर्ने गरेका थिए । 

रमेश खरेलको कार्यबाट प्रभावित भएर एसपी खरेल नामक भोजपुरी चलचित्र निर्माण भएको थियो । यस चलचित्रमा रमेश खरेलको कामहरूको चर्चा गरिएको छ । यस्तै खरेलले राष्ट्रियता झल्काउने अनेकौं नेपाली स्वदेशगानहरूमा अभिनय समेत गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *