‘चेतोनाथ स्मृति कोष’ स्थापना

चैत्र १०, लमजुङ । शिक्षा तथा समाजसेवी स्वर्गीय चेतोनाथ अधिकारीको स्मृतिमा उनका परिवारले एक लाखको अक्षय कोष स्थापना गरेका छन् । 

लमजुङको श्री बागिश्वरी माध्यामिक विद्यालयमा ३३ वर्ष नेपाली विषय अध्यापन गरी सेवानिवृत्त भएका स्व. अधिकारीको नाममा स्थापना गरिएको कोषको व्याजबाट आउने रकमबाट सो विद्यालयबाट एसइई परीक्षामा नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिनेछ । 

विद्यालयमा आयोजना गरिएको एक समारोहबीच स्व. अधिकारीकी धर्मपत्नी चन्दादेवी र छोराद्वय कृष्ण र शिवप्रसाद तथा बुहारी पवित्रादेवीले सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं दूधपोखरी गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द दवाडी र प्रधानाध्यापक रामेश्वर न्यौपानेलाई हस्तान्तरण गरे । 

कार्यक्रममा अध्यक्ष दवाडीले यस क्षेत्रका शिक्षाका ज्योति गुमाउनु पर्दाको पीडालाई परिवारले अक्षय कोष स्थापना गरेर विद्यालयलाई ऊर्जा थपेको बताए । 

प्रअ न्यौपानेले सो विद्यालयमा लामो समय अध्यापन र केही समय प्रधानाध्यापकको जिम्मेवारी पनि सम्हालेका शिक्षाप्रेमीको स्मृतिमा स्थापना गरिएको अक्षय कोषले विद्यालयको शैक्षिक उन्नयनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

स्व. अधिकारीका जेष्ठ छोरा कृष्णले बुबाको स्मरणमा अक्षय कोषको स्थापनासँगै विद्यालय हाताभित्र सरस्वतीको मन्दिर पनि निर्माण गरिदिने जानकारी दिए । 

स्व. अधिकारीको गत वर्ष चैत ११ गते ६८ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो । उनको पुष्पाञ्जलि (कविता सङ्ग्रह), केही कवि केही कविता (सामूहिक लेखन) प्रकाशित हुनुको साथै विभिन्न पत्रपत्रिकाहरुमा थुप्रै कविता तथा लेखहरु प्रकाशित भएका छन् । 

राष्ट्रिय स्तरका विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका उनका केही कृतिहरु प्रकाशोन्मुख छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *